पोखरा । आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो, पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ। माछापुच्छ्रेको छाया देखिने फेवातालमा डुङ्गा सयर गर्न कसलाई रमाइलो नलाग्ला र !
फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिक लगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ । विशेष गरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।
फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन् । उनीहरू फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन् ।
करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठूलो मात्रामा फोहोर संकलन गरेका छन् । उनीहरूले नियमित रूपमै सरसफाइ गर्ने गरेका छन् तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ ।
यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ । उनीहरूले समय-समयमा फोहोर उठाउने गरेका छन् । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरूको गुनासो छ ।
मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसै गरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Leave a Reply