हालै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सार्वजनिक गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजापछि शैक्षिक क्षेत्रमा विविध टीकाटिप्पणी र बहस चर्किएका छन् । मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र र कानून सङ्कायअन्तर्गत गत वर्ष २०८१ सालको कार्तिक-मंसिरमा खुलाइएको २७५ उपप्राध्यापक दरबन्दीका लागि कूल १ हजार ७१० जनाले लिखित परीक्षा दिएका थिए, तर तीमध्ये जम्मा १०० जनामात्र उत्तीर्ण भए । जुन ५.८ प्रतिशतमात्र हो । मागअनुसारको दरबन्दी नपुगेको र उत्तीर्णदर निकै न्यून भएकाले यो नतिजाले समग्र परीक्षाको गुणस्तर, तयारी प्रणाली र मूल्याङ्कन प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यस किसिमको नतिजाले त्रिविको परीक्षा प्रणालीको पारदर्शिता र निष्पक्षतासम्बन्धी बहसलाई तातो बनाएको छ । कतिपयले परीक्षाको कठिनाइस्तर बढी भएको, पाठ्यक्रम र सोधिएका प्रश्नबीच असमानता रहेको वा मूल्याङ्कन प्रक्रियामा त्रुटि हुनसक्ने सम्भावनाको संकेत गरेका छन् । अर्कोतर्फ केहीले उम्मेदवारको तयारी कमजोर भएको तथा उपप्राध्यापक पदको लागि अपेक्षित शैक्षिक र बौद्धिक क्षमताको स्तर पूरा नगरेको तर्क गरेका छन् । यस अवस्थाले आगामी दिनमा त्रिविले परीक्षा र मूल्याङ्कन प्रणाली सुधार गर्नु आवश्यक देखिन्छ, ताकि एकातिर योग्य जनशक्ति उत्पादन गर्न सकियोस् र अर्कोतिर दरबन्दी पूर्ति गरी विश्वविद्यालयमा शैक्षिक गुणस्तर कायम राख्न सकियोस् ।
आजका दिनसम्म उपप्राध्यापक परीक्षामा सहभागी हुन चाहने धेरै उम्मेदवारलाई नियाल्दा प्रस्ट हुन्छ कि उनीहरूले यस अवसरलाई पूर्ण प्राथमिकताका रूपमा लिएका छैनन् । अधिकांशले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको करियरलाई एकप्रकारको ‘अनिश्चित’ यात्राको रूपमा हेर्ने गरेका छन् । यसैले परीक्षामा सहभागी हुनु नै विकल्प जस्तो देखिन्छ, न कि मुख्य लक्ष्य । जब तयारी नै गम्भीर नहुने र विकल्पका रूपमा मात्र लिइने हो भने त्यस्तो अवस्थाबाट उत्कृष्ट नतिजा आउने अपेक्षा गर्नु स्वाभाविकभन्दा पनि अलि तर्कहीन देखिन्छ ।
यस समस्याको मूल कारण मेरो बुझाइमा त्रिविमा प्राध्यापक बन्ने पेशा र करियर ट्रयाकको अस्पष्टता तथा अनिश्चितता हो । यदि सेवा आयोगको परीक्षा समयमै पारदर्शी र विश्वसनीय रूपमा सञ्चालन हुने सुनिश्चित भयो भने र प्राध्यापकको करियर ट्रयाक स्पष्ट, मर्यादित तथा स्थायित्वयुक्त बनाइयो भने योग्य, प्रतिबद्ध र प्रतिभाशाली जनशक्ति स्वाभाविक रूपमा आकर्षित हुनेछन् । यसले मात्र त्रिविको शैक्षिक गुणस्तर वृद्धि हुनेछ । साथै शिक्षण क्षेत्रलाई स्थायी करियर विकल्पका रूपमा लिन चाहनेहरूको संख्यामा पनि वृद्धि हुनेछ ।
अधिकांशले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको करियरलाई एकप्रकारको ‘अनिश्चित’ यात्राको रूपमा हेर्ने गरेका छन् । यसैले परीक्षामा सहभागी हुनु नै विकल्प जस्तो देखिन्छ, न कि मुख्य लक्ष्य ।
त्रिभुवन विश्वविद्यालय आफैँमा एक विशाल समुद्र हो, जहाँ विभिन्न तहका विचार, क्षमता, एजेन्डा र व्यक्तित्व अटेका छन् । यही संस्थाभित्र उच्च साइटेसन भएका प्राध्यापक छन्, जसले अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा र अनुसन्धानमार्फत नेपाललाई चिनाएका छन् । यस्तै जीवनका अनेक कठिनाइ पार गर्दै देशको शैक्षिक भविष्यमा योगदान दिन समर्पित प्राध्यापक पनि त्रिविभित्रै सक्रिय छन् । यसको अर्थ त्रिविमा असाधारण सम्भावनाको भण्डार छ- तर ती सम्भावनालाई पूर्ण रूपमा उजागर गर्न आजको आवश्यक भनेको स्पष्ट, पारदर्शी र प्रेरणादायी शैक्षिक वातावरण तयार गर्नु हो ।
विश्वविद्यालयमा शैक्षिक सुधार र संस्थागत सुधारको बाटो
अब समय आएको छ कि हामी त्रिविलाई शान्तिपूर्ण, नियमित र स्वचालित शैक्षिक उन्नयनको थलो बनाउनेतर्फ गम्भीरतापूर्वक लागौं । यस्तो संरचना विकास गरौं, जहाँ प्रतिभाशाली, मेहनती र शिक्षाप्रति समर्पित व्यक्तिले ‘अनिश्चित भविष्य’ होइन, ‘सुनिश्चित अवसर’ को वातावरणमा करियर बनाउने प्रेरणा पाउन सकून् । त्रिविको शैक्षिक वातावरण त्यस्तो होस्, जहाँ लगनशीलता र प्रतिभाले पहिचान पाउँछ र विश्वविद्यालय केवल जागिरको थलो होइन, राष्ट्र निर्माणको गहिरो जिम्मेवारीको केन्द्र हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने उपप्राध्यापकलगायतका शैक्षिक सेवाका परीक्षा प्रणालीलाई सुधार र नियमितताको दिशामा लैजानु अत्यन्त आवश्यक भएको देखिन्छ । सेवा आयोगद्वारा लिइने परीक्षा समयमै र निश्चित वार्षिक तालिकाअनुसार सञ्चालन भएमा उम्मेदवारले आफ्नो तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउन सक्छन् । हालको अवस्थामा परीक्षा कहिले हुने भन्ने अनिश्चितता र ढिलाइले धेरै योग्यता र इच्छाशक्ति भएका उम्मेदवारहरूलाई निरुत्साहित बनाएको देखिन्छ । त्यसैले सेवा आयोगले परीक्षा प्रक्रिया नियमित, विश्वसनीय र समयमै सम्पन्न हुने सुनिश्चितता दिनु आजको प्रमुख आवश्यकता हो ।
साथै पाठ्यक्रमको स्पष्टता, प्रश्नपत्रको स्तर र मूल्याङ्कन प्रणालीमा पारदर्शिता कायम गर्नु अर्को महत्त्वपूर्ण पक्ष हो । उम्मेदवारले के आधारमा मूल्याङ्कन गरिन्छ भन्ने कुराको स्पष्ट जानकारी पाउनु आवश्यक छ, जसले निष्पक्षता र विश्वसनीयतामा विश्वास बढाउँछ । परीक्षापछि नतिजा सार्वजनिक गर्न धेरै समय लगाउनु, ढिलाइ गर्नु वा प्रक्रिया अस्पष्ट हुनुले विश्वविद्यालयको साखमा आँच आउनसक्छ । त्यसैले नतिजा समयसीमाभित्रै प्रकाशित गरिनु अत्यन्त आवश्यक छ, जसले सेवा आयोगप्रतिको विश्वास र शैक्षिक नियुक्तिको प्रक्रिया दुवैलाई सुदृढ बनाउनेछ ।
सेवा आयोगद्वारा लिइने परीक्षा समयमै र निश्चित वार्षिक तालिकाअनुसार सञ्चालन भएमा उम्मेदवारले आफ्नो तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउन सक्छन् । हालको अवस्थामा परीक्षा कहिले हुने भन्ने अनिश्चितता र ढिलाइले धेरै योग्यता र इच्छाशक्ति भएका उम्मेदवारहरूलाई निरुत्साहित बनाएको देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको करियर ट्रयाक अझ स्पष्ट, व्यवस्थित र विश्वसनीय बनाउनु अत्यन्त आवश्यक छ । विश्वविद्यालयमा नियुक्त प्राध्यापकहरूले आफ्नो क्यारियर विकासको दिशामा निश्चित मार्गचित्र नपाउँदा उनीहरूको प्रेरणा र प्रतिबद्धतामा नकारात्मक असर परेको देखिन्छ । त्यसैले सहायक प्राध्यापकबाट सहप्राध्यापक हुँदै प्राध्यापकसम्मको प्रवर्द्धन प्रक्रिया समयमै र मापदण्डअनुसार कडाइका साथ लागू गरिनुपर्छ । त्रिविले हालसालै सुरु गरेको अनुसन्धानात्मक विशिष्टताको आधारमा उपप्राध्यापक र सहप्राध्यापक छनोट गर्ने अभ्यास एक सकारात्मक पहल हो, जसले योग्य र अनुसन्धानमा केन्द्रित जनशक्तिलाई आकर्षित गर्न सहयोग गर्नेछ ।
प्राध्यापकको मूल्याङ्कनका लागि अनुसन्धान, अध्यापन र सेवा कार्यलाई प्रमुख आधार बनाउने स्पष्ट, पारदर्शी र वस्तुनिष्ठ मापदण्ड आवश्यक छ । विश्वविद्यालयभित्र कार्यसम्पादन मूल्याङ्कन प्रणाली परिणाममुखी र निष्पक्ष हुनुपर्छ, जसले योग्यतालाई सम्मान र जिम्मेवारीमा अभिवृद्धि गर्छ । विशेषगरी नयाँ प्राध्यापकहरूको नियुक्तिको क्रममा त्रिभुवन विश्वविद्यालयले उम्मेदवारको वैज्ञानिक अनुसन्धान क्षमतामा आधारित मूल्याङ्कन गर्नुपर्छ, जसमा गुणस्तरीय अनुसन्धान प्रकाशन, परियोजना नेतृत्व र वैज्ञानिक योगदान प्रमुख सूचक बन्नुपर्छ ।
साथै अन्तर्राष्ट्रिय प्रतिष्ठा प्राप्त विश्वविद्यालयबाट स्नातक गरेका उच्च क्षमताका प्रतिभाहरूलाई स्वागत गर्ने नीतिगत वातावरण निर्माण गर्नु अत्यन्त आवश्यक छ । जब शिक्षकमाथि निष्पक्ष मूल्याङ्कन हुन्छ र उत्कृष्टता प्रोत्साहित गरिन्छ, तब उनीहरूको प्रेरणा, नवप्रवर्तनशीलता र दीर्घकालीन प्रतिबद्धता स्वाभाविक रूपमा बढ्छ । यस्तो वातावरणले त्रिभुवन विश्वविद्यालयलाई एक उत्कृष्ट शिक्षण-अनुसन्धान केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ ।
नयाँ प्रवेश गर्ने प्राध्यापकका लागि प्रारम्भिक तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गरिनुपर्छ, जसले उनीहरूलाई विश्वविद्यालयको शैक्षिक मान्यतासँग परिचित गराउनुका साथै सञ्जाल विस्तारमा सहयोग पुर्याउँछ ।
त्रिभुवन विश्वविद्यालयलाई समावेशी, प्रेरणादायी र समर्पित शैक्षिक थलो बनाउन योग्य प्राध्यापकलाई सेवा सुरक्षा, प्रतिस्पर्धात्मक पारिश्रमिक र शैक्षिक स्रोतमा सहज पहुँच सुनिश्चित गर्नु अनिवार्य छ । अनुसन्धान अनुदान, सेमिनार तथा सम्मेलनमा सहभागिता, शोधपत्र प्रकाशनमा लाग्ने खर्चको भर्पाइ र पेशागत सीप अभिवृद्धिका अवसर (जस्तैः तालिम र कार्यशाला) विश्वविद्यालयले नियमित रूपमा उपलब्ध गराउनुपर्छ । यस्ता सुविधाले प्राध्यापकको मनोबल, उत्पादकता र दीर्घकालीन प्रतिबद्धतालाई सशक्त बनाउनेछ । साथै विश्वविद्यालयको प्रशासनिक संरचना र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रविधिको प्रयोगमार्फत सरल, छरितो र उत्तरदायी बनाइनु जरुरी छ, जसले समय र स्रोतको कुशलतम प्रयोग सुनिश्चित गर्छ ।
त्यसैगरी नयाँ प्रवेश गर्ने प्राध्यापकका लागि प्रारम्भिक तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गरिनुपर्छ, जसले उनीहरूलाई विश्वविद्यालयको शैक्षिक मान्यतासँग परिचित गराउनुका साथै सञ्जाल विस्तारमा सहयोग पुर्याउँछ । अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गरी संयुक्त अनुसन्धान परियोजनाहरू, विद्यार्थी-शिक्षक आदानप्रदान तथा अकादमिक सञ्जाल विस्तार गर्नु त्रिविको विश्वसनीयता र प्रतिस्पर्धात्मकता बढाउने मार्ग हो ।
यसका लागि त्रिविले स्पष्ट शैक्षिक मिसन तय गरी समन्वित सुधार कार्यक्रम लागू गर्नु आवश्यक छ । पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीबीच परस्पर विश्वास, संवाद र सहकार्यको संस्कार विकास गर्न सकेमा मात्र त्रिभुवन विश्वविद्यालय एक गतिशील र गुणस्तरीय शैक्षिक केन्द्रको रूपमा स्थापित हुनेछ ।
(न्यौपानेले चीनस्थित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेसबाट भूगोल विषयमा विद्यावारिधि गरेका छन् ।)

Leave a Reply