नेपालमा घट्यो आत्महत्या, के-केले भूमिका खेल्यो ?

काठमाडौं । नेपालमा आत्महत्याको दर घटेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको विवरणमा आत्महत्या दर घटेको देखिएको हो ।

प्रहरी तथ्यांकमा उल्लेख भएअनुसार जेठसम्ममा देशभर ६ हजार १०० जनाले आत्महत्या गरेका छन् । यो औसतमा दैनिक १६ जना हो । जुन गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षमा ७ हजार २२१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक थियो भने औसत दैनिक करिब २० जना थियो । त्यस्तै, आत्महत्या सम्बन्धी मुद्दा दर्ताको संख्या भने ६ हजार ८६ रहेको प्रहरीले जनाएको छ ।

आफूलाई हानी गरी मृत्युवरण गर्नेमा तुलनात्मक रुपमा पुरुष बढी देखिएका छन् । जसमा ३ हजार २९७ जना रहेका छन् भने २ हजार २४ जना महिलाहरुले आत्महत्या गरेका छन् । यो सूचीमा २३४ जना बालकहरु हुँदा ५२७ जना बालिकाहरु रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेकाे तथ्यांक

यसवर्ष प्रदेशगत विवरण हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै एक हजार ३०६ जनाले आत्महत्या गर्दा कर्णाली प्रदेशमा सबैभन्दा कम २६८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, दोस्रो धेरै आत्महत्या गरेका प्रदेशको रुपमा एक हजार १७० जनासहित लुम्बिनी प्रदेश रहेको छ भने सुदूरपश्चिममा ५०८ जना रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै ४५२ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै, सबैभन्दा धेरै मानिसहरुले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जसमा ५ हजार १४९ जना रहेका छन् भने दोस्रोमा विष सेवन गरेर जसमा ८५१ जना रहेका छन् ।

विश्वव्यापी रुपमै आत्महत्या घट्दो क्रममा रहेको छ । जसको कारणको रुपमा आत्महत्या रोकथामका कार्यक्रमहरुले हुनसक्ने मनोविद डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् । करिब डेढ दशकदेखि आत्महत्या रोकथाम अभियान सञ्चालनमा सक्रिय रहेका ठगुन्नाका अनुसार सन् २००३ देखि आत्महत्या रोकथाम कार्यक्रम विश्वमा मनाउन थालिएको थियो । जसको सकारात्मक प्रभाव परेर जनस्तरमा सचेतना आएको कारणले आत्महत्याको दर घटेको हुनसक्ने अनुमान गर्न सकिने ठगुन्ना बताउँछन् ।

मनाेविद डा. नरेन्द्र सिंह ठगुन्ना

नेपालमा पनि सन् २०१० देखि आत्महत्या रोकथामको कार्यक्रम सञ्चालन नियमित हुँदै आएको छ । जसको सकारात्मक प्रभाव परेको उनको बुझाइ छ । ९० प्रतिशत आत्महत्याको कारण भने मानसिक समस्याको कारणले हुने गरेको छ ।

सामाजिक सञ्जालको प्रयोगले पनि केही सकारात्मक भूमिका खेलेको भन्न सकिने उनको भनाइ छ ।

‘सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ भन्ने उखानको आधारमा आफूलाई गाह्राे हुँदा सामाजिक सञ्जालमा आफ्ना कुराहरु बाँड्दा आउने सान्त्वना र साथले पनि मानिसहरुलाई आफूसँग कोही न कोही त छ भन्ने भावनाले पनि यसमा कमी ल्याएको हुनसक्छ भन्ने आधार दिन्छ । यद्यपि यसको ठोस तथ्यांक भने होइन’, उनले बताए । तर कतिपय अवस्थामा सामाजिक सञ्जालले नै मानसिक समस्या निम्त्यिाएका, आत्महत्यामा प्रेरित गरेका अवस्थाहरु भएको पनि उनले बताए ।

यद्यपि स्वस्थ सामाजिक सञ्जाल प्रयाेगले मानसिकरुपमा स्वस्थ रहन भूमिका खेल्ने उनकाे बुझाइ छ ।

यस्ताे छ उनकाे थप भनाइ:

एसडीजी गोल नं. ३ अन्तर्गत सन् २०३० सम्ममा प्रति एक लाखमा आत्महत्याको दर करिब ३.४ जनामा झार्ने लक्ष्य राखिएको छ । नेपालमा भने हाल करिब प्रति एक लाखमा २२ देखि २४ जनाको आत्महत्याको केस रहेको छ । त्यस्तै, नेपालले त्यसलाई ९.७ जनामा झार्ने लक्ष्य लिएको छ । अहिले विश्वमै थोरै कम आएको देखिन्छ । यसको कारणहरुमा विश्व स्वास्थ्य संगठनसहितका अन्तर्राष्ट्रिय संघ संस्थाको लगानी प्रतिवद्धता र सम्बन्धित सरकारको भूमिकाले काम गरेको भन्न सकिन्छ । जसको परिणामस्वरुप नेपालमा पनि जनचेतनाको स्तर अलि बढेर घटेको भनेर भन्न मिल्छ ।

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *