‘कुलिङ पिरियड’ मा छेडखानीको छानबिन समितिका लागि सभामुखले मागे दलहरूसँग नाम

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपरान्ह सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । उपसभामुख इन्दिरा राना पनि छलफलमा सहभागी थिइन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरे । समितिको टीओआर र समयावधि तथा सदस्यको नामावलीबारे प्रस्ताव गर्न उनले दलहरूसँग माग गरेका छन् ।

प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न नै उपर्युक्त हुने सुझाव दिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताएका थिए । तीनवटै प्रमुख दलका नेताहरूले आ-आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।

आगामी असार २३ गते बस्ने प्रतिनिधिसभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकका निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक जानकारी नआएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।

Comments

One response to “‘कुलिङ पिरियड’ मा छेडखानीको छानबिन समितिका लागि सभामुखले मागे दलहरूसँग नाम”

  1. ksp pyl Avatar
    ksp pyl

    निर्णयको ओैपचारिक जानकारी किन नपठाएको रामहरि ? फेरि आशंका जन्मियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *