भ्याट छलीको अभियोगमा विराटनगरका व्यापारी कारागार चलान

विराटनगर । कर छलीको अभियोगमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभ कुमार वियानी जेल चलान भएका छन् ।

विराटनगरको भट्टा चौकमा न्यु सौरभ ट्रेडिङ र वियानी एन्ड ब्रदर्स हार्डवेयर र मार्वल्सका सञ्चालक सौरभ माथि एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँ कर छली गरेको अभियोग लागेको छ ।

उनी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोपमा मोरङ कारागार चलान भएका हुन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले उनलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको प्रमुख कर अधिकृत भूपाल शाक्यले बताए ।

आन्तरिक राजस्व कार्यालयले असार १६ गते बियानको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको छ ।

आन्तरिक राजश्व कार्यालयले हार्डवेयर व्यवसायी वियानीले उक्त फर्मको नामबाट कारोबार गर्ने क्रममा कुल १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५६४ रुपैयाँ भ्याट छलेको भन्दै सोही रकम बराबरको हुन आउने रकम धरौटी बुझाउन आदेश दिएको थियो।

वियानीले धरौटी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय मोरङलाई पत्राचार गरेको थियो ।

वियानी र उनको फर्मले भ्याट छलिको बिषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो । अनुसन्धानका क्रममा सो फर्मले तीन आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/०८२ को चैतसम्मको अवधिमा सो बराबरको राजश्व छली गरेको पाइएको हो ।

बियानीले वस्तु नै बिक्री नगरी जारी गरिएको नक्कली विजकको मूल्यमा करिब ८६ करोड रुपैयाँको छली भएको छ । यस्तै झुटा तथा नक्कली कर विजक प्रयोग गरी २२ करोडभन्दा बढीको क्रेडिट दाबी गरिएको छ ।

दुवै छलीको बिगो र त्यसमा लाग्ने शतप्रतिशत जरिवाना जोडेर कूल १ अर्ब ३१ करोड ४६ लाख ९४ हजार ८६७ रुपैयाँ असुलउपर गर्न माग दाबी गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *