आजको पुस्ताले मदन भण्डारीलाई कसरी बुझ्ने ? ७ बुँदे टिप्पणी

आज असार १४ अर्थात् जननेता मदन भण्डारीको ७४औं जन्म जयन्ती ! वि.सं २००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारीको माइलो सन्तानको रूपमा पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित ढुङ्गेसाँघु गाउँमा जन्मनुभएका मदन भण्डारी, विद्यार्थीकालदेखि नै हुने विरुवाको चिल्लो पात भने झैँ कुसाग्र बुद्धिमताका साथ हुर्कनुभयो । बाल्यकालमै संसारमा विरलै अनुभूत गर्न सकिने साहस, बुद्धि र क्षमताको समीश्रण उहाँको अध्ययन र दैनिक घरकाममा देखापर्न थाल्यो । फलस्वरूप उहाँले बाल्यकालमै दुर्गा सप्तसतिचण्डी पाठ कण्ठाग्र गरेर पुरस्कृत विद्यार्थी बन्नुभयो ।

संस्कृत अध्ययन, वाचन र व्यावहारिक जीवनका असजिला क्षणमा समेत उहाँको कुसाग्रताले जिल्लाभरि चर्चा पायो । अध्ययनका लागि भारत प्रवासको बसाइ, यसक्रममा उहाँमा देखिएको अभूतपूर्व प्रगतिशील चेतना, काव्य क्षमता, धाराप्रवाह विचारको सम्प्रेषण क्षमता, प्रगतिशील सांस्कृतिककर्मीको रूपमा उहाँको उपस्थिति, राजनीतिक दलसँगको आवद्धता, विश्व बजारका घटनाक्रम र समकालीन विचारमाथिको प्रखरता, सिर्जनशील बौद्धिकता र उच्च स्मरणशक्तिको परिचय कमाइ सक्नुभएका उहाँलाई विषयगत ज्ञान र यसको विविधताभित्र धेरै ढंगले अध्ययन गर्न, बुझ्न र ग्रहण गर्न सकिन्छ ।

मार्क्सवादको सिर्जनात्मक, मौलिक र नवीन विचारक

सन् १९९० को दशकसम्म आइपुग्दा सोभियत संघ र पूर्वी युरोपका विभिन्न देशहरूबाट समाजवादी सत्ता विघटन र चिनियाँ कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिका नाममा भएका भूलका कारण विश्वभरका सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी विचारका पण्डितहरू मार्क्सवादको अध्याय समाप्त भएको भ्रम फैलाउँदै खुसीयाली मनाइरहेका थिए । समाजवादी आन्दोलनका चिन्तकहरू भने एकापसमा आरोप-प्रत्यारोप लगाई दुःख मनाउ गरिरहेका थिए । विश्व समाजवादी आन्दोलनलाई अब नयाँ शिराबाट कसरी अगाडि बढाउने भन्ने चिन्तन गर्न र पहलकदमी लिन कम चुनौतीपूर्ण थिएन । उहाँले ती चुनौतीहरूलाई अवसरमा परिणत गर्न विषयवस्तुको सूक्ष्म अध्ययनको पाटो अपनाइ विश्व कम्युनिष्ट आन्दोलनका कमीकमजोरीहरूलाई यस उद्गार प्रयोग गरी उजागर गर्नुभयो-

‘क्रान्ति न सिद्धान्तको रक्सी पिएर गल्ली-गल्लीमा मात्तिँदैमा सफल हुन्छ, न त कसैको अन्धानुकरणबाट ! सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्छ । विदेशी जुत्ताको नापअनुसार खुट्टा काट्ने गलत विचारलाई देशभक्तको असिम मायाले ओतप्रोत हृदयबाट कुचो लगाउनुपर्छ ।’

यसरी फरक ढंगले नेपाली कम्युनिष्ट आन्दोलनलाई पढ्ने, यसबारे गृहकार्य गर्ने र रणनीतिक महत्वका साथ योजना अघि सार्ने क्रममा विश्व कम्युनिष्ट आन्दोलनको प्रयोगमा नआएको शान्तिपूर्ण प्रतिस्पर्धा र पहलकदमीको प्रणाली अपनाई श्रेष्ठता हासिल गरी नेतृत्व प्रदान गर्ने सिर्जनात्मक, मौलिक र नवीन विचार जनताको बहुदलीय जनवाद (जबज)लाई प्रस्तुत गर्नुभयो । जबजले कम्युनिष्टहरू भनेका एकदलीय, एकदलीयतावादी, एकाधिकारवादी र निरंकुश हुन्छन् भन्ने भ्रमलाई निस्तेज बनायो । बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, प्राकृतिक विविधता र भौगोलिक विविधताले युक्त नेपाली समाजलाई बहुलवादी खुला समाजको विशेषता बोकेको व्याख्या गर्दै जबजले बहुलतालाई नेपालको मौलिक सिद्धान्तको रूपमा व्याख्या गर्‍यो ।

बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, प्राकृतिक विविधता र भौगोलिक विविधताले युक्त नेपाली समाजलाई बहुलवादी खुला समाजको विशेषता बोकेको व्याख्या गर्दै जबजले बहुलतालाई नेपालको मौलिक सिद्धान्तको रूपमा व्याख्या गर्‍यो ।

यस सँगसँगै विभिन्न विचारमा आस्था राख्ने दलहरूलाई फल्न र फुल्न दिनुपर्ने र शासनसत्ता सञ्चालनका लागि भने उनीहरूबीच निश्चित अवधिमा जनताबाट अनुमोदित हुनुपर्ने व्याख्या गर्दै प्रतिस्पर्धा र पहलकदमीपूर्ण प्रणालीको विशेषताको नवीन विचार प्रस्तुत गर्‍यो । यसरी जबज मार्क्सवादको विकासक्रमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्यायसहितको समानता, विभेदको अन्त्य, दिगो शान्ति र समृद्धि विशेषता भएको सिर्जनाको रूपमा विकास भयो ।

२०४६ सालको परिवर्तनपछि कम्युनिष्ट आन्दोलनका नवीन कार्यभार र कार्यशैलीलाई जनताको बहुदलीय जनवादले व्याख्या र विश्लेषण गरेको छ । त्यसलाई परिवर्तित सन्दर्भमा मार्क्सवादको व्याख्या एवं विश्लेषणका रूपमा लिन सकिन्छ ।

उच्च राजनीतिक आत्मविश्वास, स्वाभिमानी, क्रान्तिकारी र निडरताका प्रतीक

मुलुक बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमा प्रवेश गरिरहेको थियो । २०४६ सालको जनआन्दोलनमा मुख्य नेतृत्व गरी संविधान निर्माण र निर्वाचन सम्पन्न गराउन शक्तिशाली अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । पार्टीका शक्तिशाली सभापति कृष्णप्रसाद भट्टराई लोकप्रिय प्रधानमन्त्रीका रूपमा विराजमान थिए । तत्कालीन राजा वीरेन्द्र भने दलहरू र आफूबीच भएका सम्झौतामा दलहरू इमानदार हुन्छन् कि हुँदैनन् भन्ने निगरानी गर्दै थिए । तत्कालीन एमाले भने शक्ति सन्तुलनको तेस्रो पोजिसनमा थियो । संविधान कार्यान्वयनअन्तर्गत पहिलो संसदीय निर्वाचन घोषणा भई दलहरू चुनावी कार्यक्रममा थिए ।

उक्त परिस्थितिमा तत्कालीन एमाले चुनावमा खरो उत्रन सक्ला र भनी मान्छेहरू गाईंगुईं गर्दै लख काटिरहेका थिए । अकस्मात वि.सं २०४७ चैत ५ गते काठमाडौं क्षेत्र नं. १ को निर्वाचन प्रचारप्रसार समितिको कार्यालय चावहिलमा उद्घाटन गर्दै दुनियाँलाई चकित पार्ने गरी निम्न उद्गारहरू प्रस्तुत गर्दै उहाँले आफूभित्रको उच्च राजनीतिक आत्मविश्वास, स्वाभिमान, क्रान्तिकारिता र निडरतासाथ प्रस्तुत गर्नुभयो ।

‘मान-सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज ! हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्, आफ्ना सन्डमुसन्डहरूलाई नचलाइबक्स्योस् ! यदि सन्डमुसन्डहरूलाई चलाउने नै हो भने, यदि सन्डमुसन्डहरूलाई नै अगाडि लिएर आउने हो भने पनि महाराजले पनि श्रीपेच उतारी सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्‍यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् !’

जबज मार्क्सवादको विकासक्रमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्यायसहितको समानता, विभेदको अन्त्य, दिगो शान्ति र समृद्धि विशेषता भएको सिर्जनाको रूपमा विकास भयो ।

यसरी सिंह गर्जन गर्नुभयो । यो मदन भण्डारी कृष्णप्रसाद भट्टराईंसँग मात्र होइन, आफुलाई निकै लोकप्रिय र विष्णुको अवतार ठान्ने राजा वीरेन्द्र पनि श्रीपेच खोलेर आउँछन् भने राजासँग प्रतिस्पर्धा गर्न तयार छु भन्ने हाकाहाकी हाँक हो । चुनावी लहर क्रमशः अघि बढ्न थाल्यो ।

२० औं शताब्दीका युग नायक

सोभियत समाजवादी सत्ता र पूर्वी युरोपका समाजवादी सत्ताको विघटन तथा चिनियाँ सांस्कृतिक क्रान्ति भूलहरूका कारण पुँजीवादी दुनियाँका धुरन्धर पण्डितहरूले अभूतपूर्व खुशीयाली मनाइरहेका बेला चरम पुँजीवादी देश अमेरिकाबाट प्रकाशित न्युजविक पत्रिकाले सन् १९९१ को मे २७ को अंकमा कमरेड मदनलाई कोर्डिङ गरेर छाप्यो- नेपाल जहाँ कार्ल मार्क्स जीवित छन् । यसबाट नवीन विचारक कमरेड मदनलाई २० औं शताब्दीको युग नायकको रूपमा सम्बोधन गर्न शुरु भयो ।

दूरद्रष्टा वा स्वप्नद्रष्टाका प्रतीक

वि.सं.२०४७ मा नेपाल अधिराज्यको संविधान जारी गर्दा केही राजनीतिक पार्टीहरू अब कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन, सबथोक यही संविधान हो भनेर दीपावली मनाइरहेका थिए । केही राजनीतिक पार्टीहरू संसदीय व्यवस्थालाई स्वीकार गरिएको संविधानबाट प्राप्त संसद भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो र चुनाव लड्दै संसदमा गएर क्रान्ति हुन सक्दैन भन्दै संविधान जलाइरहेका थिए । ती दुई अतिवादी सोचलाई वास्ता नगरी कमरेड मदनले जारी संविधानमाथि २७ बुँदामा असहमति राखी संविधानलाई आलोचनात्मक समर्थन गर्नुभयो । ती २७ बुँदाका असहमति १६ वर्षपछि पनि पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते पारित गर्यो । यस दृष्टान्तबाट नै निष्कर्ष निकाल्न सकिन्छ- उहाँ कति दूरदर्शी र स्वप्नदर्शी नेता हुनुहुँदो रहेछ ।

उदारवादी र जनप्रेमी राजनेताको रूपमा अनुमोदित

विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नेतृत्व प्रदान गरिरहेका नेता कमरेड मदन कम्युनिष्ट विरोधीहरूको आँखाको तारोमा हुनुहुन्थ्यो । उनीहरू उहाँको उचाइ र कम्युनिष्ट पार्टीलाई कसरी बद्नाम बनाउन सकिन्छ भनी गौडा ढुकेर बसिरहेका थिए । त्यसलाई सार्थकता दिन नेकपा एमाले २०४८ सालको संसदीय चुनावको प्रचारप्रसारमा सक्रिय भइरहेको बेला कमरेड मदनलाई पत्रकारले प्रश्न सोधे- ‘महासचिवज्यू, कम्युनिष्टहरूले धर्म, जातपात र भगवान मान्दैनन् भन्छन् नि ! यस सम्बन्धमा तपाईंको पार्टीको धारणा के हो ?’

युवाहरूलाई सम्बोधन गर्दा उहाँ भन्नुहुन्थ्यो- ‘युगले व्यक्तित्व निर्माण गर्ने होइन, व्यक्तित्वले युगको निर्माण गर्नुपर्छ । जसका लागि तपाईंहरूले मातृभूमिको सच्चा पहरेदार बनेर देशको प्राकृतिक स्रोतसाधन र भौगोलिक जगमा उभिएर देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’

प्रश्न भुईंमा खस्न नपाउँदै बडो स्पष्टताका साथ कमरेड मदन भन्नुहुन्छ- ‘हाम्रा भगवान भनेका नबोल्ने ढुङ्गाका देवता होइनन्, जीवित जनता हुन् र उनीहरूको सेवा नै हाम्रो धर्म हो ।’ उनको यो उत्तरले कमरेड मदनको उचाइ र कम्युनिष्ट आन्दोलनलाई बद्नाम बनाउन खोज्ने षड्यन्त्र पूर्णतः असफल भयो । त्यतिमात्र होइन, कमरेड मदन गाउँ-गाउँसम्म पुग्ने, गहिराइमा पुगेर जनताको समस्याको पहिचान गर्ने, जनतालाई चित्तबुझ्दो तरिकाले समाधान दिने गर्नुहुन्थ्यो । पार्टीका नेता-कार्यकर्तालाई जनतासँगको सम्बन्धलाई कसरी घनिष्ठ बनाउने ? आवश्यक निर्देशन दिनुहुन्थ्यो । यसकारण उहाँ जनप्रिय राजनेताको रूपमा जनअनुमोदित हुनुभयो ।

युवाका प्रेरक व्यक्तित्व

२६ वर्षको उमेरमा तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य, ३२ वर्षको उमेरमा पोलिटव्युरो सदस्य र ३७ वर्षको उमेरमा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित भई सोही महाधिवेशनबाट आफूले निर्माण गर्नुभएको जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम बनाउन उहाँ सफल हुनुभयो ।

युवाहरूलाई सम्बोधन गर्दा उहाँ भन्नुहुन्थ्यो- ‘युगले व्यक्तित्व निर्माण गर्ने होइन, व्यक्तित्वले युगको निर्माण गर्नुपर्छ । जसका लागि तपाईंहरूले मातृभूमिको सच्चा पहरेदार बनेर देशको प्राकृतिक स्रोतसाधन र भौगोलिक जगमा उभिएर देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’ आज उहाँकै प्रेरणाले हामी युवाहरू देश र जनताको सेवामा लामबद्व छौं ।

विपक्षीहरूको नजरमा पनि सिद्धान्तनिष्ठ नेता

वि.सं. २०५० जेठ ३ गते उहाँको हत्यापश्चात समवेदना सन्देशमा तत्कालीन राजा वीरेन्द्रले सिद्धान्तनिष्ठ व्यक्तिको रूपमा सम्मान गरे । त्यस्तै नेपाली कांग्रेसका लौहपुरुष गणेशमान सिंहले रुँदै प्रजातन्त्र पुनःस्थापनामा सम्पूर्ण शक्ति खन्याउने आफ्नो एउटा असल मित्रको हत्या भएको र सिद्धान्तकारलाई गुमाउनुपरेको उल्लेख गरेका थिए । उहाँमा प्रस्ट विचार राख्ने र मीठो बोल्ने शैली तथा विपक्षका विचारलाई सुन्ने र सम्मान गर्ने स्वभाव थियो ।

(लेखक नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवं धादिङ १ (१) इन्चार्ज हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *