काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीहरुका लागि हन्ड्रेड ग्रुप नामक संस्थाले पूर्ण छात्रावृत्तिका लागि आह्वान गरेको छ । ३० महिला र ३० पुरुषका लागि प्रोजेक्ट शिक्षा नामक कार्यक्रम अन्तर्गत छात्रावृत्तिका लागि आह्वान गरिएको हो ।
३० असारसम्ममा आवेदन फारम भरिसक्नुपर्ने छ । छात्रावृत्ति अन्तर्गत छनोट भएका विद्यार्थीहरुले दुई वर्षसम्म निशूल्क कलेज पढ्न पाउने हन्ड्रेड ग्रुपका बब्लु गुप्ताले बताए । उनका अनुसार कलेज मात्रै नभएर दुई वर्षसम्म खाने बस्नेको समेत सुविधा हुनेछ ।
उनले भने, ‘हाम्रो छात्रावृत्ति कार्यक्रम अन्तर्गत पुरुष विद्यार्थीहरुलाई गुह्येश्वरी र नयाँ बानेश्वरमा राख्छौं । महिला विद्यार्थीका लागि बौद्धमा होस्टेल छ । उहाँहरुलाई दुई वर्षसम्म खानेबस्ने सुविधा सहित हामी निशूल्क पढाउँछौं ।’
गुप्ताहरुसँग एनसीएल नेपाल र रुटिन अफ नेपाल बन्दले सहकार्य गरेको छ। विद्यार्थीहरुलाई दुई वर्षसम्म कलेज फी तिरिदिने सर्त छ । कलेज चाहिँ नोबेल एकेडेमी, हिमालयन ह्वाइट हाउस। जेभियर इन्टरनेशनल लगायत हुने गुप्ताले बताए । बाँकी खाने बस्ने सुविधाको लागि आफूहरुले चाँजोपाँजो मिलाउने बताए ।
यस छात्रावृत्ति अन्तर्गत निम्न आय भएका, एकल आमाले हुर्काएका, दूरदराजका विद्यार्थीहरु प्राथमिकतामा पर्ने गुप्ताको भनाइ छ । उनले भने, ‘हामीले भूगोलको हिसाबमा पनि कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेका छौं।’
साउन १ गते जाँच हुने र ३ गतेसम्म अन्तर्वार्ता लगायत सबै सकाएर विद्यार्थीहरु छनोट गरिसक्ने गुप्ताले बताए । ८ वर्षदेखि आफूहरुले हरेक वर्ष विद्यार्थीहरुलाई छात्रावृत्ति दिँदै आएको र त्यसैको निरन्तरता भएको गुप्ताको भनाइ छ । इच्छुक विद्यार्थीले प्रोजेक्ट शिक्षा डट हन्ड्रेड ग्रुप नेपाल डट ओआरजीमा गएर आवेदन फारम भर्न सक्छन् ।

Leave a Reply