जितगढी युद्ध संग्रहालय: करोडौंको भवन ३ वर्षदेखि प्रयाेगहीन

रूपन्देही । बुटवल उपमहानगरपालिका- १ मा साढे ७ करोड रूपैयाँको लागतमा बनेको जितगढी युद्ध संग्रहालय तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन । जितगढीको ऐतिहासिक युद्धस्थलमा संग्रहालय स्थापना गरेर नेपाली वीरताको गाथा जोगाउने प्रयासस्वरूप भवन बनाइएको थियो ।

शिवशक्ति कन्स्ट्रक्सन प्रालिले २०७७ साल माघ २६ गते ठेक्का लिएर चैतमा उक्त भवन निर्माण सुरु गरेको थियो । उसले २०८० असार १० गते बुटवल उपमहानगरलाई भवन हस्तान्तरण गरेको थियो । करिब ६ करोड ८२ लाख रूपैयाँको लागतमा बनेको चारतले भवन अहिले प्रयोगविहीन छ ।

तयार भएको भवनलाई संग्रहालय बनाएरु प्रयोगमा ल्यउान करिब १३ करोड रूपैयाँ थप बजेट आवश्यक पर्ने बताइएको छ । संग्रहालयमा राख्नुपर्ने युद्धकालीन सामग्री, परिधान, हतियार, सूचना पाटी, इन्टरएक्टिभ डिस्प्ले, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा कुनै तयारी गरिएको छैन ।

वडा नं. १ का अध्यक्ष नरेन्द्र बस्नेत भन्छन्ले भवन बने पनि खाली भएर बाँदरले रजगज गरिरहेको बताए । ‘लामो समय भयो बाँदरको रजाइँ भएको छ । बाहिरबाट हेर्दा संरचना बन्यो, तर आन्तरिक संरचनामा ध्यान गएन’, उनले भने, ‘आउने आर्थिक वर्षमा १ करोड ३० लाख परेको छ । स्थानीय सरकारबाट यसले केही काम हुनसक्ने अपेक्षा छ ।’

वडाध्यक्ष बस्नेतका अनुसार संग्रहालय सञ्चालनमा नेपाली सेनाको चासो बढेको छ । सेनाका जर्नेलहरूले हेरेर गएका छन् । सैन्य सामग्री राख्नुपर्ने भएकाले आफूले नै सेनालाई जिम्मेवादी दिँदा राम्रो हुने प्रस्ताव गरेको उनले बताए ।

स्थानीय सहिम अग्रवाल पनि ठूलो भवन बने पनि काममा नआएको बताउँछन् । ‘यो चल्यो भने पर्यटक आउँथे, यहाँको व्यापार चलायमान हुन्थ्यो’, उनले भने ।

यस परियोजनामार्फत बुटवलको ऐतिहासिक बटौली क्षेत्र र तिनाउ नदी आसपासको क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने योजना थियो, तर प्रयोगविहीन संरचना देखेर स्थानीयले निराश छन् । संग्रहालय नेपाली सेनालाई जिम्मा दिएर सञ्चालन गर्ने वा इच्छुक संघसंस्थालाई टेन्डर प्रक्रियाबाट सुम्पन सकिने स्थानीय सुझाउँछन् ।

बुटवलका जनप्रतिनिधिबीचको गुटबन्दी र राजनीतिक पूर्वाग्रहले संग्रहालय सञ्चालन अनिश्चित बनेको पूर्ववडाध्यक्ष टंक पराजुली बताउँछन् । संग्रहालयको शिलान्यास अघिल्लो मेयर शिवराज सुवेदीको कार्यकालमा भएकाले हालको नेतृत्वले प्राथमिकतामा नराखेको उनको आरोप छ ।

राजनीतिक अगुवा नेत्र पन्थीले बुटवलमा जनप्रतिनिधिले पनि साँघुरो चिन्तन बोकेर पार्टी, गुट र व्यक्तिगत स्वार्थले योजना ध्वस्त पारिएको बताए ।

एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेल भन्छन्, ‘हामीले हरेक बैठकमा यो विषय उठाएका छौं, तर मेयरको व्यवहार अधिनायकवादी र आफू केन्द्रित देखिन्छ ।’

स्थानीयका अनुसार यो संग्रहालय सञ्चालनमा ल्याइयो भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनेछ, जसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेछ । वडा सदस्य अशोक राई आफूहरू सबै संग्रहालय चल्नैपर्ने पक्षमा रहेको बताउँछन् ।

उनले संग्रहालय सञ्चालनजमा आउन ढिलो भए जितगढीको गौरवशाली इतिहास पनि कमजोर हुने चिन्ता व्यक्त गरे ।

वि.सं. १८७२ वैशाख ७ गते तिनाउ नदीको किनारमा अवस्थित जितगढी किल्लामा भएको युद्धमा वीर गोर्खालीहरूले तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई परास्त गरेका थिए । नेपालका लागि यो मात्र सैन्य जित होइन, राष्ट्रिय आत्मसम्मान र स्वतन्त्रताको प्रमाण पनि हो ।

जितगढीमा भएको ऐतिहासिक युद्धमा प्रयोग भएका हतियार, रणनीति, परिधान र त्यस समयको परिवेशलाई समेटेर नयाँ पुस्तालाई जानकारी दिने हेतुले संग्रहालयको अवधारणा ल्याइएको थियो । जसअनुसार निर्माण भएको भवनको पहिलो, दोस्रो र तेस्रो तलामा संग्रहालय र चौथो तलामा परम्परागत खानाका परिकार पाइने क्याफे चलाउने योजना थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *