कांग्रेस नवलपरासीको विवाद मिलाउन जिल्ला सचिवले लेखे महामन्त्री गगन थापालाई पत्र

रुपन्देही । दुई समूहबीच बढेको विवाद मिलाउन पश्चिमनवलपरासी नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई औपचारिक पत्र लेखेको छ ।

०७९ को निर्वाचनमा भएको अन्तर्घातका विषयमा संस्थापन पक्षले प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाहीको सिफारिस तथा इतर समूहले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसहित सात जनालाई कारबाही सिफारिस गरेसँगै पार्टीभित्र गम्भीर असन्तुष्टि चुलिएको छ।

जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि औपचारिक आग्रह गरेको हो ।

नवलपरासीस्थित कांग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक असर परेको र संगठनात्मक आत्मविश्वास तथा एकतामा समेत जोखिम बढेको उल्लेख छ।

पत्रमा भनिएको छ, “पार्टीका तल्लो तहका कार्यकर्ताहरूमाझ निराशा र अविश्वास बढेको छ। केही सक्षम साथीहरूले पार्टी छाड्ने अवस्था आएको छ, जुन चिन्ताजनक छ।”

पत्रले पार्टीभित्र संगठनात्मक आलोचना, मतभेद र विचारविमर्शको अभावका कारण गम्भीर संवादको परम्परा टुटेको औँल्याएको छ। यस्तो अवस्थाले कार्यकर्ताहरूमा अविश्वास, उदासीनता र निराशा बढाएको भन्दै यसले पार्टी संगठनको समग्र स्वास्थ्य र सक्रियतामा नकारात्मक असर पार्ने चेतावनी समेत दिइएको छ।

केन्द्रमा संस्थापन समूहबाट देवेन्द्रराज कँडेल र सांसद विनोद चौधरीले लविङ गरेपनि जिल्लामा इतर समूहको वर्चस्व रहेको छ । जिल्ला समितिले संस्थापन समूहमा रहेका पार्टी केन्द्रीय सदस्य कँडेलसहित ७ जनालाई जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेको छ ।

स्थानीय चुनावमा उठेका उम्मेदवारविरुद्ध बागी उठाएको, जिसस चुनावमा बहुमत हुँदाहुँदै पनि अकै पार्टीका उम्मेदवारलाई जिताएको लगायतका उजुरी वडाबाट अनुशासन समितिमा परेपछि जिल्ला समितिले केन्द्रीय समितिमा कँडेलसहित सात जनालाई कारबाहीका लागि पठाएको छ ।

त्यसरी कारबाहीका लागि सिफारिस गरिएका अन्यमा क्षेत्रीय सभापति माधव पाण्डे, रामग्राम नगर समिति सभापति श्रीधर बस्याल, मोहन शर्मा, उमेश विक, जन्मजय यादव र विनोद पाण्डे रहेका छन् ।

अनुशासन समितिमा निर्वाचनको बेला पार्टीविरुद्ध लाग्ने झन्डै २ हजार बढी उजुरी दर्ता भएको र त्यसमा केहीलाई स्पष्टीकरण सोध्ने र केहीलाई कारबाही प्रकृया अघि बढाउने कार्य भएको जिल्ला समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *