लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, असार १ गतेदेखि रोकिएको बजेटमाथिको छलफल सुरु हुने

रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

असार १ मा आएको बजेटमा सत्तारूढ दलमै विरोध भएपछि अहिलेसम्म रोकिएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

कार्यसूचीअनुसार मन्त्री कार्कीबाट‘आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेश गरिनेछ । यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो ।

त्यसयता बजेट प्रस्तुत भएको १७ औं दिनमा बैठक बस्न लागेको हो । यसअघिको बैठक असार ७ गतेका लागि निर्धारण गरिएको भए पनि विविध कारणले स्थगित गरिएको थियो ।

बजेटमा असन्तुष्ट एमाले कांग्रेसबीच सहमतिपछि सदन बोलाइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *