काठमाडौं । राष्ट्रिय युवा परिषद्ले युवाको रोजगारमूलक सिप विकासका लागि विभिन्न ६ वटा क्षेत्रमा ३४० जना युवाका लागि सीपमूलक तालिम एकैसाथ सञ्चालन गरेको छ ।
परिषद्ले सातै प्रदेशका विभिन्न पालिकामा १६० देखि २२५ घण्टे सम्मका तालिम सञ्चालन गरेको हो । परिषदबाट पहिलो पटक सञ्चालन गरिएको सिप विकास तालिममा यस वर्ष १८० घण्टे जुनियर ब्युटिसियन, १६७ घण्टे टेलर(गार्मेन्ट मेसिन अपरेटर, १६० घण्टे इलेक्ट्रिसियन, १६० घण्टे कुक, २२५ घण्टे मोबाइल रिपेयरिङ् र १६० घण्टे वेकरी तालिम सञ्चालन गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
जस अन्तर्गत कैलालीको धनगढी, रोल्पाको लिवाङ्, काठमाडौंको गोंगवु र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा १८० घण्टे जुनियर ब्युटिसियन तालिम सञ्चालन गरिएको छ ।
यसैगरी काठमाडौंको टोखा, वर्दियाको वारवर्दिया नगरपालिका, सप्तरीको कल्याणपुर र ललितपुरको महालक्ष्मी नगरपालिकामा १६७ घण्टे टेलर (गार्मेन्ट मेसिन अपरेटर) तालिम सञ्चालन गरिएको छ ।
यसैगरी कास्कीको पोखरा, काठमाडौंको गोंगवु र चाबहिल तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १६० घण्टे इलेक्ट्रिसियन तालिम सञ्चालन गरिएको छ । त्यस्तै ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र मोरङ जिल्लाको विराटनगरमा १६० घण्टे कुक तालिम सञ्चालन गरिएको छ ।
यस्तै काठमाडौंको कोटेश्वरमा २२५ घण्टे मोबाइल रिपेयरिङ् तालिम तथा काठमाडौंकै तीनकुने र सुर्खेतको वीरेन्द्रनगरमा १६० घण्टे वेकरी तालिम सञ्चालन गरिएको परिषदका तालिम शाखा प्रमुख कर्ण कुवरले जानकारी दिए ।
सरकारले घोषणा गरेको आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई टेवा पुर्याउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिएको उपाध्यक्ष बस्नेतले बताए । उनले भने, ‘युवा पलायन रोक्न र मुलुक भित्रै स्वरोजगार र आत्मनिर्भर बनाउन यस खालको तालिम थालिएको हो।’

Leave a Reply