जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणको अवरोधक आफूहरू नभएको दाबी गरेका छन् ।
जनकपुरधाममा पत्रकार सम्मेलन गरेर नेता महासेठले विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा आफूहरूले अवरोध गरेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लगाएको आरोपमा सत्यता नरहेको दाबी गरे । उनले जनतामा भ्रम फैलाएर खुरापाती नगर्न निधिलाई सुझाव दिए ।
धनुषा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता महासेठले, ‘उहाँ समानुपातिक सांसद (निधी)लाई चुनाव नै लड्नु छ भने जनतालाई भ्रमित गर्नु हुँदैन । अहिलेदेखि नै खुरापाती गर्नु हुँदैन ।’
उनले राजर्षि जनक विश्वविद्यालयको स्थापनामा पनि निधिको प्रमुख भूमिका नरहेको बताए । ‘स्वर्गिय प्रदीप नेपाल शिक्षा मन्त्री रहेको बेला मेरै नेतृत्वमा विश्वविद्यालयको पहल भयो । र, स्थापना पनि भयो,’ उनले थपे ।
फरक प्रसंगमा नेता महासेठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय बनेपछि पार्टीमा कुनै खालको हलचल नभएको र नहुने बताए । पूर्वराष्ट्रपति कानून सम्मत नै पुन: राजनीतिमा सक्रिय भएको र पार्टी अध्यक्षको सहमतिमै आउने उनको भनाई थियो ।

Leave a Reply