हिरो विद्युतीय स्कुटरमा समस्याः ग्राहकको लगातार उजुरीपछि डिलरलाई प्रहरीले पत्र काट्यो

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी लक्ष्मी ई मोबिलिटी प्राइभेट लिमिटेडले नेपालमा बिक्री गरेका हिरो इलेक्ट्रिक स्कुटरमा समस्या आएपछि प्रहरीले डिलरलाई पत्र लेखेर बोलाउन थालेको छ । लक्ष्मी ई मोबिलिटीबाट डिलर लिएर विद्युतीय स्कुटर र स्कुटरमा प्रयोग हुने सामान बिक्री गरेका डिलरहरु अहिले समस्यामा परेका छन् ।

कम्पनीले स्कुटर बिक्री गर्दा स्कुटर र स्कुटरमा प्रयोग भएको ब्याट्री र मोटरको वारेन्टी ५ वर्ष दिएको थियो । एक पटक फुल चार्ज गर्दा स्कुटर १०० किलोमिटर गुड्ने भनिएको थियो ।

डिलरले पनि आयातकर्ता कम्पनीले भने अनुसार नै स्कुटर, ब्याट्री र मोटरको ५ वर्षको वारेन्टी दिएर बिक्री गरेको थियो । तर, कम्पनीले दिएको वारेन्टीले काम नगरेपछि डिलर विरुद्ध स्कुटर खरिद गरेका ग्राहकले उजुरी दिएकाले प्रहरीले डिलरका सञ्चालनकलाई उपस्थित हुन भन्दै पत्र पठाएको हो ।

आयातकर्ता कम्पनीको कुरालाई विश्वास गर्दा स्कुटर बिक्रेता डिलरहरुले आफूहरु अहिले ठूलो समस्यामा परेको गुनासो गरेका छन् ।

वीरगन्जमा डिलर लिएका राजाबाबु साहले आयातकर्ता कम्पनीले दिन्छु भनेको सेवा सुविधा दिने शर्तमा स्कुटर विक्री गरेको बताए । तर, कम्पनीले नै ब्याट्री र मोटरमा दिने भनेको सेवा नदिएपछि ग्राहकले उजुरी हालेको उनको भनाइ छ ।

साहले भने, ‘लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई मोबिलिटी प्राइभेट लिमिटेडले स्कुटरमा ५ वर्षको वारेन्टी भनेको थियो । मैले पनि त्यसैअनुरूप ग्राहकलाई जानकारी दिएर स्कुटर बिक्री गरेको हो । तर स्कुटर बिक्री गरेको २ महिनामै समस्या आयो । एक पटक फुल चार्ज गरेपछि १०० किलोमिटर गुड्छ भनेको स्कुटर २० किलोमिटर पनि गुड्न छाड्यो । अनि अहिले प्रहरीले उपस्थित हुनेको भनेर पत्र नै पठाएको छ ।’

कम्पनीलाई आफ्नो नाममा प्रहरीले पत्र काटेको बताएपछि कम्पनीले समस्याको समाधान गर्छु भने पनि अहिले फोन नउठाएको साहले नेपाल प्रेससँग बताए ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको छ ।

‘उपरोक्त सम्बन्धमा तालुक जिल्ला प्रहरी कार्यालय पर्साको क्रम संख्या २२०४५ मिति २०८२।०१।२४ गतेको प्राप्त पत्रानुसार निम्न स्थान बस्ने निम्न मानिसलाई यसै पत्रसाथ तालुक कार्यालयमा उपस्थित हुन पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ । जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.११ श्रीपुरस्थित तत्काल संचालनमा रहेको निदान ट्रेड प्रालीका संचालक राजाबाबु गुप्तालाई उपस्थित हुनु,’ वडा प्रहरी कार्यलयले जिल्ला प्रहरी कार्यलायलाई लेखेको पत्रमा भनिएको छ ।

साह लक्ष्मी ई मोबिलिटीबाट वीगञ्जको लागि सन् २०२२ डिसेम्बर ८ मा डिलर लिएका थिए । उनका अनुसार ३६ लाख तिरेर सामान र डिलर लिएका हुन् । सोरुममा थप १० लाख खर्च गरेको उनले बताए ।
साहले २ लाख ५० हजारदेखि ३ लाखसम्म पर्ने १० वटा स्कुटर बिक्री गरेका थिए । अहिले ती सबै स्कुटर समस्या आएर नगुड्ने अवस्थामा रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *