‘रैथाने बाली भनेका त्यस्ता बालीहरू हुन् जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पत्ति भई परापूर्वकालदेखि खेती हुँदै आएका छन् । त्यस्ता रैथाने बालीहरूमा धेरैभन्दा धेरै जातीय तथा आनुवंशिक विविधता पाइन्छ । रैथाने बाली र तिनका जातहरूमा स्थान विशेष गुणहरू पनि विकास भएका हुन्छन् । साथै रैथाने बालीहरूले त्यस क्षेत्रको धर्म-संस्कृति, सामाजिक रहनसहन तथा खाद्य प्रणालीमा विशेष महत्व राख्छन् । जस्तैः कोदोजन्य बालीहरू (चिनो, कागुनो, कोदो, सामा, जुनेलो आदि), फापर, जौ, उवा, लट्टे, धान, सिमी इत्यादि नेपालका रैथाने बालीहरूभित्र पर्छन् (जोशी बालकृष्ण, २०२३) ।
आधुनिकताका नाममा अल्छी र रोगी बन्दै
अहिलेका पुस्ताहरूलाई ‘कोदोको ढिंडो’, ‘फापरको रोटी’, ‘उवाको खाजा’ केवल पुराना पुस्ताले सुनाउने कथा जस्तै लाग्नसक्छ, तर यही परम्परागत बालीका स्वादले ग्रामीण नेपालको भोक मेटाउनेमात्र होइन, आजको पोषण संकट, कुपोषण, गैरसञ्चारी रोग र खाद्य परनिर्भरताको जटिल समस्याबाट मुक्त गर्ने मूल आधार बन्नसक्छ ।
दुर्भाग्य, आधुनिकता र बजारमुखी सोचको नाममा यी बालीहरू क्रमशः लोप हुँदै गएका छन् । आधुनिकताका नाममा रोग निम्त्याउने काम भइरहेको छ । नसर्ने रोगहरूको फैलावट भइरहेको पनि यस्तै कारणले हो ।
नेपालको कृषि प्रणाली विविध जैविक सम्पदाले भरिएको छ । कोदो, फापर, चिनु, मडुवा, कागुनो, नपल, तरुल, सखरखण्ड, भट्ट, पिडालुलगायतका बालीहरू न केवल पोषण र औषधीय गुणमा भरिपूर्ण छन्, बरु तिनले जलवायु अनुकूलता, माटो संरक्षण, स्थानीय रोजगार र संस्कृतिकै संरक्षणमा पनि महत्वपूर्ण योगदान गरेका छन् । यस्ता बहुआयामिक महत्व बोकेका बालीहरू लोप हुनु राष्ट्रकै लागि खतराको संकेत हो ।
लामो समयदेखि व्यावसायिक कृषिमा संलग्न अग्रज पत्रकार एवं देवदहका किसान तिलोचन दाहाल भन्छन्- ‘धेरै फलाउने नाममा मौलिक बीउबिजन मासेर हाइब्रिड बीउको प्रयोग गर्न थालेदेखि माटोको उर्वरा शक्तिसमेत कमजोर भइरहेको छ । औषधीय गुण भएका कैयौं बालीबारे विदेशीले बरु सोधीखोजी गरेर उतै लैजालान्, तर हामीमा चेत पलाएको छैन ।’
आज हामी जुनसुकै पहाड चढेर पुग्दा पनि फापरको फूल फुलेको देख्न मुस्किल भएको छ । कोदोका बाला झुलेका बारी हराउँदै छन् । कोदो र फापर जस्ता बाली उत्पादनमा आएको गिरावटमात्र नभई, बीउबिजनको संरक्षण र विस्तारको अभावले यसको भविष्य अन्योलमा परेको छ । राज्यका तीनवटै तहका सरकार र सम्बद्ध निकायहरू अहिले पनि मौन छन् ।
योजना बन्छन्, कागजमै थन्किन्छन्
कृषिलाई समृद्धिको आधार तय गर्दै राष्ट्रिय उत्पादन बढाउने र युवालाई कृषिमा आकर्षण गर्नेगरी लुम्बिनी प्रदेशको पहिलो सरकार (शंकर पोखरेल नेतृत्वको) ले केही कार्यक्रम ल्याएको थियो । त्यसयता कति सरकार फेरिए, योजना र कार्यक्रम कागजमा होला फिल्डमा जहाँको तहीँ छ । उपकरण र अनुदानका नाममा बजेट खर्च भएको भई होला, परिणाममा आयात बढिरहेको नतिजा छ ।
रैथाने बालीहरूको वैज्ञानिक रूपमा पुष्टि भएका औषधीय गुणहरूले तिनको संरक्षण अनिवार्य बनाउँछ । उदाहरणका लागि कोदोमा पाइने फलामले रक्तअल्पता घटाउँछ, क्याल्सियमले हाड बलियो बनाउँछ र फाइबरले पाचन प्रणाली स्वस्थ राख्छ’- सुपर फूडका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका ओम बानियाँ भन्छन्- ‘नेपालीले आफ्नैमा रहेका सुपर फूडलाई चिन्नै सकेनन् ।’
फापरमा सजिलै पच्ने प्रोटिन, भिटामिन ‘बी’, एन्टीअक्सिडेन्ट र फलाम भरपुर पाइन्छ, जसले उच्च रक्तचाप, मधुमेह, मुटु र आन्द्रासम्बन्धी रोग नियन्त्रणमा उल्लेखनीय भूमिका खेल्ने विज्ञहरूको भनाइ छ । ‘यी गुणहरूलाई विश्वले चिन्न थालिसकेको छ, तर हामी भने ‘गरीबका परिकार’ भनेर टारेका छौं’- बानियाँको दुखेसो छ ।
रैथाने बालीको अनाज उद्यम
आजको सन्दर्भमा यी बालीहरू केवल खेतमै फुल्नुपर्ने होइनन्, हाम्रो भान्सामा, हाम्रो रेस्टुरेन्टमा, हाम्रो बजारमा आधुनिक, आकर्षक र पोषणयुक्त परिकारको रूपमा स्थापित हुनु आवश्यक छ । ‘पहाडी’ नामको उत्पादनलाई बजारमा ल्याएका यस क्षेत्रका प्रतिष्ठित अनाज उद्यमी तुलसी घिमिरे नेपाली परम्परागत बालीको औषधीय गुणबारे विदेशमा पनि चर्चा हुने गरेको बताउँछन् ।
उनले आफूहरूले भएभरका स्वदेशी उत्पादन संकलन गरेर पनि पर्याप्त कच्चापदार्थ पुग्न नसकेको बताए । ‘पहाडी’ नामका ब्रान्डमा कोदो, फापर, जुनेला, जौ, आलस, सिलाम, भटमासदेखि कैयौं स्वदेशी उत्पादनको प्रयोग हुँदै आएको छ । उद्योगका लागि स्वदेशी कच्चापदार्थ नै प्राथमिकतामा भए पनि त्यो पर्याप्त नभएको घिमिरेको गुनासो छ । उद्योगका उत्पादनहरू अहिले विदेशमा पनि निर्यात भइरहेका छन् ।
शहरी क्षेत्रमा पनि कोदो, फापरलगायतका अग्र्यानिक रैथाने बालीप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो प्रवृत्तिलाई अवसरमा रूपान्तरण गर्न, बजार व्यवस्थापनदेखि परिकार विविधीकरण र व्यावसायीकरणसम्म राज्य र निजी क्षेत्रको सहकार्य अनिवार्य छ । घरेलु उद्योग, महिला समूह, कृषि सहकारी, युवा उद्यमीलाई लक्षित तालिम, उपकरण र बजार प्रोत्साहन दिइनु आवश्यक छ ।
तालिम पाएका युवाले यस्ता बालीको खेती गर्नेदेखि कच्चापदार्थबाट जस्तैः कोदोबाट मोमो, पीठो, बिस्कुट, हलुवा, लड्डु उत्पादन गर्न सकिन्छ । फापरबाट केक, रोटी, सुप, दलिया र एनर्जी बार बनाउन सकिन्छ । यी परिकार स्वदेशी र शुद्धमात्र होइनन्, ग्लुटेन फ्री, डाइट फूडका रूपमा अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय बन्न सक्छन् ।
यससँगै बेरोजगार युवालाई ‘खेतीपाती फाइदाको छैन’ भन्ने सन्देश दिइरहनु व्यर्थ हुनेछ । बरु कृषि जनशक्तिका रूपमा युवालाई आबद्ध गराउने हो भने तिनलाई सेना/प्रहरी जस्तै सेवा र सुरक्षाको प्रत्याभूति दिँदै गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । गाउँगाउँमा होमस्टे चलिरहेका छन् । यदि त्यहाँ स्थानीय बालीका परिकारलाई विशेष बनाइयो भने आन्तरिक पर्यटनको बजारलाई समेत मजबुत बनाउन सकिन्छ ।
त्यतिमात्र होइन, आज नेपालमा चामलको आयात, विदेशी खाद्य र मासुजन्य परिकारको हाबीपनले परनिर्भरता बढ्दो छ । तारे होटल, क्याफे र रेस्टुरेन्टहरूले बाहिरबाट आयात गरी स्वास्थ्यहीन, रसायन मिसिएका परिकार सर्भ गरिरहेका छन् । के हामी आफ्नै मौलिक र पोषणयुक्त परिकार पेश गर्न सक्दैनौं ? कोदो, फापर, सखरखण्ड जस्ता बालीको उत्पादन बढाएर देशको स्वाभिमान बनाउने योजना किन बनाइँदैन ?
उच्च हिमाली र दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि वार्षिक अर्बौंको चामल ढुवानी गरिन्छ । सस्तो चाउचाउ, बिस्कुट, बोटलको फूडभन्दा पौष्टिक र स्थानीय स्वाद भएको कोदो-फापरको रोटी, पिडालु, सखरखण्ड स्वास्थका दृष्टिले, पर्यावरणका दृष्टिले मात्रै होइन, आर्थिक दृष्टिले समेत उपयुक्त छन् । यी बालीलाई पुनःस्थापित गर्न कृषि मजदुर परिचालन, बीउ संरक्षण, भू-उपयोग नीति संशोधन र मूल्य प्रोत्साहन जस्ता ठोस कदम चालिनु आवश्यक छ ।
त्यसैले, ‘भात नै खाना हो’ भन्ने सामाजिक सोचको अन्त्य गर्दै ‘स्वदेशी बाली नै आत्मनिर्भरता र समृद्धिको जरो हो’ भन्ने राष्ट्रिय अभियान चलाउनु आजको आवश्यकता हो । सरकारी योजनाले लोपोन्मुख परम्परागत बालीहरूलाई संरक्षणको नाममा संग्रहालयमा सीमित नराखी, उत्पादन, प्रविधि, परिकार र बजारसम्मको सम्पूर्ण मूल्य श्रृंखला विकास गर्नुपर्छ ।
कर्णालीका उत्पादनको ब्रान्डिङ
कर्णालीका स्याउ, सिमी, उवा, चिनो, आलु, ओखर जस्ता उत्पादनको भने पछिल्लो समयमा ब्रान्डिङ भइरहेको छ । सरकारको गुणस्तर मापदण्डअनुसार खाद्यान्न संकलन गरी सोको प्याकेजिङ, लेबलिङ तथा कर्णाली प्रदेशको मूल्यवान लोगोसमेत उल्लेख गरी ब्रान्डिङ गर्ने काम सुरु भएको छ । ती सामानहरू अहिले सहरबजारमा पठाउन थालिएको छ ।
त्यस्ता सामग्री संकलन गरेर बिक्री वितरण गर्न कम्पनी नै बनेको रहेछ । त्यस कम्पनीने गत आवमा प्रदेश सरकारसँग सहमति गरेर कोदो आठ हजार ६६०, कागुनो ३३८, चिनो ६८७, जुनेलो दुई, फापर ७६२, उवा ६१९, सिमी चार हजार ४७० र मार्सी धान तीन हजार ८८६ गरी कुल जम्मा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गरेको थियो । कम्पनीले दुर्गम तथा सुगम जिल्लामा सुपथ मूल्यमा खाद्यान्न वितरणसमेत गरेको थियो ।
के गरिरहेछ राष्ट्रिय खाद्य बैंक ?
नेपालमा बढ्दो खाद्य संकट, जलवायु परिवर्तन र विदेशी खाद्यान्नमा निर्भरता बढेसँगै करिब पाँच वर्षअघि खाद्यान्न संकट कम गर्ने र लोपोन्मुख बालीको संरक्षण गर्ने भन्दै राष्ट्रिय खाद्य बैंकको अवधारणा ल्याइएको थियो । यो बैंकले परम्परागत रैथाने बालीको बीउ संकलन, संरक्षण, पुनरुत्पादन, ब्रान्डिङ, बजारीकरण र भण्डारणसम्मको काम गर्ने हो ।
लोपोन्मुख रैथाने बालीको संरक्षण र पुनर्जागरण, कृषकद्वारा उत्पादन गरिएका वस्तुको न्यूनतम मूल्य सुनिश्चित गर्दै खरिद र बजारीकरण, स्वदेशी खाद्यान्नको प्रवर्द्धन गरी आयात प्रतिस्थापन, पोषणयुक्त अन्न उत्पादन र वितरण, फाइबरयुक्त र औषधीय गुण भएका बालीहरू दैनिक आहारमा पुनःस्थापना गर्ने उद्देश्य लिएको बैंकले अहिले के गरिरहेको छ ? के छ प्रतिवेदन ?
कोदो र फापर जस्ता बालीहरू केवल अन्न होइनन्, यी हाम्रा पहिचान, स्वास्थ्य, रोजगारी, संस्कृति र स्वाभिमानका स्रोत पनि हुन् । यिनको संरक्षण आजको आवश्यकतामात्र होइन, समृद्ध र निरोगी नेपालको बलियो पूर्वशर्त पनि हो । यो चेतना आजै नजागे, भोलि हामीसँग न बीउ बाँकी रहनेछ, न त परिकार । त्यसैले अहिले नै, यहाँबाटै रैथाने बालीको पुनर्जागरण सुरु होस् । राष्ट्रिय धान दिवसको शुभकामना !

Leave a Reply