‘नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार जरुरी’

काठमाडौं। मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र सुरक्षित तुल्याउन संस्थागत संरचना सुधारेर सेवालाई चुस्त बनाइनुपर्नेमा विज्ञ एवं सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले हालको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन भन्दा पनि संस्थागत सुधारको खाँचो औंल्याए ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा नेपाल सरकारका पूर्वसचिव किशोर थापाले क्यानको संरचनागत सुधार गरेर जानुपर्ने खाँचो औंल्याए । फ्रान्सलगायत विश्वका अन्य मुलुकमा पनि ‘अथ्योरिटी बडी‘ एउटै रहेको उदाहरण प्रस्तुत गर्दै नेपालको सन्दर्भमा दुई अलग निकाय बनाउन जरुरी नरहेको बताए ।

पूर्वसचिव थापाले भने, “अलग–अलग दुईवटा प्राधिकरण गठन नगरौँ । हालको प्राधिकरणलाई अझ व्यवस्थित गरौँ । पर्यटन मन्त्रालयको महाशाखालाई बलियो बनाऔँ । हवाई विभागको संरचना बनाएर अगाडि बढ्न सकिन्छ, त्यसैले हतारमा विधेयक पारित गराउनेतर्फ नलागौँ ।”

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा गैरसैनिक हवाई उडान ऐन, २०१५ को प्राबधान केही पनि उल्लेख नगरेर त्रुटी गरेको उनले दाबी गरे। क्यानका पूर्वमहानिर्देशक रतिश चन्द्रलाल सुमनले अलग–अलग निकाय बनाउँदैमा हवाई सुरक्षाप्रणालीमा सुधार आउन नसक्ने जिकिर गरे ।

उनले क्यान सेवाप्रदायकमा बढी केन्द्रित भएको र नियामकीय काममा ध्यान नदिएकाले हवाई सुरक्षाअभिवृद्धि हुन नसकेको उल्लेख गरे । “सुरक्षामा जति  बजेट हुनुपर्ने हो त्यो छैन । विमानस्थल सेवामा नाफामात्रै हेरेर हुँदैन हवाई सुरक्षामा पनि लगानी बढाउनुपर्छ ।”

विस २०८१ माघ १९ गते प्रतिनिधिसभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता भएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समितिका सदस्यहरुले हवाई सुरक्षालाई राम्रो बनाउन के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भनेर विज्ञहरुसँग जिज्ञाशा राखेका थिए ।

समितिका सभापति राजकिशोर यादवले मुलुकको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन के कस्ता उपायहरु अपनाउन सकिन्छ र प्रतावित नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा समेट्नुपर्ने विषयबारे विज्ञहरुबाट रायसुझावका लागि बैठकमा छलफल गरिएको जानकारी दिए।

समितिले हवाई सेवा प्राधिकरण विधेयकमाथि विज्ञहरुबाट सुझाव लिएको हो । विज्ञहरुले विधेयकका प्राबधान र समेट्नुपर्ने विषयमा समितिलाई प्रस्तुतिकरण दिएका थिए ।

Comments

One response to “‘नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार जरुरी’”

  1. ksp pyl Avatar
    ksp pyl

    क्यानको विभाजन मूलत: युरोपियन युनियनले कालो सूचीमा राखेको कारण गर्नुपरेको हो । युरोपियन युनियनले कुरा त हवाई सुरक्षाको गरेको जस्तो देखिन्छ तर त्यसमा खाडी राष्ट्र, विशेषत: कतार र दुबई, ले युनियनलाई प्रभावित पारेर गराएको निर्णय हो कि ? नभए जे सुधार गर्दा पनि हुँदैन भन्छ । नेपालबाट सिधै यूरोप उडान गर्न पाए अहिलेजस्तो खाडीका कतार, दुबई, टर्कीमा ट्रान्जिट गर्नु पर्दैन । यसबाट खाडीका एयरलाईन्सको ठूलो बजार प्रभावित हुन्छ । कतिपय मामिलामा खाडी मुलुकले युरोपियन युनियनका पदाधिकारीहरूलाई घुस खुवाएर काम लिएका उदाहरण पनि छन् । कतारमा हुने विश्वकप फुटवलको लागि रंगशाला निर्माण गर्दा उठेको श्रमसम्बन्धी विवादमा कुनै निर्णय नगर्न भनेर युरोपियन संसदका सदस्यहरूलाई कतारले ठूलो रकम घुस दिएको कुरा निकै चर्चामा आएको थियो । यसमा छानबिन पनि भयो । कतिपय कारवाहीमा समेत परे । कतै यो पनि त्यस्तै त होईन ? सोच्ने बेला छ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *