काठमाडाैं। प्रसिद्ध डब्लुडब्ल्युई सुपरस्टार तथा हलिउड अभिनेता जोन सिनाले आफ्नो रेस्लिङ करियर अन्त्य गर्ने घोषणा गरेका छन् । गत जुलाइमा टोरन्टोमा आयोजित डब्ल्युडब्ल्युईको मनी इन द ब्यांक इभेन्टमा बोल्दै उनले सन्यासको घोषणा गरेका हुन् ।
उनले सन्यासको घोषणा गर्दै भने, ‘म यही वर्ष नै डब्ल्युडब्ल्युईको रिङमा अन्तिमपटक देखिनेछु । त्यसपछि रेस्लिङ करियरबाट सन्यास लिनेछु ।’
उनले यही वर्ष डिसेम्बरमा अन्तिम खेल खेलेपछि सन्यास लिने बताएका छन् । उनले अमेरिकी टेलिभिजन कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा पनि सन्यासको निर्णयलाई दोहोर्याएका छन् । उक्त कार्यक्रममा उनले भनेका छन्, ‘मैले यस वर्षपछि रिङ नर्फकने बाचा फ्यानहरुलाई गरिसकेको छु ।’
पिपल म्यागजिन, इन्टरटेनमेन्ट विकली, टकस्पोर्टजस्तो संचारमाध्यमले पनि उनको सन्यासको खबरलाई पुष्टि गरेका छन् । २० वर्षभन्दा बढी समय डब्लुडब्ल्युईको रिङमा बिताएका उनलाई सर्वाधिक सफल र चर्चित रेस्लर मानिन्छ । उनले सर्वाधिक १६ पटक डब्ल्युडब्ल्युईको विश्व च्याम्पियन समेत जितेका छन् । उनलाई सर्वकालीन महान रेस्लरमध्ये एक मानिन्छ ।
रेस्लिङका अलवा सिना हलिउडमा पनि सफल अभिनेता हुन् । ‘फास्ट एण्ड फ्युरियस’, ‘द सुसाइड स्क्वाड’, पिसमेकर’जस्ता चलचित्र तथा सिरिजहरुमा उनले अभिनय गरेका छन् । सिना नेपाली रेस्लिङप्रेमी दर्शकमाझ पनि अत्यधिक लोकप्रिय छन् ।

Leave a Reply