कहाँ-कहाँ चुक्यो एमाले ? किन चाहिँदैछ नयाँ नेतृत्व ?

नेपालको आधुनिक र राष्ट्रिय राजनीतिमा वाम आन्दोलनको योगदान अत्यन्त महत्वपूर्ण छ । वाम आन्दोलनलाई विचार, संगठन र व्यवहारको त्रिवेणी संगम बनाउने काम मदन भण्डारीले गर्नुभएको हो । उहाँकै जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तले वाम आन्दोलनलाई नयाँ धार दिएको हो । उहाँकै विचारको प्रभाव र वैचारिक नेतृत्वमा हुर्किएकी र राजनीतिक सक्रियतामा तल्लीन जीवनसंगिनी विद्यादेवी भण्डारी देशको पहिलो महिला राष्ट्रपतिको रूपमा उदाउनुभयो । राष्ट्रपतिको कार्यकाल सकिएपछि पुनः पार्टीको काममा फर्किन उहाँले ऐतिहासिक आँट गर्नुभयो भने उहाँको लागि पार्टीले सगर्व मार्ग प्रशस्त गरिदिनुपर्छ ।

एमालेको रक्षा र विकासमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले बितेका पाँच वर्षमा जेजस्ता जोखिम मोल्नुभयो, त्यो सामान्य कुरा थिएन । त्यसले कतिपय जायज र नाजायज विषय, तर्क र भनाइहरू आए, तर सिध्याउन ठिक्क पारिएको एमाले विरासतको रक्षाका निम्ति एउटा बहादुरी कदम थियो । तसर्थ आज विद्याको चर्चा गर्नुअघि ओलीले निर्वाह गर्नुभएको जोखिमपूर्ण कालखण्डको स्मरण गर्नु उचित हुन्छ । ती जोखिम नमोलिएको थियो भने आज कसैले पार्टी काम गर्छु र गर्दिनँ भनिरहनुपर्ने थिएन । किनभने सकिँदै गरेको पार्टी जोगाएर यहाँसम्म ल्याउने काम ओलीबाटै भएको हो । त्यसैले अब विद्या जसरी अगाडि बढ्नुहुन्छ, जे भूमिकाका साथ आउनुहुन्छ, ओली र उहाँकै बीचको सहमति र सहकार्यका साथ हुनेछ भन्ने विश्वासमा सिंगो देशभरको एमाले पंक्ति ढुक्क छ ।

मदनको नीति र विचार

मदन भण्डारीले नेपालमा सशस्त्र क्रान्तिको बाटो छाडेर लोकतान्त्रिक मूल्यमा आधारित समाजवादी व्यवस्था स्थापना गर्ने दृष्टिकोण अघि सार्नुभयो । उहाँद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको यथार्थलाई सम्बोधन गर्ने नवीन कार्यक्रम थियो, जसले पार्टीलाई सैद्धान्तिक कठोरताको पिँजडाबाट बाहिर ल्यायो । जनतासँग जोड्ने पुलको काम ग¥यो । १० वर्षे सशस्त्र युद्ध लडेको माओवादीलाई पनि संसदीय मूलधारको लाइनमा आउन त्यसले प्रेरित ग¥यो । आजका सम्पूर्ण वामशक्ति संसदीय अभ्यास र मर्यादाभित्र रहन बाध्य छन् । यो जबजको देन हो ।

विद्याको नेतृत्व र पहिचान

विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय महिला नेतृमध्ये अग्रणी नाम हो । मदनको पत्नीमात्र नभई उहाँको देहावसानपछि वाम आन्दोलनलाई संगठित राख्ने क्रममा पनि सक्रिय भूमिका निभाउनुभयो । मन्त्रीदेखि राष्ट्रपतिसम्मको यात्रामा उहाँले महिलाको अग्रसरता, राष्ट्रवाद र संस्थागत स्थायित्वमा केन्द्रित नेतृत्व देखाउने प्रयास गर्नुभयो । राजनीतिक पृष्ठभूमिका हिसाबले हेर्दा मदनसँग दाम्पत्य जीवन शुरु हुनुअघिबाटै अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पस विराटनगरको प्रारम्भिक कमिटीबाट उहाँ अगाडि बढ्नुभएको हो ।

अब विद्या जसरी अगाडि बढ्नुहुन्छ, जे भूमिकाका साथ आउनुहुन्छ, ओली र उहाँकै बीचको सहमति र सहकार्यका साथ हुनेछ भन्ने विश्वासमा सिंगो देशभरको एमाले पंक्ति ढुक्क छ ।

राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको कार्यकाल केही विवादास्पद नरहेको भने होइन, विशेषगरी संवैधानिक सन्तुलन र कार्यशैलीका हिसाबले । पार्टीकै समर्थनमा आफू राष्ट्रपति भएको र पार्टीले नेतृत्व गरेको सरकारको पक्षमा दृढतापूर्वक उभिँदा आफ्नो पदीय मर्यादा र छविमा सामान्य आँच आउँदा पनि सहजै पचाइदिनुभयो । त्यही भूमिकाका कारण आज एमाले बाँचिरहेको छ । उहाँको राष्ट्रवादी धारणा र पार्टी प्रतिबद्धता अझै एमाले समर्थक र मतदातामाझ प्रभावशाली रूपमा देखिन्छ । राष्ट्रिय राजनीतिमा परिपक्वतासहित खारिएको अनुभव नेकपा एमालेलाई आवश्यक छ ।

आजको एमाले र भावी राजनीति

आज नेकपा एमाले नेपालका मुख्य राजनीतिक शक्तिमध्ये एक हो । पार्टीले लामो समयसम्म सत्तामा रहेर विकास र स्थायित्वको नारा दिएको भए पनि पछिल्लो समय आन्तरिक गुटबन्दी, नेतृत्व संकट र वैचारिक अस्पष्टताको कारण आलोचनाको शिकार भएको कुरालाई नकार्न सकिन्न । तथापि एमालेको नेतृत्वले तीतो यथार्थ स्वीकार्न सक्नुपर्छ । विरोधीलाई गाली गर्दैमा र आफ्ना समर्थकको एकतर्फी ताली खाँदैमा आफ्नो वैचारिक र सांगठनिक स्तरलाई उकास्न सकिन्न भन्ने कुराको हेक्का हुनु जरुरी र बुद्धिमानी हुन्छ ।

जबजलाई व्यवहारमा उतार्ने नाममा विरोधीका ईख झार्न २०५४ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्व स्वीकार्दै ‘चमाले सरकार’ अनि राजा ज्ञानेन्द्रको शासनकालमा ‘आधा प्रतिगमन सच्चिएको’ तर्कसहित सरकारमा सामेल भएर सत्तामुखी बन्दै आएकोले एमालेले कहिले राप्रपासँग त कहिले कांग्रेससँग सत्ता केन्द्रित राजनीति गर्‍यो । कहिले पार्टी एकताको नाममा माओवादीसँग मिलेर चुनाव लड्यो । वामपन्थीको स्पष्ट बहुमत प्राप्त सत्ता साझेदारी गर्दै वामपन्थी एकतालाई बरकरार राख्न सकेन । गल्ती त्यहीँनिर भयो । माओवादी पार्टीसँग एकता होइन, कार्यगत एकता गर्दै अघि बढ्न सक्नुपर्थ्यो । त्यस्तो हुन सकेन ।

उहाँको राष्ट्रवादी धारणा र पार्टी प्रतिबद्धता अझै एमाले समर्थक र मतदातामाझ प्रभावशाली रूपमा देखिन्छ । राष्ट्रिय राजनीतिमा परिपक्वतासहित खारिएको अनुभव नेकपा एमालेलाई आवश्यक छ ।

त्यसो त उक्त एकताको बहानामा एमालेको आन्तरिक सत्ता, शक्ति र सम्पूर्ण विरासतमाथि हमला गर्ने प्रचण्डको कुटिल चाल चल्यो । एमालेको नामलाई नामेट पार्दै त्यसका सम्पूर्ण संरचनामाथि प्रचण्ड एक्लो हावी हुन खोज्दा अध्यक्ष केपी शर्मा ओलीले जेजस्ता गतिविधि र भूमिका गरे पनि अन्ततः एमालेको रक्षा र सुदृढीकरणको शर्तमा ती काम जायज मानिन्छ । यद्यपि उक्त एकतालाई शुरुदेखि नै एकता नभनेर ‘सहकार्य’ का नाममा अगाडि बढाइएको भए उपयुक्त हुने थियो । त्यसो गर्दा प्रचण्डले जेजस्ता हत्कण्डा अपनाएर केही नेतालाई पार्टी विभाजनसम्म जानका लागि हौस्याए, त्यो राम्रो कुरा थिएन ।

मदनको दृष्टि र विद्या

विद्याको उपस्थितिले एमालेको राजनीतिक यात्रामा गहिरो प्रभाव पार्छ । अब आवश्यक भनेको विगतको मूल्यांकन गर्दै भविष्यका लागि जनमुखी, जिम्मेवार र दूरदर्शी नेतृत्व निर्माण गर्नु हो । नत्र एमालेको राजनीतिक हैसियतलाई चुनौती दिँदै क्रान्तिकारीपन सबैलाई मनपर्ने कारण त्यसैको आडमा वैकल्पिक शक्ति अघि बढ्नसक्छ । जसलाई विदेशीको साथ रहनसक्छ ।

नेपालको राजनीतिमा एमालेले लामो समयदेखि निर्णायक भूमिका खेल्दै आएको छ, तर पछिल्ला केही वर्षयता पार्टी विचारभन्दा सत्ता समीकरणमा बढी केन्द्रित देखिन थालेको छ । यस्तो अवस्थामा एमालेलाई पुनः जनताको विश्वासमा फर्काउने हो भने मदन भण्डारीको नीति र विद्या भण्डारीको नेतृत्व अनुभवलाई आत्मसात गर्न आवश्यक छ ।

वामपन्थीको स्पष्ट बहुमत प्राप्त सत्ता साझेदारी गर्दै वामपन्थी एकतालाई बरकरार राख्न सकेन । गल्ती त्यहीँनिर भयो । माओवादी पार्टीसँग एकता होइन, कार्यगत एकता गर्दै अघि बढ्न सक्नुपर्थ्यो । त्यस्तो हुन सकेन ।

मदनले पार्टीलाई नीति, विचार र व्यवहारिक जनसम्पर्कको समन्वयमा निर्माण गर्नुभयो । उहाँले क्रान्तिको नाममा हिंसा होइन, जनताको भावनाको सम्मान गर्दै परिवर्तनको मार्ग रोज्नुपर्छ भन्ने सन्देश दिनुभयो, तर आजको एमाले कहाँ उभिएको छ ? सत्ता साझेदारीले भुईं तहका संगठनहरू बेखबर अवस्था र पार्टीको लेबी बुझाउनबाहेक अन्य सांगठनिक कार्यमा सरिक हुन पाइरहेका छैनन् । किन ? यसको उत्तर कसले दिन्छ ?

पार्टीभित्रको शक्ति संघर्ष, अराजक-अस्वस्थ गुटबन्दी र नेतृत्व प्रतिस्पर्धाले एमालेलाई कमजोर बनाएकै हो । यही कारणले हालका निर्वाचनमा पनि अपेक्षित सफलता हात पर्न सकेन । संसदीय निर्वाचनमा जित्न आफ्नो सैद्धान्तिक धरातललाई तिलाञ्जली दिँदै जस्तोसुकै दलसँग साझेदारी गर्न नेतृत्व पछि परेन । पार्टी कार्यकर्ताको दाँतमा ढुंगो यहीनिर लाग्यो ।

व्यक्तिगत रूपमा नेतृत्व आफू चुनाव जितेर संसद भवनमा छिर्न र सत्ता केन्द्रित हुन लालयित हुनुले र यस्ता प्रवृत्तिले पार्टीभित्रका इमानदार र इतिहास बोकेका नेता कार्यकर्ताको असन्तुष्टिका कारण जहाँजहाँ आफ्ना भोट बैंक थिए, ती सबै तितरबितर भए । किन ? किनकि कार्यकर्ताले फरक मतसहितको आफ्ना धारणा कहाँ राख्ने, कोसँग राख्ने ? खोई नियमित बैठक ? त्यसकारण एमाले जस्तो जनसम्पर्क भएको पार्टीलाई सोची-विचारी नेतृत्व गर्नसक्ने नेताको अभाव नहोस् भन्न पनि नयाँ नेतृत्वको आवश्यकता देखिन्छ ।

(लेखक एमालेको सर्लाही जिल्ला कमिटीका पूर्वउपसचिव हुन् ।)

Comments

One response to “कहाँ-कहाँ चुक्यो एमाले ? किन चाहिँदैछ नयाँ नेतृत्व ?”

  1. युवराज कार्की Avatar
    युवराज कार्की

    मलाई पनि प्रकाश जी काे विश्लेषण ठिक लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *