बाढी विश्वभरि नै एक गम्भीर प्राकृतिक विपत्ति हो, तर नेपालको जस्तो भौगोलिक रूपले जटिल र स्रोतसाधन सीमित देशमा यसको प्रभाव झनै खतरनाक हुन्छ । हिमाली भेगमा अवस्थित नेपालमा हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्म मनसुनको समयमा भारी वर्षा हुन्छ, जसले देशभरि बाढी र पहिरो आउने गर्छ । कोशी, नारायणी र कर्णाली जस्ता नदीहरू हिमालबाट बग्दै तराईसम्म पुग्छन् । ती नदीका तटीय क्षेत्र बाढीको उच्च जोखिममा हुन्छन् । हरेक वर्ष सडक, पुल, जलविद्युत् आयोजनालगायतका पूर्वाधारहरूमा ठूलो क्षति हुन्छ ।
उदाहरणको लागि सन् २०२१ को मनसुनमा निरन्तर वर्षाले पृथ्वी राजमार्गको मलेखु र मुग्लिन खण्डमा पहिरो र बाढी आएको थियो, जसले काठमाडौं-पोखरा मुख्य सडक धेरै दिनसम्म अवरुद्ध बनायो र हजारौं यात्रु समस्यामा परे ।
शहरी क्षेत्रहरू जस्तैः काठमाडौं, भरतपुर, नेपालगञ्ज, विराटनगर धेरैजसो समयमा अपूरो ढल प्रणालीका कारण जलमग्न हुने गर्छन् । ग्रामीण भेगमा भने घर बगाउने, किसान विस्थापित हुने, खेतीबाली नष्ट हुने र खाद्य सुरक्षामा समस्या आउने गर्छ । पशुहरू मर्छन्, विद्यालय बन्द हुन्छन् । विपद्को मारमा परेका परिवारहरूमा आर्थिक बोझ अत्यधिक हुन्छ । यस्ता नियमित र विनाशकारी घटनाहरू भइरहँदा पनि नेपालको बाढी व्यवस्थापन प्रणाली अहिले पनि प्रायः राहतमा मात्र केन्द्रित छ, दीर्घकालीन समाधानको अभाव छ ।
जापान पनि नेपाल जस्तै बाढीको उच्च जोखिममा पर्ने मुलुक हो, तर उसले जोखिम न्यूनीकरणमा विश्वकै उत्कृष्ट उपाय अपनाएको छ । जापानले संरचनात्मक जस्तैः ड्याम, तटबन्ध, भूमिगत बाढी निकास प्रणाली र गैरसंरचनात्मक जस्तैः समयमै सूचना दिने प्रणाली, समुदाय शिक्षादेखि जोखिम नक्सा बनाउने दुवै उपाय सन्तुलनमा ल्याएर लागू गरेको छ । टोकियोको ‘G-Cans’ परियोजना संसारकै सबैभन्दा ठूलो भूमिगत बाढी नियन्त्रण प्रणालीमध्ये एक हो, जहाँ विशाल सुरुङ र ट्यांकीहरू प्रयोग गरेर नदी र शहरी क्षेत्रका बाढी पानीहरू सङ्कलन र निकास गरिन्छ ।
जापानले ‘Room for the River’ (नदीलाई ठाउँ दिने) भन्ने अवधारणालाई पनि अपनाएको छ, जसले बाढीको समयमा नदीहरूलाई फैलिन दिन्छ र तटबन्धहरू पुनः डिजाइन गरी बाढीलाई प्राकृतिक रूपमै फैलिन दिने ठाउँ सुनिश्चित गर्छ । यसले नदी किनारको दबाब कम गर्छ र जैविक विविधता पनि जोगाउँछ । साना नदीहरूमा जापानले ग्याबियन (ढुङ्गाले भरिएको पञ्जा), स्पर, बोटबिरुवाबाट संरक्षण, कङ्क्रिट तटबन्ध आदि प्रयोग गर्छ । थप रूपमा त्यहाँका बासिन्दा नियमित रूपमा विपद् अभ्यास, खाली गराउने अभ्यास र जोखिमको नक्सा बनाउने कार्यमा सहभागी हुन्छन् । जापानको सफलता केवल प्रविधिमा होइन, तर चेतनशील समाज र नियमित अभ्यासमा आधारित छ ।
नियमित र विनाशकारी घटनाहरू भइरहँदा पनि नेपालको बाढी व्यवस्थापन प्रणाली अहिले पनि प्रायः राहतमा मात्र केन्द्रित छ, दीर्घकालीन समाधानको अभाव छ ।
नेपालमा बाढी नियन्त्रणका उपायहरू अपूर्ण, असंगठित र गुणस्तरहीन छन् । ग्याबियन जस्ता संरचना धेरैजसो समय डिजाइनविना, विनाजग, विनाफिल्टर र विनामर्मत बनाइन्छन्, जसले गर्दा ती बाढीमा सजिलै भत्किन्छन् । स्पर र तटबन्धहरू गलत ठाउँमा वा असन्तुलित दूरीमा बनाइन्छन्, जसले नदीको धार परिवर्तन गरी अरू भागमा क्षति पुर्याउँछ । समस्या डिजाइन, योजना र विशेषज्ञ सल्लाहको अभावमा सुरु हुन्छ । धेरै योजना विनाअध्ययन, विनाभौगर्भिक विश्लेषण र विनाइञ्जिनियर सल्लाहमा बनाइन्छ । विशेषज्ञको राय अटेर गरिन्छ, गुणस्तर निरीक्षण हुँदैन र निर्माणको बेला भ्रष्टाचार हुन्छ । कमजोर सामग्री, अप्रशिक्षित कामदार र मर्मतको अभावका कारण संरचना लामो समय टिक्दैन ।
बाढी खतरा नक्सा, चेतावनी प्रणालीहरू प्रायः साधारणसम्म पुग्दैनन् । समुदायलाई तालिम दिने अभ्यास नगरेकाले बाढीको समयमा भाग्ने वा जोगिने उपाय थाहा नहुने समस्या छ । सरकारले बनाउने धेरै संरचना राजनीतिक दबाबमा निर्माण गरिन्छ न कि इञ्जिनियरको सुझावमा । यस्तो असफल संरचनाको परिणामस्वरूप बर्सेनि पुनर्निर्माण खर्च, जनधनको क्षति र दुःखद मानवीय संकट दोहोरिन्छ ।
यसरी बर्सेनि बाढीका कारण जनधनको ठूलो क्षति भइरहँदा पनि दीर्घकालीन, वैज्ञानिक र वातावरणमैत्री समाधानको खाँचो अझै हुन सकेको छैन । देशको भौगोलिक बनावट, असन्तुलित वर्षा वितरण, अव्यवस्थित शहरीकरण, कमजोर पूर्वसूचना प्रणाली र खराब संरचनागत योजनाका कारण बाढीको असर झनै गम्भीर बनेको छ । यस्ता समस्याको समाधानका लागि जापान जस्तो प्रविधिमैत्री, अनुशासित र दीर्घदर्शी देशबाट पाठ सिकेर नेपालले पनि सस्तो, दिगो र व्यावहारिक समाधानमा जोड दिन आवश्यक छ । यो सन्दर्भमा निम्न उपायहरू अत्यन्त उपयोगी हुनसक्छः
१) वैज्ञानिक अध्ययन र सस्तो, तर गुणस्तरीय संरचनाको विकास
नेपालमा बाढी नियन्त्रणका लागि वर्षौं अगाडि बनाइएका ग्याबियन, स्पर र तटबन्धहरू अहिले पनि प्रयोग भइरहेका छन्, तर तीमध्ये धेरैजसो विनाडिजाइन, विनागुणस्तर नियन्त्रण र स्थानीय अनुभवमा आधारितमात्रै रहेका छन् । यस्ता संरचनाले प्रारम्भिक अवस्थामा केही राहत दिए पनि दीर्घकालीन रूपमा टिकाउन हुनसक्छ । जापानले यस क्षेत्रमा गरेको ठूलो योगदान भनेको वैज्ञानिक अध्ययनको आधारमा प्रविधिको प्रयोग हो ।
नेपालले पनि हरेक संरचना निर्माणको अगाडि नदीको प्राकृतिक भूगोल, बहाव गति, गहिराइ, गादको मात्रा, तथा भौगर्भिक संरचना विश्लेषण गर्ने वैज्ञानिक अभ्यास सुरु गर्नु पर्छ । यस्तो अभ्यास महँगो देखिए पनि दीर्घकालमा सस्तो, सुरक्षित र टिकाउसिद्ध हुन्छ ।
सस्तो तर दिगो प्रविधि
ग्याबियन संरचना: सस्तो, स्थानीय ढुंगा र तारजालीको प्रयोगबाट बन्ने ग्याबियन संरचना उचित डिजाइन र फिल्टर र जिओटेक्सटाइलको प्रयोगसहित बनाइएमा धेरै लचिलो, सस्तो र पुनः प्रयोग गर्न मिल्ने हुन्छ ।
माटो भरिएको ब्याग प्रविधि (sandbags): जापानले सानोस्तरको आपतकालीन अवस्थामा प्रयोग गर्ने यो प्रविधि पनि नेपालमा ग्रामीण क्षेत्रमा तत्कालीन राहतका लागि सस्तो र उपयोगी हुन्छ ।
बायो इन्जिनियरिङ विधि: स्थानीय झार र घाँस जस्तैः vetiver grass, बाँस वा अन्य बोटविरुवाको प्रयोग गरी नदी किनार सुदृढ पार्ने जापानी प्रविधि सस्तोमात्र होइन, वातावरणमैत्री पनि हुन्छ ।
नेपालमा बाढी नियन्त्रणका उपायहरू अपूर्ण, असंगठित र गुणस्तरहीन छन् । ग्याबियन जस्ता संरचना धेरैजसो समय डिजाइनविना, विनाजग, विनाफिल्टर र विनामर्मत बनाइन्छन्, जसले गर्दा ती बाढीमा सजिलै भत्किन्छन् ।
२) Room for the River अवधारणा: बाढीलाई ठाउँ दिने, रोक्ने होइन
जापानको Room for the River अवधारणा अत्यन्त सान्दर्भिक छ । यसको आधारभूत सोच भनेको बाढीलाई ठाडै रोक्नु होइन, प्राकृतिक रूपमा फैलिन दिने, तर नियन्त्रित तरिकाले व्यवस्थापन गर्ने हो ।
नेपालमा विशेषगरी बागमती, कमला, राप्ती जस्ता नदीहरूमा बाढीको बेलामा पानीको बहावलाई फैलिन नदिने प्रयास गर्दा तटबन्ध भत्कने, नदीमार्ग नै परिवर्तन हुने र भूक्षयको सम्भावना बढी हुन्छ । त्यसैले नदी छेउछाउका केही भूभागलाई बाढी विसर्जन क्षेत्र (flood plain zone) को रूपमा छुट्ट्याउनुपर्छ, जहाँ आवश्यक परेमा पानी फैलिन सकोस् । यसले भू-जल पुनर्भरण, कृषि माटोको परत थपिनु, जैविक विविधताको संरक्षण आदि विविध फाइदा दिन्छ ।
नेपाल सरकारले नीति निर्माणमै यस्तो अवधारणा समावेश गरेर संरचना जस्तैः तटबन्ध र असंरचना जस्तैः भूमि प्रयोग नीति, चेतना अभिवृद्धि जस्ता उपाय समेट्नुपर्छ ।
३) सस्तो, आधुनिक र समुदायमैत्री बाढी चेतावनी प्रणाली
जापानले बाढी आउनुभन्दा २४-४८ घण्टाअगावै उपग्रह डाटा, राडार प्रणाली, मौसम पूर्वानुमान संयन्त्र र मोबाइल नेटवर्कमार्फत आमजनतालाई सूचित गर्नसक्ने अत्याधुनिक प्रणाली विकास गरेको छ । नेपालमा पनि यस्तो प्रणाली निर्माण गर्न कम लागतमा उपलब्ध प्रविधिहरूको प्रयोग गर्न सकिन्छ ।
- कम लागतमा जडान गर्न सकिने वर्षामापक यन्त्र (rain gauge) र जलस्तर मापन यन्त्र (river gauge sensor) विकास गर्न सकिन्छ ।
- मोबाइल एप र एसएमएस अलर्ट प्रणाली जडान गरेर ग्रामीण क्षेत्रमा जानकारी पुर्याउन सकिन्छ ।
- स्थानीय एफएम रेडियो र लाउडस्पिकर प्रणालीमार्फत गाउँसम्म सन्देश पुर्याउन सकिन्छ ।
यस्ता चेतावनी प्रणालीले मानव क्षति न्यून पार्न अत्यन्त प्रभावकारी भूमिका खेल्छ । जापानमा विद्यार्थीदेखि वृद्धसम्मले पूर्वसूचनालाई गम्भीरतापूर्वक लिन सिकेका छन् । नेपालले पनि यस दिशामा ‘प्रविधि+ शिक्षा’ को संयोजनमा अगाडि बढ्नुपर्छ ।
४) शहरी क्षेत्रमा वर्षा जल व्यवस्थापनको प्रविधि
नेपालका सहरहरूमा वर्षाको पानी सीधा ढल प्रणालीमा मिसिएर वा सडकमा जमेर समस्या बनाउँछ । जापानले भने water harvesting, permeable pavement, rain garden जस्ता प्रविधिको प्रयोग गरेर शहरी बाढी नियन्त्रण गरिरहेको छ । नेपालले पनि निम्न उपायहरू अवलम्बन गर्नसक्छः
- भूमिगत जलसञ्चय ट्यांकी (Rainwater Storage Tank): वर्षाको पानी जम्मा गरेर आवश्यक समयमा सिंचाइ, धुने, फ्लश आदि कार्यमा प्रयोग गर्न सकिन्छ ।
- पानी सोस्ने सडक (Permeable Pavements): यस्तो सडकले पानीलाई भुईंमा समाहित गराउँछ, जसले भूजल भर्ने र सतह बहाव घटाउने काम गर्छ ।
- Green Roofs र Rain Gardens: घर र भवनको छतमा हरियाली लगाएर पानी रोक्ने र विरुवाहरूलाई प्रयोग गराउने प्रणाली ।
यी उपायहरूले नगरहरूलाई दिगो बनाउनुका साथै पानीको संकट पनि न्यून पार्छ ।
नेपालले पनि हरेक संरचना निर्माणको अगाडि नदीको प्राकृतिक भूगोल, बहाव गति, गहिराइ, गादको मात्रा, तथा भौगर्भिक संरचना विश्लेषण गर्ने वैज्ञानिक अभ्यास सुरु गर्नु पर्छ । यस्तो अभ्यास महँगो देखिए पनि दीर्घकालमा सस्तो, सुरक्षित र टिकाउसिद्ध हुन्छ ।
५) सामुदायिक चेतना, अभ्यास र सहभागी योजना
बाढी नियन्त्रण प्रविधिको प्रभावकारिता समुदायले नबुझेसम्म वा अपनाउन नसकेसम्म पूर्ण रूपमा कार्यान्वयन सम्भव हुँदैन । जापानले विपद् व्यवस्थापनको शिक्षा विद्यालय तहदेखि सुरु गरेको छ । विद्यालय, टोल विकास संस्था, महिला समूह, युवा क्लब आदिलाई संलग्न गराई ‘सहभागी योजना’ बनाउने अभ्यास नेपालमा पनि बढाउनुपर्छ ।
- वार्षिक विपद् अभ्यास: सामूहिक रूपमा बाढीको समय के गर्ने भन्ने अभ्यास गराउने ।
- बालबालिका, महिलालाई लक्षित तालिम: जोखिममा परेकाहरूलाई सुरक्षित राख्न, प्राथमिक उपचार सिकाउन ।
- स्थानीय सतर्कता समूहः गाउँ र टोलमै निगरानी र सूचनाको आदानप्रदान गर्नसक्ने ‘बाढी चौकी’ जस्तै संरचना ।
६) संघीय तहमा दीर्घकालीन नीति र स्पष्ट समन्वय
नेपाल संघीय मुलुक भएकोले बाढी नियन्त्रणका जिम्मेवारीहरू विभिन्न तहमा बाँडिएका छन्, तर कार्यान्वयनमा नीति अस्पष्टता, समन्वयको अभाव र वित्तीय स्रोतको अनिश्चितता जस्ता समस्या देखिन्छन् । जापानमा संघीय सरकार, प्रान्तीय निकाय र स्थानीय तहबीच स्पष्ट समन्वय, जिम्मेवारी बाँडफाँट र नियमित अनुगमन गरिन्छ । नेपालले पनि निम्न पक्षमा ध्यान दिन जरुरी छः
- बाढी नियन्त्रण र विपद् न्यूनीकरणसम्बन्धी एकीकृत नीति बनाउने ।
- स्थानीय तहलाई क्षमता अभिवृद्धि गराउने, प्रविधि हस्तान्तरण गर्ने ।
- अनुदान र प्रोत्साहनको माध्यमबाट सस्तो प्रविधिको प्रयोगलाई प्राथमिकता दिने ।
यस्ता प्रयासले दीर्घकालीन स्वदेशमै उत्पादन हुने प्रविधिको विकासमा समेत टेवा पुग्छ ।
निष्कर्ष
अब नियन्त्रण होइन, सहकार्यको समय हो । नेपालमा बाढी एक प्राकृतिक घटना हो, तर त्यसलाई विपद् बन्नबाट जोगाउने उपाय हाम्रो हातमा छ । यसका लागि अब आवश्यक छ, महँगो प्रविधि होइन, सही सोच, समन्वय र सस्तो व्यावहारिक समाधान । जापानले प्रकृतिसँग लड्न होइन, मिल्न सिक्ने नीति अपनाएको छ, जसले उनीहरूलाई विश्वकै सुरक्षित देशमध्येमा राखेको छ ।
नेपालले पनि वैज्ञानिक सोच, जनसहभागिता र प्रविधिसँगको सहकार्य बढाएर बाढीको समस्या समाधानमात्र होइन, समृद्ध, सुरक्षित र वातावरणमैत्री भविष्य निर्माण गर्न सक्नुपर्छ । अब समय आएको छ, हामीले प्रकृतिलाई नियन्त्रण गर्ने सोच छोडेर त्यसलाई बुझ्ने र सहकार्य गर्ने बाटो समाउने । यही बाटो सस्तो छ र दिगो पनि । यही बाटो नेपालको उज्यालो भविष्यको आधार बन्नसक्छ ।
(सुरेश लौडारी जापानको एहिमे विश्वविद्यालयबाट बाढी नियन्त्रण प्रबिधिरूमा विद्यावारिधि प्राप्त अनुसन्धानकर्ता हुन्। हाल उनी जापानको कोची विश्वविद्यालयमा जल तथा विपद् सम्बन्धी विषयमा अनुसन्धान गरिरहेका छन्।)

Leave a Reply