मदन स्मृतिमा
क्रान्तिको बाटो सोझो र सपाट हुन्न । यसले उबडखाबड बाटो तय गर्नुपर्ने हुन्छ । संगठन, सिद्धान्त र संघर्षको उपयुक्त चयनले क्रान्तिलाई सफलताको चरणमा लैजान्छ । संघर्षको एउटा सफलताले समग्र क्रान्तिको सफलताको निर्धारण पनि गर्दैन । पार्टीहरूको क्रान्तिकारी चरित्र निर्माणमा क्रान्तिकारी विचार महत्वपूर्ण हुन्छ । जुन पार्टीसँग क्रान्तिकारी विचारले लैस भएका नेता र कार्यकर्ता हुन्छन्, त्यही पार्टीले समग्र क्रान्तिको नेतृत्व गर्छ । हरेक क्रान्तिका उपचरणहरू पनि हुन्छन् । ती उपचरणहरूमा गर्नुपर्ने काम, योजना र संगठनले क्रान्तिको सिद्धान्तको बाटो पछ्याउनुपर्छ ।
बारम्बार दोहोरिने उपचरणहरूमा कुशलताका साथ लक्ष्य केन्द्रित कार्यक्रमहरूको सञ्चालन गरेर श्रमजीवी जनतालाई संगठित गरेरमात्र अर्को उपचरणमा फड्को लगाउन सकिन्छ । क्रान्तिकारी सिद्धान्त, विचार र कार्यक्रमहरू तत् समयमा जनता र कार्यकर्ताबीचबाट परिक्षित र अनुमोदित भइरहनुपर्छ । मानवीय चेतना र भौतिक विकासले उत्पन्न गरेका तमाम बिकास र परिवर्तनको गतिमा सिद्धान्तलाई बुझ्नुपर्छ । सिद्धान्तलाई सिर्जनात्मक ढङ्गबाट लागू गर्नसक्ने तत्परताले नै क्रान्तिको सफलता निर्धारण गर्छ । स्वयं मार्क्सवादले हामीलाई सिर्जनशील हुन र सिर्जनात्मक ढङ्गबाट सोच्नसक्न ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्न भन्छ ।
मानव समाजले विकासका क्रममा आफ्ना विचार सिद्धान्तहरूको विकास गरेको छ । समय क्रममा नयाँ सिद्धान्त र व्यवहारलाई अपनाएको पनि छ । आर्जित सिद्धान्त र विचारहरूका बीच टक्करहरू चलेका छन् । तिनै टक्करहरूबाट नयाँ विचार र सिद्धान्तहरूको विकास भएको छ । वर्गीय समाजमा सिद्धान्तहरू पनि वर्गीय पक्षधरताबाट नै अघि बढ्छ । संसारमा समाजवादी सिद्धान्तभन्दा बुर्जुवाका सिद्धान्त पहिले नै आए । यसैले बुर्जुवाहरूले समाजमा गहिरो छाप छोडेका पनि छन् । तिनले समाजमा लामो समयदेखि पारेका प्रभावहरू नै संस्कृति बनेका छन् । बुर्जुवा विचारधारालाई प्रतिस्थापन गर्न समाजवादी विचारधारा शुरु भयो । समाजवादी विचारधारालाई बुर्जुवा विचारको पतनशील पक्षलाई त्याग्दै प्रगतिशील विचारहरूको संश्लेषण गरेर विकास गरिएको हो ।
संसारलाई हेर्ने, बुझ्ने, व्याख्या गर्नेमात्र होइन, बदल्ने, रूपान्तरण गर्ने वा क्रान्ति गर्न सिकाउने तरिका समाजवादी विचारधाराले दिएको छ । समाजवादी विचारधारा भनेको नै मार्क्सवादी विचारधारा हो । यसले समाज र समाजको विकासक्रमलाई हेर्ने, बुझ्ने, ज्ञानमात्र नभै परिवर्तनशील समाजको गतिलाई बुझ्न पनि सिकाएको छ । विगतमा भन्दा यसको दायरा फराकिलो भएको छ । आज मार्क्सवाद दर्शन, अर्थतन्त्र र राजनीतिमा मात्र सीमित छैन । यो त कला-साहित्य, प्रविधि, संस्कृति, मनोविज्ञान, समावेशिता जस्ता मानव समाजका गहनतम् उपलब्धिहरूमा फैलिएको र व्यापक छ । मार्क्सवादी विचार जर्मनको प्रसियामा ‘अधिकारका लागि गरिएको संघर्ष’बाट प्रारम्भ भए पनि यसको आयतन फराकिलो र विकसित भइरहेको छ । मार्क्सवाद औद्योगिक पुँजीवादको वैज्ञानिक विश्लेषण र त्यसका विरुद्धको संघर्षबाट जन्मिएको हो ।
बुर्जुवा विचारधारालाई प्रतिस्थापन गर्न समाजवादी विचारधारा शुरु भयो । समाजवादी विचारधारालाई बुर्जुवा विचारको पतनशील पक्षलाई त्याग्दै प्रगतिशील विचारहरूको संश्लेषण गरेर विकास गरिएको हो ।
युरोपको औद्योगिक पुँजीवादका विरुद्धको संघर्षबाट विकसित मार्क्सवाद एसियामा किसान आन्दोलनसँग जोडिएर थप समृद्ध भएको छ । साम्राज्यवादी उपनिवेशका विरुद्ध राष्ट्रवादी संघर्षसँग जोडियो । मार्क्सवादी शिक्षाकै आलोकमा नयाँ प्रगतिशील योजनाहरू निर्माण भए । रंगभेदविरोधी, उपनिवेशविरोधी आन्दोलनहरू विकसित भए, असंलग्न आन्दोलन र विश्व शान्ति आन्दोलनहरूलाई पनि प्रेरणा मार्क्सवादले दियो । यस्ता आन्दोलनहरूले सफलता वा असफलता व्यहोरेर नै मार्क्सवादलाई समृद्ध बनाएका हुन् । मार्क्सवादले इतिहास बुझ्न र लेख्न सिकायो । यसले समाज बदलेनमात्र होइन, आफैं पनि बदलियो, विकसित भयो र फराकिलो बन्यो ।
मार्क्सवादले स्थापित गरेको ‘बलपूर्वक हस्तक्षेपको सिद्धान्त’को कार्यान्वयन गर्दा रुसी क्रान्तिमा लेनिनले मिलिसिया निर्माण गरेर शहरिया विद्रोहमार्फत क्रान्ति सम्पन्न गरे । क्रान्तिका लागि स्थायी सैन्य संरचना आवश्यक भएन, तर चिनियाँ क्रान्तिमा सेना आवश्यक भयो । लालसेनाको लङ्मार्चबाट चिनियाँ सामन्तवाद र बाह्य हस्तक्षेपकारी विरुद्ध एकैसाथ लड्नुपर्ने भयो । यसैले गुरिल्ला युद्ध चिनियाँ जनक्रान्तिको विशेषता बन्यो । यसरी नै आआफ्ना मुलुकका विशिष्टतामा कोरियाली, भियतनामी र क्युवाली क्रान्तिहरू सम्पन्न भए । मार्क्सवादी शिक्षाकै आलोक र सोभियत बिशिष्टतामा विकसित मार्क्सवाद नै लेनिनवाद हो । मार्क्सको वैचारिक पक्षमा जोड रह्यो । लेनिनले सांगठनिक पक्षको विकास गरे । मार्क्सवादलाई सोभियत मोडलमा मात्र बुझ्ने गल्ती गर्नुहुन्न ।
सोभियत समाजवादले खाएको धक्कापछि पनि अन्य मुलुकका समाजवादका मोडलहरू विकास भएर जनताको समृद्धिमा काम गरिरहेका छन् । सोभियत समाजवादको जनअनुमोदन नखोज्ने अलोकतान्त्रिक चरित्र र पार्टीको नोकरशाही चरित्र विकास भएर आन्तरिक लोकतन्त्र कमजोर हुँदा धक्का व्यहोर्नुपरेको हो । रुसी समाजवादको नेतृत्वमा विकसित भएको दुई ध्रुवीय विश्वलाई युरोपका पुँजीवादीहरूले सोभियत समाजवादका विरुद्ध २ वटा अवरोध सिर्जना गरे । जसबाट दुई ध्रुवीय विश्वमा सोभियत मोडलको समाजवाद भत्कियो । पहिलो- अमेरिकासँग मिलेर रुसका विरुद्ध युद्धको तयारी गरे । जसले गर्दा अत्यधिक धनराशी खर्च भयो र सोभियत समाजवादलाई धानिन गाह्रो भयो ।
दोस्रो- समाजवादले सामाजिक सुरक्षा क्षेत्रमा गरेका कामलाई पुँजीपतिहरूले पनि लागू गरे । पुँजीवाद लोककल्याणकारी राज्यमा बदलियो । पुँजीवादले आफ्नो रूप पक्षमा परिवर्तन गरेर आफ्नो लूटको सार पक्षलाई जोगाउन सक्यो । यसबाट पुँजीवादले सामाजवादी विचारधारात्मक काममा अवरोध सिर्जना गर्यो । आफ्नो रूप बदल्यो र आफूलाई टिकायो ।
आज मार्क्सवाद दर्शन, अर्थतन्त्र र राजनीतिमा मात्र सीमित छैन । यो त कला-साहित्य, प्रविधि, संस्कृति, मनोविज्ञान, समावेशिता जस्ता मानव समाजका गहनतम् उपलब्धिहरूमा फैलिएको र व्यापक छ ।
मार्क्सवाद कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारभन्दा पुरानो हो । विश्वभर पुँजीवादले क्रान्तिकारी चरित्र गुमाएर साम्राज्यवादी चरित्र ग्रहण गरेपछि साम्राज्यवादका अत्याचारलाई बुझ्न र साम्राज्यवादी अत्याचारबाट मुक्त गर्ने वैचारिक हतियार नै मार्क्सवाद बन्यो । पुँजीवादका क्रूरतम शोषणबाट मुक्तिका लागि श्रमिकहरूको भौतिक तागत निर्माणमा मार्क्सवादी विचारले अतुलनीय योगदान दिएको छ । मानव समाजका थुप्रै विचारधाराहरूसँग टक्कर गरेर नै यो विकसित भएको हो । पुँजीवाद समाजवादका राम्रा काम स्वीकार गरेर आफ्नो स्वरूपलाई बदल्न बाध्य भयो, तर समाजवादीहरू पुँजीवादका सबै पक्षहरू अस्वीकार गर्न पुगे । जसले ‘सभ्यता, प्रविधि र विचारको विकासमा मानव जातिका सम्पूर्ण उपलब्धिहरूलाई कम्युनिष्ट पार्टीहरूले स्वामित्व लिने’ साहस देखाउन सकेनन् ।
समाजवादले मात्र धक्का व्यहोरेको छैन । पुँजीवादीका सबै क्रान्ति सफल भएका छैनन् । सबै क्रान्ति असफलमात्र छैनन् । क्रान्तिका शिक्षा महत्वपूर्ण छन् । फ्रान्सेली क्रान्तिमा लगाइएका नारा ‘प्रजातन्त्र, समानता र भ्रातृत्व’ आज पनि प्रजातन्त्र, समावेशीता र धर्मनिरपेक्षताका स्वरूपमा चली नै रहेका छन् । फ्रान्समा सन् १८३०, १८४८ र १८७१ का क्रान्ति असफल भएका थिए, तर यो क्रान्ति असफल भए पनि युरोपमा सामन्तवाद र फ्रान्सेली प्रभुत्व सधैँका लागि समाप्त भयो । युरोपमा दक्षिणपन्थीहरू शासनमा फर्किए पनि सामन्तवाद फर्केर आएन । आज यही लडाइँ दुनियाँभर जारी छ । जुन समाज अनेकौं असमानताले बनेको छ, त्यस समाजमा प्रजातन्त्र ल्याउन र समाजवादलाई प्रजातान्त्रिक रूपमा हुर्काउन कठिनाइ पर्छ । नेपाललाई त्यसरी नै बुझ्नुपर्छ ।
नेपाल भौगोलिक रूपमा मात्र विविध छैन, यहाँ जातीय, धार्मिक, भाषिक विविधता पनि छ । कैयौं अल्पसंख्यक छन्, जसलाई मूल प्रवाहीकरण गर्ने कम्युनिष्ट पार्टीको दायित्व छ । समाज वर्गीय रूपमा मात्रै विभाजित छैन । यो त जातमा, भाषामा, क्षेत्रमा, लिङ्गमा पनि विभाजित छ । विविधतापूर्ण समाजका लागि बहुलता र बहुदलीय चरित्र अनिवार्य विषय हुन् । परम्परावादी नेपाली कम्युनिष्टहरूले समाजको बहुलतालाई बुझ्न सकेनन् । मदन भण्डारीले नै समाजको यो बहुलताको चरित्रलाई बुझे । सोभियत मोडलका कम्युनिष्ट पार्टीहरूका गल्ती नदोहोर्याउन नै मदनले ‘मार्क्सवादको नेपाली मोडल जनताको बहुदलीय जनवाद’लाई संश्लेषण गरेका हुन् ।
समाज विकासको गति हुन्छ र गतिको नियम हुन्छ । समाज विकासको गतिलाई नियममा बुझ्नुपर्छ भनेर मार्क्सवादले भन्छ । स्वयं मार्क्सवादलाई पनि गतिमा बुझ्नुपर्छ र परिवर्तनमा बुझ्नुपर्छ । हरेक मुलुकको विशिष्ट चरित्र हुन्छ, त्यही विशिष्टता र भौतिक विकासका आधारमा हरेक मुलुकले मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेका छन् । त्यसरी नै नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको क्रान्तिकारी सिद्धान्तका रूपमा जनताको बहुदलीय जनवादको विकास भएको छ । जनताको बहुदलीय जनवादलाई चार पक्षबाट बुझ्नुपर्छः
मार्क्सवादी शिक्षाकै आलोकमा नयाँ प्रगतिशील योजनाहरू निर्माण भए । रंगभेदविरोधी, उपनिवेशविरोधी आन्दोलनहरू विकसित भए, असंलग्न आन्दोलन र विश्व शान्ति आन्दोलनहरूलाई पनि प्रेरणा मार्क्सवादले दियो । यस्ता आन्दोलनहरूले सफलता वा असफलता व्यहोरेर नै मार्क्सवादलाई समृद्ध बनाएका हुन् ।
पहिलो– प्रजातन्त्रको सवालमा
नेपालमा प्रजातन्त्रको अधिकार प्राप्तिका लागि बुर्जुवाहरूभन्दा पनि अग्रगामी बनेर नेपालका कम्युनिष्टहरूले लडेका छन् । लोकतान्त्रिक स्वतन्त्रताले नै नेपाली कम्युनिष्टहरूलाई जनताको पक्षमा परिचालित हुन र जनपक्षीय काम गरेर जनताको विश्वास जितेर सत्तामा पुग्न सहयोग पुगेको छ । बुर्जुवा लोकतन्त्रले कम्युनिष्टहरूलाई धेरै मुलुकमा निषेध गरेको भए पनि नेपालको विशिष्ट चरित्रका आधारमा प्रजातन्त्रका अधिकारको लडाइँमा सामेल भएर ‘कम्युनिष्टहरू लोकतान्त्रिक हुन्नन्’ भन्ने भाष्यलाई परिवर्तन गर्न र पूर्ण लोकतन्त्रका लागि लड्न जनताको बहुदलीय जनवादले प्रेरित र संगठित गरेर नै २०६२/०६३ को पुँजीवादी जनवादी क्रान्ति अघि बढेको हो ।
नेपालमा एकाथरी कम्युनिष्टहरू संसदीय लोकतन्त्रको विपक्षमा तर्क गर्नेहरू पनि थिए । तिनीहरूले प्रजातन्त्रको लडाइँमा सहज रूपमा सहभागिता जनाएनन् । उनीहरूको ‘साम्राज्यवादी बहुदल’ भन्ने तर्क पनि थियो । यस मतकाहरू संसदीय प्रजातन्त्रको उत्पत्ति, विकास र गतिलाई मार्क्सवादी दृष्टिकोणबाट नभई जडतावादी दृष्टिकोणले हेर्छन् । इतिहासमा कम्युनिष्टहरूले संसदीय प्रजातन्त्रलाई निषेध गरेकामात्र होइन, संसदीय व्यवस्थामा पनि कम्युनिष्टहरूलाई निषेध गरिएको छ ।
प्रारम्भमा बुर्जुवाहरूले प्रजातन्त्रको अधिकार सम्भ्रान्तहरूमा सीमित गरेकाले कम्युनिष्टहरूले प्रजातन्त्रलाई आफ्नो स्वामित्वमा राखेनन् । जब आम मताधिकारबाट प्रजातान्त्रिक निर्वाचनबाट संसदको चयन हुन प्रारम्भ भयो, श्रमिक वर्गका लागि यो उपयुक्त अवसर थियो । जडतावादीहरूले सिद्धान्तको शुद्धताका नाममा निषेधको राजनीतिमा लागेका बेला मदन भण्डारीको अगुवाइमा सशक्त हस्तक्षेपका माध्यमबाट प्रजातन्त्र, आवधिक निर्वाचन, मानव अधिकार जस्ता मानव समाजका गहनतम उपब्धिलाई स्वीकारेर र अझ उन्नत बनाएर लोकतन्त्रको सुदृढीकरण गर्नसक्ने सत्य स्वीकारियो ।
आज संसदीय निर्वाचन वर्ग संघर्षको मोर्चा बन्न पुगेको छ । आज बुर्जुवाहरूले कम्युनिष्टहरूलाई जुन निषेध गरिरहेका छन्, यो निषेध प्रजातन्त्र र समाजवादको नभई पुँजीवादी र समाजवादी विचारको हो । समाजवादीहरू अझ उन्नत प्रजातन्त्रवादी हुन्छन् । संसदीय प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा ‘प्रतिस्पर्धाबाट श्रेष्ठता’ हासिल गर्दै श्रमिक वर्गले शासनको नेतृत्व गरेर आफ्नो समाजवादी लक्ष्यमा जानसक्छ । बहुसंख्यक श्रमिक वर्गले प्रतिनिधित्व गर्न सक्दा प्रजातान्त्रिक प्रणाली बुर्जुवाहरूका लागि भन्दा श्रमिक वर्गका लागि अनुकूल हुन्छ । बलियो शक्ति निर्माण गरेर नेपाली श्रमिक वर्गले क्रान्तिलाई पूर्णता दिनसक्छ । यसैले नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादलाई प्रजातन्त्रको सवालका रूपमा बुझ्नुपर्छ । प्रजातन्त्रिक समाजमा मात्र यो सिध्दान्तको रक्षा, प्रयोग र बिकास गर्न सकिन्छ ।
मार्क्सवादी शिक्षाकै आलोक र सोभियत बिशिष्टतामा विकसित मार्क्सवाद नै लेनिनवाद हो । मार्क्सको वैचारिक पक्षमा जोड रह्यो । लेनिनले सांगठनिक पक्षको विकास गरे । मार्क्सवादलाई सोभियत मोडलमा मात्र बुझ्ने गल्ती गर्नुहुन्न ।
दोस्रो– समृद्ध नेपाल निर्माणको सवालमा
उन्नाइसौं शताब्दीमा मार्क्सवादी चिन्तनधाराले मात्रै साम्राज्यवादी शोषणविरुद्ध राष्ट्रिय स्वाधीन अर्थतन्त्र निर्माणमा शोषित जनताको पक्ष लियो । मार्क्सले युरोपेली पुँजीवादको बारे पटकपटक के लेखेका छन् भने ‘युरोपेली औद्योगिक पुँजीवाद युरोपेली किसानहरूको उठीबासको कथामात्र होइन, युरोपका मजदुर र युरोप बाहिरका जनताको रगतद्वारा सिंचिएको छ ।’ मार्क्सवाद युरोपका औद्योगिक पुँजीवादका विरुद्धको संघर्षबाट विकसित भयो ।
एसियामा किसान जनतासँग जोडियो, उपनिवेशवादका विरुद्ध, साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्षसँग जोडियो । नयाँ प्रगतिशील योजनाहरू निर्माण भए । आन्दोलनहरू विकसित भए, सफलता वा असफलता व्यहोरेर मार्क्सवादलाई समृद्ध बनाए । साम्राज्यवाद र रंगभेदका विरुद्ध स्वतन्त्रताहरू प्राप्त भए । दक्षिण एसियामा साम्राज्यवादी शोषणका विरुद्ध राष्ट्रिय स्वतन्त्रताका लागि मार्क्सवादले भूमिका खेलेको छ । यसले समाज बदलेनमात्र होइन, आफैं पनि बदलियो, विकसित भयो, फराकिलो बन्यो ।
नेपालका कम्युनिष्टहरूले प्रारम्भिक दिनबाट नै वैदेशिक हस्तक्षेप र शोषणविरुद्ध आफूलाई उभ्याए । राष्ट्रिय उत्पादन र उद्योगका पक्षमा उभ्याए । गोर्खा भर्तीका विरुद्धमा उभ्याएर राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका पक्षमा दृढताका साथ उभिए । जसबाट ‘सामाजिक न्यायमा आधारित भएर श्रमजीवीहरू, निम्न आयका गरिबहरू तथा पिछडिएका जाति, समुदाय र क्षेत्रको उत्थान’मा अग्रणी भूमिका खेल्न सफल भए । आज समावेशी प्रतिनिधित्व र समन्यायिक विकासको जुन अवधारणामा छलफल हुने र योजना निर्माण हुने गरेका छन्, त्यसैका आधारमा जनताको बहुदलीय जनवादलाई बुझ्नुपर्छ । देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न निजी क्षेत्रलाई गरिने प्रोत्साहनका आधारमा ‘बृहत सामाजिक परिवर्तन र विकासका लागि ठोस परिस्थतिलाई ख्याल राख्न र कार्यक्रमहरू अघि सार्न’ जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेको छ । जसका आधारमा ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य निर्धारण गरिएको छ ।
समाजवाद निर्माणको चरणसम्म पनि जनताको बहुदलीय जनवादले मार्गदर्शन गर्नसक्छ । यसलाई पनि गतिमा बुझ्नुपर्छ । एउटा चरण पार गरेपछि दोस्रो चरणका लागि उपयुक्त कार्यक्रम, नारा र बाटो तय गरेर अघि बढ्नुपर्छ । स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने सवालमा जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउनुपर्छ । अहिले समाजवादको आधार निर्माणको चरणमा रहेका कारण जनप्रतिनिधिमूलक संस्थाहरूको काम महत्वपूर्ण छ । यतिबेला तिन तहका सरकारहरूका नीति, कार्यक्रम र बजेटले समृद्ध नेपाल निर्माणको बाटोमा हिँडाउनुपर्छ ।
मार्क्सवाद कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारभन्दा पुरानो हो । विश्वभर पुँजीवादले क्रान्तिकारी चरित्र गुमाएर साम्राज्यवादी चरित्र ग्रहण गरेपछि साम्राज्यवादका अत्याचारलाई बुझ्न र साम्राज्यवादी अत्याचारबाट मुक्त गर्ने वैचारिक हतियार नै मार्क्सवाद बन्यो ।z
जनप्रतिनिधिमूलक संस्थाका रूपमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई मात्रै बुझ्नुहुन्न । सामुदायिक वन महासंघ, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य समिति, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, उद्योग वाणिज्य महासंघ, रेडक्रस, आमा समूह, युवा क्लवहरू, खेलकुदका संघसंस्थाहरू जस्ता जनप्रतिनिधित्व हुने सबैलाई बुझ्नुपर्छ । जहाँबाट जनताका कामहरू, सरोकारहरू जोडिएर आउँछन् ती सबै क्षेत्र र संस्थाहरू जनप्रतिनिधिमूलक संस्थाहरू हुन् ।यी संस्थाका कामका गतिलाई समृद्ध नेपालसँग जोड्नुपर्छ र जनताको बहुदलीय जनवादलाई समृद्ध नेपाल निर्माणको सवालमा बुझ्नुपर्दछ ।
तेस्रो– श्रमिकका अधिकारका सवालमा
नेपालमा कम्युनिष्ट पार्टी गठन हुनुपूर्व नै मजदुर आन्दोलनले गति लियो । विराटनगर मजदुर आन्दोलनका नेता मनमोहन अधिकारी नै कालान्तरमा नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा बने । देशका सफल प्रधानमन्त्री बने । समावेशी र समन्यायिक विकासका अगुवा बने । प्रजातन्त्र प्राप्तिका लागि नेपाली श्रमिक वर्गले हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको छ । संगठन निर्माण, परिचालन र नेतृत्व विकास गरेर मार्क्सवादमा नेपाली विशिष्टताको परिचय थपेको छ । प्रजातन्त्र प्राप्तिपछि संसदबाट श्रम ऐन, ट्रेड युनियन ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलगायतका श्रम कानून बनाउन जनताको बहुदलीय जनवादले सिर्जनात्मक, प्रभावकारी र दबाबकारी भूमिका निर्वाह गरेको छ ।
समाजवादको आधार निर्माणको बाटो हिँडेर नेपाली श्रमिक वर्गले थुप्रै चुनौतीको सामना गर्नु परिरहेको छ । अहिले नेपाली श्रमिक वर्ग जनताको बहुदलीय जनवादको शिक्षाको आलोकमा सामाजिक स्थिरता, शान्ति र समृद्धिका लागि वर्गहरूका बीचको द्वन्द्वलाई रूपान्तरण र व्यवस्थापन गर्न, सामाजिक रूपान्तरणका मार्गमा दृढताका साथ लाग्न, सामाजिक समावेशीकरण राज्य व्यवस्थामा सुनिश्चित गर्न र पुँजी पक्षीय राज्यलाई श्रम पक्षीय बनाउन सक्रियताका साथ लागिरहेको छ । वस्तु उत्पादनभन्दा आयतमा मुलुक निर्भर रहेको छ, वस्तु उत्पादन, सेवा, पुँजी प्रवाह र श्रमका आयामहरूमा असहजता देखापरिरहेको छ ।
जलवायु परिवर्तन र वातावरणीय प्रतिकूलता छ । प्राकृतिक र प्राथमिक वस्तु सस्तोमा बेचेर महँगोमा तयारी माल खरिद गर्नुपर्ने अवस्था छ । यस्तो प्रतिकूलतालाई चिरेर उत्पादनमा आधारित समाज निर्माण गर्न नेपाली श्रमिक वर्गले राष्ट्रिय पुँजीको विकास गर्दै दलाल र नोकरशाही पुँजीवादका विरुद्धको संघर्षमा अब्बल बन्नुपर्ने कार्यभार छ । ‘समतामूलक सामाजिक आर्थिक विकासका निम्ति’ योजना निर्माण र कार्यान्वयनका रूपमा जनताको बहुदलीय जनवादलाई बुझ्नुपर्छ ।
देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न निजी क्षेत्रलाई गरिने प्रोत्साहनका आधारमा ‘बृहत सामाजिक परिवर्तन र विकासका लागि ठोस परिस्थतिलाई ख्याल राख्न र कार्यक्रमहरू अघि सार्न’ जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेको छ । जसका आधारमा ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य निर्धारण गरिएको छ ।
चौथो– महिला अधिकारका सवालमा
महिला अधिकारका सवालमा बुर्जुवा जोन मिल र मन्टेस्क्युका भन्दा ऐङ्गेल्सका विचार उन्नत थिए । अक्टोबर क्रान्तिपछि सोभियतहरूले बनाएका कानून त्यस बखतका अमेरिकी बेलायती, फ्रान्सेली कानूनभन्दा प्रगतिशील थिए । मुसलमान महिलालाई सोभियत कानूनले जति अधिकार अन्य कुनै पनि मुलुकका मुसमान महिलाले पाएनन् । नेपालमा कम्युनिष्ट पार्टीको स्थापनामा नै महिला सहभागिता र जनसंगठनका रूपमा अखिल नेपाल महिला संघको स्थापना भएको छ । यसले महिला अधिकार र प्रजातान्त्रिक अधिकारका लागि नेपाली कम्युनिष्टहरू प्रारम्भिक दिनबाट नै सक्रिय रहेका छन् ।
प्रजातान्त्रिक आन्दोलनका समयमा वाममोर्चा निर्माण र त्यसको नेतृत्व नै महिला नेतृ साहना प्रधानले गरेबाट नेपाली मार्क्सवादी आन्दोलनलाई महिला अधिकारका सवालबाट पनि हेर्नुपर्छ । नेपाली राजनीतिक आन्दोलनका प्रारम्भिक दिनमा नै महिलाहरूले मताधिकार र प्रतिनिधित्वको अधिकार प्राप्त गरेका छन् । जनताको बहुदलीय जनवादले महिलामाथि भएको शोषण र सामाजिक कुप्रथाको अन्त, सम्पत्तिमा समान हक, समान ज्याला, सामाजिक सुरक्षा जस्ता सवालमा संघर्ष गरेर नै संविधानमा नै वंशको अधिकार, प्रतिनिधित्वको अधिकार, विभेदकारी कानूनको अन्त्य गर्न सफलता प्राप्त गरेको छ, जसको परिणामस्वरूप संघीय संसदमा र स्थानीय तहमा सहभागिता र नेतृत्वमा वृद्धि भएको छ ।
दक्षिण एसियाका महिलाहरूमा तुलनात्मक रूपमा नेपाली महिलाहरू अग्रणी बनेका छन् । मुलुकको सर्वोच्च नेतृत्व महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख बनाउने सफलता जनताको बहुदलीय जनवादका कारण सम्भव भएको हो । जनताको बहुदलीय जनवादलाई प्रजातान्त्रिक अधिकारका सवालमा, श्रमिक अधिकारका सवालमा, समृद्ध नेपाल निर्माणका सवालमा, महिला अधिकारका सवालमा बुझ्नुपर्छ । यिनै आधारमा जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गर्नुपर्छ ।
अहिले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गर्न जनताको बहुदलीय जनवादको कार्यदिशामा अघि बढ्नुको अर्को विकल्प छैन । हामीसँग समृद्ध बन्ने बनिबनाउ बाटो पनि छैन । हिँड्दै सिक्दै अघि बढ्नुपर्छ । यसो गरेर नै नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ । यो युग जनताको बहुदलीय जनवादको युग हो । यो युग २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकार निर्माणबाट प्रारम्भ भयो । विभिन्न उतारचढावको सामना गरेर नै जनताको बहुदलीय जनवाद विकसित भएको छ र धेरै पक्षलाई आफूमा गोलबन्द गरेको छ । राज्य सञ्चालन र समृद्ध नेपाल निर्माणको क्रममा नै यसको रक्षा, प्रयोग र विकास गर्नुपर्छ । नेपालमा सामाजवाद निर्माण नहुँदासम्म जनताको बहुदलीय जनवाद मार्ग दर्शन गरिरहनेछ । यो नै आजको युग हो ।

Leave a Reply