काठमाडौं । बहुप्रतिक्षीत संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटको फैसला आउनै लागेको छ ।
संवैधानिक इजलासमा आज फैसला सुनाउने दिन तोकिएको थियो । अहिले भित्र न्यायाधीशको छलफल जारी छ । बाहिर इजलासमा कानून व्यवसायी कुरिरहेको अदालतमा रहेका हाम्रा प्रतिनिधिले बताएका छन् ।
४ देखि ५ वर्षअघिको नियुक्तिविरुद्धको मुद्दा चलिरहेका बेला यसबीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुख नै खाली भइसकेका छन्, भने धेरै सदस्य पनि उमेर हद र अन्य कारणले अवकाशमा गइसकेका छन् ।
सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ यही जेठ २ गते सकेको थियो । जेठ २ गते बिहीबारको अन्तिम बहसपछि जेठ २८ गते निर्णय सुनाउने मिति तोकेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सम्मिलित संवैधानिक परिषद्ले नियुक्त गरेका पदाधिकारीको मुद्दा उनले हेर्न नमिल्ने भन्ने विवादसमेत निकालिएको थियो । यसबीचमा दिपक कार्की कामुसहित हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश भए पनि मुद्दाको सुनुवाइ भएन ।
संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० गते २० जना पदाधिकारी राष्ट्रपतिबाट नियुक्त भएका थिए । प्रतिनिधिसभाको पहिलो विघटनपछि हालका अख्तियार प्रमुख प्रेम राईसहितका पदाधिकारी नियुक्त भएका थिए भने दोस्रो विघटनपछि बाँकीको नियुक्ति भएको थियो ।

Leave a Reply