जकपुरधाम । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा आइतवार उपचारका क्रममा एक बालकको निधन भएपछि आफन्तजन आन्दोलित छन् । बालकको उपचारमा लापरबाही गरिएको उनीहरुको आरोप छ ।
आइतवार दिउँसो अस्पतालमा उपचाररत सिरहा नगरपालिका ६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको मृत्यू भएको थियो । उनी विहान अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परिक्षणका क्रममा बालकको शरीरमा रगतको मात्रा न्यून भएको पाइएको थियो ।
यसैबीच, बालकको चेक जाँच कुन डाक्टरले गरेका थिए भन्नेमै अन्योल देखिएको छ । राजन अस्पताल भर्ना भएको इमरजेन्सी टिकटमा डा. सुदेशकुमार यादवको नाम छ । तर उनको उपचार डा. सुदेशले नगरेको बुझिएको छ । उनले अस्पतालमा बालकको उपचार भएको बेला आफू अनुपस्थित रहेको बताएका छन् ।
उनले नेपाल प्रेससँग भने, ‘अस्पतालमा ड्यूटी मेरै थियो । तर म तालिमका लागि बाहिर गएको थिएँ । ड्यूटीको आधारमा इमरजेन्सी टिकटमा मेरो नाम राखेको हुनसक्छ ।’
अस्पताललाई जानकारी गराएर तालिममा गएको उनको भनाइ छ ।
अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादवका अनुसार बालकको चेकजाँच डा. नितिश कर्णले गरेको जानकारी दिए । उनले भने, ‘डा. सुदेश बाहिर तालिममा गएका थिए । उनको नाम राखेर पूर्जा काटेको हुनसक्छ ।’
एउटा डाक्टरको नाममा अर्कोले चेकजाँच गरेर औषधी लेख्न मिल्छ ? भन्ने जिज्ञासामा अध्यक्ष यादव भने, ‘उपचार गरेका डा. नितिशले पूर्जा (प्रेस्किप्सन) मा आफ्नो नाम लेखेको होला ।’
अध्यक्षको दावी अनुसार उपचार गरेका डा. नितिशको नाम भने पूर्जामा कतै उल्लेख छैन् । पूर्जाको तल्लो भागमा हस्ताक्षर कस्को हो भन्ने खुल्दैन ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले मृतक बालकको इमरजेन्सी टिकटमा उल्लेख गरिएका डा. सुदेश अनुपस्थित रहेको विषयमा उजुरी परेपछि अनुसन्धान थालिने बताए ।
उनले भने, ‘पूर्जामा कुन डाक्टरको नाम छ ? उपचार कसले गरे ? भन्ने कुरा थाहा भएन । तर उजुरी परेपछि अनुसन्धान हुन्छ ।’
मृतक बालकको शव भने पोष्टमार्टम घरमै अलपत्र परेको छ । पीडित पक्षले लापरबाही गर्ने डाक्टरलाई कारबाही, अस्पतालको सेवामा सुधार गर्नुपर्ने र मृतक बालकका परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने माग राखेका छन् । डिएसपी पासवानले मृतकका परिवारले जाहेरी नदिएकाले पोष्टमार्टम नभएको जानकारी दिए ।
वडाध्यक्ष गोइतसहित ७ जना प्रहरी नियन्त्रणमा
उपचारको क्रममा बालकको मृत्यू भएपछि उनका परिवार, आफन्त र गाउँले अस्पतालमा तोडफोडको प्रयास गरेको थियो । सो क्रममा सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजीत गोइतसहित ७ जनालाई प्रहरीले आईतवार साँझ नै नियन्त्रणमा लियो । अहिलेसम्म उनीहरु प्रहरी हिरासतमै छन् ।
प्रहरी प्रवक्ता डिएसपी पासवानले अस्पताल प्रशासन र पीडित पक्षबीच आपसी सहमति बनेपछि मात्र पक्राउ परेकाहरुलाई छाड्ने बताए । उनले भने, ‘आज साँझसम्म सहमती भएन भने सम्भवतः मुद्दा चल्छ । कुन मुद्दा चलाउने कुरा पछि जानकारी गराउँछौं ।’

Leave a Reply