वर्षाले ल्याउने जोखिम न्यूनीकरण गर्न चितवनमा कसरी हुँदैछ तयारी ? (भिडिओ)

चितवन । नेपालभर वर्षा भइरहँदा विभिन्न नदीहरुमा पानीको बहाब बढ्न जाने जल तथा मौसम विज्ञान विभागले बुलेटिन मार्फत सचेत गराएको छ ।

देशभरका अन्य ठूला नदीहरुसँगै चितवन भएर बग्ने नारायणी नदीको पनि विभिन्न ठाउँमा उल्लेख्य रुपमा पानीको बहाब बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

चितवनमा पहाड तथा समथर भुभाग दुबै भएको कारण बाढीको जोखिमसँगै पहिरोको पनि जोखिममा रहेको जिल्ला हो चितवन । पूर्व पश्चिम मुख्य राजमार्गको ९० किलोमिटर क्षेत्र यस जिल्लामा पर्ने भएकोले यहाँको सडक भएर गुड्ने सवारी साधनहरु समेत पहिरो तथा बाढीको जोखिममा रहेका छन् ।

अघिल्लो वर्ष पनि वर्षाको भेलले बगाएर नारायणगढ मुग्लिन सडकखण्डको सिमतलताबाट दुईवटा यात्रुबाहक वर्ष त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो । भने नारायणी नदीमा उर्लिएको भेलबाढीले पूर्वी तथा पश्चिम चितवनका खोला, नदी किनाराका बासिन्दा प्रभावित भएका थिए ।

त्यसैले अघिल्लो वर्षको जस्तो विपत्को अवस्था नआओस् भनेर जिल्लाका सुरक्षा संयन्त्रले विपत् अगाडिदेखि नै चनाखो भएर पूर्वतयारीका साथ बसेको जनाएको छ । विशेष गरि विपतमा तत्कालीन उद्दार तथा विपत् न्यूनीकरणको लागि तयारी अवस्थामा बसेको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले नेपाल प्रहरीको जिल्लामा रहेका ७४ वटा युनिट र जिल्ला प्रहरी कार्यालयमै पनि उद्दारका लागि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहेको बताएका छन् ।
भरतपुर महानगरपालिका लगायत स्थानीय तहहरुले उद्दारका लागि आवश्यक पर्ने सामग्रीहरु प्रहरीलाई हस्तान्तरण पनि गरेका छन् । उनले प्रहरीले अत्यावश्यक उद्दार सामग्रीसहित प्रहरीहरुलाई पनि तत्कालै प्रभावित स्थलमा पुग्नसक्ने गरि तयारी अवस्थामा राखेको बताएका छन् ।

एसपी पुरी भन्छन्, ‘हामीले स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश र केन्द्रीय विपत व्यवस्थापन कार्यालयसँग समन्वय गरेर चितवन जोखिमयुक्त ठाउँ पहिचान गरेर तत्काल उद्दार गर्न सक्नेगरि तयारी गरेका छौँ ।

झरी वर्षा भइरहँदा गाडी रोक्ने, नागरिकहरुलाई सुसूचित गर्ने काम पनि गरिरहेको उनले जानकारी दिए । एसपी पुरीले जोखिमयुक्त ठाउँमा प्रहरीहरुलाई उद्दारका समग्रीसहित प्रहरीहरु एलर्ट अवस्थामा राखिएको पनि उनले जानकारी दिएका छन् ।

चितवनमा नारायणी, त्रिशुली वरिपरिको क्षेत्र, देवघाट क्षेत्र, रामनगरदेखि मौवाखोलासम्मको हाइवे, पूर्वी चितवनको बछौली, पूर्वी चितवनको राप्ती किनार आसपासलाई डुबान, बाढीपहिरोको जोखिममा रहेको पहिचान गरिएको उनले जनाएका छन् ।

प्रहरीले गरेको थप तयारीबारे नेपालप्रेससँग एसपी पुरीले भिडियोमा कुराकानी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *