आज प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिले एउटै मञ्चबाट सम्बोधन गर्दै, एमाले नेतृत्व समीकरणमा ‘सांकेतिक सन्देश’ तयार हुँदै

काठमाडौं । मदन भण्डारी जयन्तीकाे अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटै मञ्चबाट सम्बाेधन गर्दैछन् ।

आज ७४ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रमको ओली र भण्डारीले सम्बाेधन गर्न लागेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्रीतथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ ।  ओली र भण्डारीले गर्ने सम्बोधन राष्ट्रव्यापी चासोको विषय बनेको छ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा पूर्व राष्ट्रपति भण्डारी सक्रिय हुन लागेको चर्चालाई सन्दर्भ बनाएर कडा भाषण गरेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज गर्ने सम्बोधनले प्रष्ट संकेत गर्ने नेताहरुको भनाइ छ । यो कार्यक्रमको आयोजनाकै सन्दर्भमा पनि लामो छलफल र रस्साकस्सी भएको बताइन्छ ।

यसअघि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीले भेटमा धेरै कुरा भएको र वार्ता पछि पनि चलिरहने निकटस्थहरूलाई बताएका छन् ।

भण्डारीले भने आफ्नो राजनीतिक क्रियाशीलताप्रति ओली सहमत नरहेको भन्दै अब असार १५ देखि फाउण्डेशनमार्फत देशब्यापी अभियानमा जाने सन्देश निकटस्थहरुमार्फत प्रवाह गरेकी छन् ।

भण्डारीनिकटमा रहेका नेता कार्यकर्ताहरुले आजकै कार्यक्रमबाट औपचारिक घोषणा गर्ने बताए पनि मदन जयन्तीको सम्बोधन सांकेतिकमात्र हुने निकट स्रोतले जनाएको छ । तर यो कार्यक्रमसँगै पूर्व राष्ट्रपति भण्डारीले पार्टीका पदाधिकारी,स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यहरुसँग गहन छलफल गर्ने तयारी छ ।

एमालेमा पछिल्लो समय विभिन्न कमिटी र जनसंगठनहरुको नेतृत्वको दावी गरेर नपाएका, चुनाव लडेर संस्थापनका उम्मेदवारसँग पराजित भएका तथा पार्टी संस्थापनसँग विमति राख्ने नेता कार्यकर्ताहरुले संगठितरुपमै विद्या भण्डारीलाई पार्टी नेतृत्व लिन दबाब दिइरहेका छन् । भण्डारी पनि परिस्थिति बन्दै गएपछि तयार भएको नेताहरु बताउँछन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा मदन भण्डारी हीरक जयन्ती मूल समिति बनाएर देशव्यापी वार्षिक कार्यक्रम गर्ने तयारी भए पनि पार्टीमा यसबारे छलफल र निर्णय नभएको केन्द्रीय कार्यालयले जनाएको छ ।

पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पोखरेल ७० वर्षे उमेर हदका कारण अध्यक्ष ओली र आफूसहितका नेता बिदा हुने र विद्या भण्डारीले नेतृत्व गर्दा फरक नपर्ने लाइनमा खुलेका छन् ।

विद्या भण्डारीनिकट भनेर खुल्न थालेका नेता कार्यकर्ताले ‘लुज फोरम’ बनाएर अभियान नै चलाएका छन् । उनीहरुले ‘मदनको नीति, विद्याको नेतृृत्व’ भन्ने पोष्टर नै बनाएर सामाजिक सञ्जालमा प्रचार गर्न थालेका छन् । जबजको रक्षा र एमालेको लोकप्रियता जोगाउन विद्या भण्डारीको नेतृत्व अपरिहार्य भएको उनीहरुको भनाइ छ ।

शनिबारको कार्यक्रममा ओली र भण्डारीबाहेक अरु वक्ताहरू को(को रहने भन्ने खुलाइएको छैन । सम्भवतः नेकपा विभाजनबाट पुनस्स्थापित एमालेमा केपी ओलीको चुनौतीरहित नेतृत्वमाथि आजबाट विद्या विकल्पको रूपमा कार्यकर्तामाझ उपस्थित हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *