काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातुलाई गरगहना भन्दै देखाई ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-६, लिवु टोल बसोबास गर्ने ४९ वर्षीय दिलमाया मगरले सुनझैँ देखिने धातु प्रयोग गरी विभिन्न सुनचाँदी पसलमा गरगहना भन्दै ठगी गर्दै आएका थिए ।
उनलाई प्रहरीको टोलीले सोमबार काठमाडौँ महानगरपालिका-२९, बुढानीलकण्ठस्थित एक सुनचाँदी पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार मगरले पीडितलाई सुनजस्तो देखिने धातुका गरगहना देखाई विश्वास दिलाएर नगद ११ लाख रुपैयाँ ठगी गरेका थिए ।
उनीमाथि अनुसन्धान गर्दा उनले आफूलाई महिला प्रहरीको पोशाकमा देखाएर नक्कली प्रहरीको रूपमा व्यवसायीलाई डर धम्क्याउने कार्य पनि गरेको खुलेको छ । हाल उनलाई जिल्ला अदालत, काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनीसँग सुनजस्तो देखिने धातुबाट बनेको माइली तिलहरी २२ थान, छड्के तिलहरी- १६ थान, सुनचाँदी पसलका बिल १७ थान र विभिन्न कम्पनीका मोबाइल फोन २ थान नियन्त्रणमा लिइएको छ ।

Leave a Reply