‘निगमले विदेशमा नेपालको साख जोगाएको छ’

नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको आजबाट ६८ वर्षमा प्रवेश गरेको छ । आज उल्लासपूर्ण हिसाबले वार्षिकोत्सव मनाउँदै गर्दा यसले धेरै आरोह अवरोह पार गरेको छ ।

वि. सं. २०१५ असार १७ गते आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो र वायुसेवा निगम ऐन २०१९ बाट व्यवस्थित गरिएको थियो ।

नेपालको पर्यटन क्षेत्र र यसको बजारबाट विदेशी मुद्रा आर्जन, आन्तरिक रोजगारी, विदेशी प्रतिष्ठा मात्रै नभइ हाम्रो जस्तो समुद्री मार्गमा सिधा पहुँच नभएको साथै आन्तरिक रूपमा पहाडी मुलुकको लागि निगमले विशिष्ट योगदान पुर्‍याउँदै आइरहेको छ ।

आज पनि जसोतसो नेपालको तर्फबाट विश्वका ठूलाठूला हवाई जहाज कम्पनीसँग अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै आइरहेको छ । यसले नेपालको झन्डा फहराउँदै देशको पहिचानलाई विश्वसामु पुराउने अनौपचारिक दूतको रुपमासमेत काम गर्दै आइरहेको छ ।

नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाकालसँगै सहज अवस्थामा मात्रै होइन देश तथा विदेशमा खासखास असहज समयमा, राष्ट्र र नेपाली जनतालाई संकट परेको बेला यसको औचित्यता तथा अपरिहार्यता देखिँदै आइरहेको छ । यसको उदाहरणको रूपमा पटक पटकका नाकाबन्दी, भूकम्प, नेपालीहरूलाई विदेशमा संकट र अलपत्र पर्दा मात्रै होइन विषम परिस्थितिमा विदेशीहरूलाई पनि उनीहरूको देश पुर्‍याउने गरेको समेत इतिहास छ ।

इतिहास

साना जहाजले सेवा पुर्‍याउँदै आएको निगम २०२७ मा ट्विनअटर र २०२८ मा जेट विमान बोइङ ७२७ लाई सेवामा ल्याएको थियो कतिपय समयमा जहाज निर्माता कम्पनीहरूबाट अनुदानमा समेत जहाज पाएको इतिहास छ । कुनै समय निगमले धेरै जहाज बाट २२०० कर्मचारी लाई रोजगारी दिएर नेपाल कै ठूलो रोजगार दाता कम्पनीको रूपमा रहनुको साथै भियना, शाहजलाल, गोन्जावो, साङ्घाइ, फ्र्यान्कफर्ट, आम्स्ड्रम, सिङापुर, पाकिस्तान लगायत ठाउँहरू आफ्नो सेवा विस्तार गरेको थियो ।

समस्या

२०४८ पछि नेपालले खुला हवाई नीति लिएपछि निजी क्षेत्रलाई रातो कार्पेट डसाएर स्वागत गरियो तर निगमको हकमा भने प्रतिस्पर्धी बनाउन, समय सापेक्ष चलाउन कुनै नीतिहरू बनाइएन । राज्य निगममैत्री हुन सकेन, संरक्षण गर्न चाहेन, यसलाई राजनैतिक व्यक्तिहरूको निरन्तर कमाइको भाँडो बनाइयो, कर्मचारी भर्ती केन्द्र, राजनीतिक नियुक्तिको लागि आफू अनुकूल कठपुतलीहरू प्रयोग, विज्ञताको बेवास्ता गर्दै आइयो जुन आजका दिन सम्म गरिएकै छ ।

अन्य देशमा राष्ट्रिय ध्वजावाहकलाई उकास्नको लागि विभिन्न सेवाहरूमा एकाधिकार दिइन्छ, एयरपोर्टका आम्दानीहरूमा हिस्सेदारी, ह्याङरबाट हुने आम्दानी, ग्राउन्ड ह्यान्डिलिङबाट आउने आमदानीहरू, एयर साइडहरूमा प्रयोग हुने सामानहरूमा कर छुटलगायतका तर यहाँ भने ठिक यसको उल्टो गरिन्छ ।

विश्वका कम मात्रै एयरलाइन्सहरुले पाउने र नेपालमा जुन निगमले मात्र पाएको ग्राउन्ड ह्यान्डिलिङ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेट (आइसागो सर्टिफिकेट), राष्ट्रिय ध्वजावाहक, र निगमले नागरिक उड्डयन प्राधिकरण लाई तिरिरहेको महँगो शुल्कसमेतको अनदेखा र बेवास्ता गर्दै विभिन्न बहानामा निजी क्षेत्रलाई दिने प्रयत्न भैरन्छ, ग्राउन्ड ह्यान्डिलिङ नवीकरणको समयमा नेताका दैलो चाहर्न निगम कर्मचारीलाई बाध्य पारिन्छ, जहाज खरिदमा महँगो ऋण लिन बाध्य पारिन्छ ।

गौरव भित्रको बदनामी

सरकार, नियामक निकाय, सञ्चालक समिति, व्यवस्थापनका मान्छेहरू निगम सुधार गर्न भन्दा धमिजा कान्ड, चेज एयर कान्ड, चाइना साउथवेस्ट कान्ड, लाउडा कान्ड, साथै पछिल्ला समयमा घटिरहेका विभिन्न काण्डहरूमार्फत निगम दोहन मात्रै गरिएको छ ।

व्यवस्थापनका मान्छेहरू आफ्नो कुर्सी र आफ्नो पोजिसनमा मात्रै चिन्तित देखिन्छन्, काम कर्तव्य र अधिकारलाई पूर्णतः बेवास्ता, जबाफदेहिता शून्य हुनाले निगम दिनानुदिन खस्कँदो र सरकारले समयमा सही नियतका साथ उचित निर्णय नलिने हो भने निगम उठ्न नसक्ने अवस्थामा पुग्ने देखिन्छ ।

यदि सरकारले निगमलाई घाँडो होइन अवसरको रूपमा लिएर पछिल्लो समय दीपेन्द्र बहादुर क्षेत्री र रामेश्वर खनालले बुझाएका रिपोर्टहरूका सकारात्मक सुझावहरूलाई मात्रै कार्यान्वयन गर्दै नेपालमा भएको हवाई बजारको प्रचुर सम्भावनालाई ध्यान दिँदै सुधारका पाइला अगाडि बढाउने हो भने आफ्नै नाभिको कस्तुरी खोज्दै अन्यत्र भौँतारिनु पर्दैन ।

अब के गर्ने ?

प्रचुर सम्भावना रहेको यो हवाई क्षेत्रको बजार, सुन खानी, तेल खानी सरह प्रत्यक्ष विदेशी मुद्रा आर्जन गर्न सक्छ, आज कतार, टर्किस, क्याथेप्यसेफिक, कोरियन थाइ, मलेसियन एयरलाइन्स जस्ता ठूलाठूला विमान कम्पनीहरू र विभिन्न बजेट एयरलाइन्सहरूले नेपाली बजारबाट खरबौँ रकम लिएर जाने वातावरणको अन्त्य हुन्छ र त्यो रकम नेपालमै राख्न सकिन्छ, निगमको उत्थानले खस्कँदो पर्यटन उद्योगलाई महत्त्वपूर्ण सहयोग पुग्ने कुरा पर्यटन व्यवसायीहरूले समेत पटक पटक भन्दै आइरहेका छन् । पर्यटनबाट मुलुक को सवाङ्गिण विकास गर्न, धेरै लगानीको जरुरत पर्दैन पर्छ त केवल सरकारको इच्छा शक्ति र निगम प्रतिको सकारात्मक सोच ।

सरकार समस्याबाट भाग्ने होइन सुझाइएका समाधानका उपायहरूलाई समयमै कार्यान्वयन गर्ने तर्फ लाग्ने हो भने निगमको उन्नतिको लागि निगमका सम्पूर्ण इमानदार कर्मचारीहरूको साथ सहयोग रहने छ, सरकार जिम्मेवार बनोस् निगमलाई अवसरको रूपमा प्रयोग गरोस् !

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रनुपर्ने संस्था आन्तरिक र आफ्नैबाट निरन्तर असहयोग, सुधारको निम्ति बेमतलब, समय अनुसारका नीति नियममा फेरबदल नहुने, यस्तो विशिष्ट खालको संस्थालाई अन्य सार्वजनिक संस्था सरह हेर्दै यस्तै उच्छृङ्खल तवरले निगम चलाउँदै जाने हो भने संस्था इतिहासमा मात्रै सीमित हुनेछ र भोलि चाहेर पनि यो खालको पूर्वाधार बनाउन सरकार असमर्थ हुनेछ बेलैमा चेतना होस् ।

निगमको ६७ औ वार्षिकोत्सवको उपलक्ष्यमा राजनैतिक दल, सरकार, निगम सञ्चालक समिति, निगम व्यवस्थापन, कर्मचारीसहित सम्बन्धित सम्पूर्णमा ध्यान जाओस् भन्दै पुनः शुभकामना ।

जय वायुसेवा निगम !

(लेखक नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्ष  हुन्)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *