सबै दलको प्रतिष्ठा बन्दै रुपन्देही ३ को उपनिर्वाचन, आकांक्षीको लर्को लाग्दा उम्मेदवार छान्न सकस

रूपन्देही । निर्वाचन आयोगले कात्तिक १७ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने मिति घाेषणा गरेसँगै रूपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेको छ । प्रमुख राजनीतिक दलहरू उम्मेदवार चयन र गठबन्धनको सम्भावनासहित आन्तरिक तयारीमा जुटेका छन् । यो उपनिर्वाचन अहिले सबै दलहरूको लागि प्रतिष्ठाको विषयसमेत बन्न पुगेको छ ।

सबै दलले मिहिन तयारी गरिरहे पनि आकांक्षीहरूको लर्को भएकाले घातअन्तरघातको चिन्ता पनि उत्तिकै छ । नयाँ दल मुख्य दलहरूमा हुने आन्तरिक झगडाबाट फाइदा उठाउने दाउमा छ । यसअघि राप्रपालाई ठाउँ खाली गरेका एमाले र कांग्रेस यस पटक आफ्नै उम्मेदवारलाई अघि सार्ने रणनीतिमा लागेका छन् ।

तराई-मधेश केन्द्रित दलहरू सामूहिक मोर्चा बनाएर जाने तयारीमा पुगिसकेका छन्, तर उनीहरूबीच एकले अर्कोलाई स्वीकार गर्न नसक्ने स्थिति भएकाले एकल उम्मेदवार बन्ने सम्भावना क्षिण छ ।

निर्वाचन आयोगले अहिले यहाँ मतदाताको अन्तिम नामावालीको तयारी गरेको छ । निर्वाचनको मिति तय भएपछि छुटेका मतदाता थप गर्न नसकिने भन्दै सूचना जारी गरेपछि अहिले सबै दलले आन्तरिक रूपमा सबै वडा र टोलमा पुगेर आआफ्नो पक्षका मतदाताहरूलाई सचेत गराइरहेका छन् । सबै दलका वडास्तर, पालिकास्तर र क्षेत्रीयस्तरका बैठक, छलफल निर्वाचन केन्द्रित भएर अघि बढिरहेको ती दलहरूले जनाएका छन् ।

२०७९ सालको निर्वाचनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी भएका थिए, तर २०८१ चैत १९ मा बोहोराको निधन भएपछि यो क्षेत्र प्रतिनिधिविहीन छ ।

दौडधुपमा उम्मेदवार बन्नेहरूः कांग्रेसमा खाँण अगाडि, एमालेमा भट्टराई

सत्तारुढ नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न आन्तरिक र बाह्य दुवै समीकरणमा तयारी थालेको छ । कांग्रेसभित्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम पहिलो प्राथमिकतामा रहे पनि भुटानी शरणार्थी प्रकरणको मुद्दाले अन्य विकल्पको पनि चर्चा भइरहेको छ ।

खाँणको विकल्पमा प्रमोद यादव, भरत शाह, अनिता शाह, रामचन्द्र ढकालको नाम अगाडि आएको छ । प्रमोद यादव २०७९ को निर्वाचनमा क्षेत्र नं. ४ बाट पराजित भएका थिए । भरत शाह क्षेत्र नं. ५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित उम्मेदवार हुन् ।

पार्टीभित्र कांग्रेस-एमालेको सहकार्यबारे पनि आन्तरिक तहमा छलफल भइरहेको विभिन्न स्रोतले बताएको छ । नेता बालकृष्ण खाँणलाई उम्मेदवार बनाएर एमालेले पनि साथ दिनेगरी सहकार्यको प्रस्ताव अघि बढेको एमाले र कांग्रेसकै नेताहरूले आंकलन गरेका छन्, तर यसो भएमा एमालेबाटै विद्रोह हुनसक्ने भएकाले एमालेबाट कमजोर उम्मेदवार उठाएर कांग्रेसलाई साथ दिनसक्ने गरी पनि छलफल भएको छ । छलफलको केही निचोड नआएको कांग्रेस-एमाले नेताहरू बताउँछन् ।

कांग्रेस नेता खाँण आफ्नो मुद्दाको टुंगो नलागे पनि एमालेको साथमा यहाँबाट अगाडि बढ्ने योजनामा छन् । उनी केही महिनायता यस क्षेत्रका अधिकांश स्थानमा विभिन्न कार्यक्रममा पुगेका छन् । कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले अहिलेसम्म उम्मेदवारको विषयमा छलफल नभए पनि आन्तरिक तयारीका सबै काम गरिएको बताए ।

खाँण निकट नेता गुरुङले पार्टीको क्षेत्रीय कमिटीले नै उम्मेदवार टुंग्याउने विधि भएकाले आकांक्षीबीच मिति तय भएपछि मात्रै छलफल हुने जानकारी दिए ।

उनले एमालेको साथमा कांग्रेस नेता खाँण अघि बढ्ने तयारीबारे आफूलाई जानकारी नभएको, तर सत्ता सहकार्यमा सँगै भएकाले त्यो प्रस्ताव अघि बढ्नसक्ने जनाए । उनका अनुसार नेता खाँणले आफैंले भने उम्मेदवार बन्ने चाहना व्यक्त गरेका छैनन् ।

नेकपा एमालेबाट पूर्वसांसद खिमलाल भट्टराई प्रमुख दावेदारको रूपमा अगाडि देखिएका छन् । केही दिनअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको फोटा उनी आफैंले सार्वजनिक गर्दै महत्वपूर्ण कुराकानी भनेर लेखेपछि अधिकांशले उम्मेदवार टुंगो लागेको आंकलन गरेका छन् ।

भट्टराई राष्ट्रियसभाबाट राजीनामा दिएर २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए, तर अन्तिम समयमा उनको उम्मेदवारीले कानूनी वैधता पाएन । रूपन्देही ५ मा एमालेबाटै वासुदेव घिमिरेले फराकिलो मतान्तरले निर्वाचन जिते ।

केपी ओलीलाई भेटेको फोटो सार्वजनिक गरेलगत्तै उनी रूपन्देहीमा आएर पार्टीको काममा खटिएका छन् । भट्टराईले आकांक्षीको सूचीमा रहेका नेताहरू पनि भेटेका छन् । त्यस्तै क्षेत्रीय कमिटी बैठक बसालेर आन्तरिक तयारीका विषयमा छलफल गराएका छन्, तर उनले उम्मेदवारको कुनै टुंगो नलागेको नेपाल प्रेसलाई बताए ।

‘अध्यक्ष कमरेडसँग भेट भएर म जिल्ला फर्केको सत्य हो, उहाँले जसरी पनि एमालेले जित्नेगरी तयारी गर्नुहोस् भनेर भन्नुभएको हो, उम्मेदवार टुंग्याउने पार्टीको विधिअनुसार निर्वाचन आयोगले मिति तय गरेपछि हुन्छ नै, यो निर्वाचन एमालेले जित्नेगरी हामीले तयारी गरेका छौं, कसैसँग गठबन्धन गर्ने, छाड्ने भन्ने अनावश्यक हल्ला हुन्’, उनले भने ।

भट्टराईबाहेक केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, पोलिटव्युरो सदस्य दधिराम न्यौपाने, सिनपाका पूर्वमेयर हरि अधिकारीको नाम पनि चर्चामा छ । नेता भट्टराईलाई पार्टीले उम्मेदवार बनाएको सामाजिक सञ्जालमा भाइरल भएपछि नेता पोखरेल पनि काठमाडौं गएका छन् । उनले आफू पनि काठमाडौं भएको, तर फोटो सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेका अनुसार पार्टीले एकल रूपमा चुनाव लड्ने र जित्ने उम्मेदवार अघि सार्ने तयारीमा छ । पार्टीले क्षेत्रीय कमिटीको बैठक गरेर आन्तरिक तयारी र मतदाताको नामावली अपडेट गर्ने काम गरिरहेको नेता अनुप बरालले जानकारी दिए ।

रास्वपामा सागर ढकालको चर्चा

नयाँ शक्तिका रूपमा चर्चामा रहेको रास्वपाले यस क्षेत्रमा आफ्नो उम्मेदवार विजयी बनाएर २०८४ को आधार बनाउने गरी तयारी गरेको छ । रूपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग भेट्ने अधिकांश नेताहरूले पनि यही सन्देश पाइरहेको बताएका छन् । रास्वपाबाट अहिलेसम्म उम्मेदवार हुने व्यक्तिहरू खुलेर सार्वजनिक भएका छैनन् ।

पार्टी निर्णयविपरीत नाम सार्वजनिक गरे, त्यसलाई अगाडि सार्न नहुने आन्तरिक रणनीति भएकाले पनि धेरै आकांक्षीहरूले बोलेका छैनन् । पार्टीले जसरी पनि नतिजा निकाल्नेगरी तयारी गरिरहेको यो क्षेत्रमा आएका नेताहरूले बताएका छन् । लामिछानेलाई भेट्ने र यो क्षेत्रमा प्रभाव मापन गर्ने उद्देश्यले धेरै नेताहरू यहाँ आएका छन् ।

रास्वपामा सबै मतको कभर गर्ने र स्वतन्त्र मत पनि ल्याउनेगरी इन्जिनियर सागर ढकाललाई अघि सार्नुपर्ने एकथरीको मत छ, तर यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग उठेर चर्चामा आएका ढकाल घन्टी चुनाव लिएर उठ्छन् वा उठ्दैनन् टुंगो भने छैन । उनी केही समयअघि यस क्षेत्रको सूक्ष्म अध्ययन गरेर फर्किएका छन् । त्यसबेला ढकालले रास्वपा सभापति लामिछानेलाई पनि भेटेका थिए ।

रास्वपाभित्रै पनि आकांक्षीहरूको सूची लामो छ । २०७९ सालमा पराजित उम्मेदवार जेपी गुप्ता अहिले पनि आकांक्षी छन् । पार्टी सभापति रवि लामिछानेको प्रभाव रहेको भैरहवा क्षेत्रअन्तर्गत पर्ने भएकाले रास्वपाले सशक्त उम्मेदवार उतार्नसक्ने सम्भावना छ, तर पार्टीका जिल्ला अध्यक्ष बुद्धि शर्माले हालसम्म उम्मेदवारबारे औपचारिक छलफल नभएको बताए ।

क्षेत्रीय सभापति मधु अर्यालले उम्मेदवार छनोटको विधि तय भएकाले अहिले कोही पनि आकांक्षी नभएको र पार्टीले त्यही विधिमा नतिजा ल्याउने उम्मेदवार अघि बढाउने जानकारी दिए ।

रक्षात्मक अवस्थामा राप्रपा

दीपक बोहोराको निधनपछि रिक्त क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहोराका दुई छोरा गौरव र प्रज्ज्वल तथा नातिनी एवं पार्टी केन्द्रीय सदस्य स्वाती थापामध्ये एकलाई अगाडि सार्ने तयारीमा छ । कान्छा छोरा प्रज्ज्वलले हाल क्षेत्रमै खटिएर सक्रियता बढाएका छन् ।

पार्टी पंक्ति जेठा छोरा गौरवलाई स्वतन्त्र उम्मेदवार बनाएर साना दलको समर्थन जुटाउने प्रयासमा रहेको पनि बुझिएको छ । नातिनी स्वाती दीपक बोहोराको निर्वाचनको समयमा मुख्य कमान्डर भएर जिम्मेवारी सम्हालेको र सबै अनुभव भएकाले पनि उनलाई अगाडि सानुपर्ने दबाबमा राप्रपा छ ।

के गर्छन् माओवादी केन्द्र र एकीकृत समाजवादी ?

नेकपा माओवादी केन्द्रबाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । नेकपा एकीकृत समाजवादीमा भने पार्टी महासचिव घनश्याम भुसाललाई उम्मेदवार बनाइने चर्चा छ । भुसाल उम्मेदवार बने माओवादी केन्द्रले समर्थन गर्नसक्ने अनुमान गरिएको छ ।

भुसालले २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका थिए, तर २०७९ मा क्षेत्र नं. १ मा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

साझा उम्मेदवारको खोजीमा मधेशवादी दलहरू

मधेशवादी दलहरूमा जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टी साझा उम्मेदवार बनाउने तयारीमा छन् । यी दलहरूले काठमाडौंमा बैठक गरी साझा उम्मेदवार तय गर्ने सैद्धान्तिक सहमति गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नेतृत्वमा साझा उम्मेदवारका लागि आग्रह गरिएको छ ।

यस्तो छ २०७९ को समानुपातिक मत

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ मत पाएको छ ।

प्रत्यक्षमा जीत हात पारेको राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।

स्थानीय तहको को कति बलियो ?

उत्तर दक्षिण चिरा परेको रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्, जुन निर्वाचन आयोगद्वारा अद्यावधिक प्रक्रियाअन्तर्गत छ । यस क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका समेटिएका छन् । त्यस्तै शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा ७ र ८, ओमसतिया गाउँपालिकाको वडा २, सियारी गाउँपालिकाको वडा १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिकाको वडा १३, १४ पनि यसै क्षेत्रमा पर्छन् ।

स्थानीय तहको नतिजाअनुसार यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेस–माओवादी गठबन्धनले ६ पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको थियो । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ पालिकामा उपप्रमुख जितेको छ ।

यस्ताे छ विगतकाे परिणाम

यस क्षेत्रको चुनावी इतिहास रोचक छ । २०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ २०५१ मा एमालेका धनपति उपाध्यायले निर्वाचित भएका थिए । उपाध्यायको निधनपछि २०५२ मा उपचुनाव हुँदा एमालेकै घनश्याम भुसालले जितेका थिए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जित हासिल गरे ।

२०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि कांग्रेसबाट बालकृष्ण खाँण निर्वाचित भए । २०७० सालमा दीपक बोहोरा राप्रपाबाट विजयी भए । २०७४ मा घनश्याम भुसाल एमालेबाट जित्दा बोहरा दोस्रो भए । २०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भए ।

२०७४ सालमा नेपाली कांग्रेसले राप्रपाका नेता दीपक बोहरालाई समर्थन गरेर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो, तर एमालेबाट घनश्याम भुसालले माओवादीको साथमा ३२ हजार ८६६ मत ल्याएर चुनाव जिते । बोहरा २७ हजार ४२२ मतमै रोकिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *