काठमाडाैं । कुनै समय अत्यधिक व्यस्त रहने अभिनेत्री पूजा शर्मा बितेको एक वर्षदेखि भने सुस्ताएकी छिन् । गत वर्ष असार ७ मा रिलिज भएको ‘दान्भी’ र भदौ २१ मा रिलिज भएको ‘रावायण’ फ्लप भएदेखि चलचित्र नगरीमा उनको चर्चा पनि सेलाएको छ ।
यस वर्ष पूजाको कुनै चलचित्र प्रदर्शन हुने सुरसार छैन । पुजाको सामाजिक सञ्जाल स्क्रोल गर्ने हो भने एउटा नयाँ चलचित्र ‘हली’ को प्रमोसनल गीत सेयर गरेको देखिन्छ । यो गीतमा पूजा पनि फिचर्ड छिन् । तर चलचित्रमा उनको अभिनय छैन । केवल प्रमोसनल गीतमा मात्रै स्थान पाएकी हुन् ।
यसबाहेक उनको सामाजिक सञ्जाल खातामा नयाँ चलचित्रका कुनै पनि गतिविधि देखिँदैनन् । अरुका चलचित्रको ट्रेलर, गीतहरुको लिंक सेयर गर्दै बधाइ दिने गरेकी छन् ।
‘दान्भी’मा पूजा एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । तर, दर्शकबाट साथ पाइनन् । चलचित्रले बक्स अफिसमा निराशाजनक नतिजा दियो । लगत्तै उनी स्वयं निर्मात्री बनेको चलचित्र ‘रावायण’ पनि रिलिज भयो, जसबाट उनले निकै आशा राखेकी थिइन् । तर, यो चलचित्रले पनि उनलाई राहत मिलेन । बरु चलचित्रमाथि अनेक ट्रोल बने । आर्थिकरुपमा पूजालाई रावायणबाट ठूलै धक्का लागेको बताइन्छ ।
अभिनेत्री रेखा थापाले निर्माण गर्ने भनेको नयाँ चलचित्र ‘छत्तिस आँकडा’ मा पूजा अनुवन्धित भएकी थिइन् । तर, यो चलचित्रको निर्माण अहिले रेखाले स्थगन गरेकी छन् । ‘छत्तिस आँकडा’ लाई रोकेर उनले केही समयअघि मात्रै ‘काली’ चलचित्रको सिक्वेल घोषणा गरिन् । असार ७ गतेसम्म नाटक ‘मीरा’ मा अभिनय गरेपछि उनले नयाँ प्रोजेक्टको रुपमा ‘काली’ चलचित्रको सिक्वेलको घोषणा गरेकी हुन् ।
रेखाले ‘छत्तिस आँकडा’लाई पछाडि धकेलेपछि पूजालाई चलचित्रमा कमब्याक गर्न धेरै समय लाग्ने देखिएको छ । हुन त उनले आफू नयाँ चलचित्र निर्माणको तयारीमा जुटेको निकटस्थहरुलाई बताउने गरेकी छन् । तर, नयाँ चलचित्रको नाम पनि घोषणा गर्न सकेकी छैनन् ।
चलचित्रबाहेक पूजा व्यवसायमा पनि संलग्न छिन् । उनले झम्सिखेलमा प्रेमी युद्ध बानियाँसँग मिलेर ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छन् । निकै तडकभडकसहित खोलिएको यो रेस्टुरेन्टको आजकाल उति चर्चा सुनिँदैन ।
अब कहिले आउला त पूजाको नयाँ चलचित्र ? ‘प्रेमगीत’बाट दर्शकको मन जितेकी पूजाका फ्यानहरु पर्खाइमा छन् । तर, २०८२ सालमा उनको नयाँ चलचित्र आउने छाँटकाँट देखिएको छैन ।

Leave a Reply