काठमाडौं । ‘गैँडा’ उपनामले परिचित कलाकार निर्मल शर्माले आजभन्दा दुई महिना अगाडी अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको एक चलचित्रमा काम गरेका थिए । चलचित्र गर्नुपूर्व उनले पारिश्रमिकको लागि कागजी सम्झौता गरे ।
३४ प्रतिशत पारिश्रमिक लिएपछि चलचित्रमा उनको काम सुरु भयो । रिलिजपूर्व यो चलचित्रको खुबै चर्चा थियो । बक्स अफिसमा तहल्का पिट्ने अनुमानबीच उल्टो परिणाम आयो । चलचित्र फ्लप भयो।
ठूलो लगानीमा बनेको चलचित्र फ्लप भएपछि कलाकारले पाउनुपर्ने पारिश्रमिक रोकियो । चलचित्रबाट कमाएर बाँकी दिन सम्भव भएन । काम गरेको दुई महिना बढी बितिसक्दा पनि पारिश्रमिक नआएपछि निर्मलले आफूले पाउनुपर्ने ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले आज आफ्नो सामाजिक संजालमा एक स्टाट्स लेख्दै सो घोषणा गरेका हुन् ।
उनले आफ्नो स्टाटसमा चलचित्रको नाम खुलाएका छैनन् । हामीले फोन गरे बुझ्न खोज्दा पनि नाम खुलाउन पनि चाहेनन् । तर उनको संकेत बुझ्दा त्यो चलचित्र हो, गत वर्ष चैत २९ मा रिलिज भएको ‘कर्मा’, जहाँ विपिनलाई एक्सन अवतारमा उतारिएको छ । विपिनको एक्सन अवतार हेर्न उनका फ्यान र शुभचिन्तकहरु हलमा उर्लिने निर्माण टिमको अपेक्षा थियो । तर उनको एक्सनले दर्शक तान्न सकेन ।
निर्मलले शो चलचित्रमा आफूले कति पारिश्रमिकको सम्झौता गरेको भन्नेसमेत खुलाउन चाहेनन् ।
उनले भने, ‘मैले पारिश्रमिक नलिने भनेर आफ्नो इच्छाले भनेको हो । बाँकी कुन र कति भन्नेबारे म खुलाउन चाहन्नँ ।’
पारिश्रमिक नपाउने निश्चित देखेपछि ‘स्टन्ट’ गर्नुभएको त होइन भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो हैन, मसँग सम्झौता गरेको कागज अहिले पनि छ । मैले अहिले पनि पारिश्रमिक माग्न पाउँछु । तर चलचित्र बनाउँदा उहाँहरुले गरेको दुख र रिलिजपछि चलचित्रले पाएको नपत्याउँदो असफलता देखेर मैले आफै पाउनुपर्ने पारिश्रमिक त्यागेको हो ।’
त्यसो त अहिले रिलिजमा आएका अधिकांस फिल्म फ्लप नै छन् । थोरै चलचित्रले मात्रै लगानी उठाइरहेको अवस्था छ । यस्तोमा आफूले पाउने पारिश्रमिक नै त्यागेर कलाकारले कसरी जीवन धान्न सक्लान् भन्ने प्रश्न उठ्छ ।
यस विषयमा निर्मल भन्छन्, ‘सबैले त्याग्नुपर्छ भन्ने हैन, मैले उहाँहरुको अवस्था र दुख देखेर यो निर्णय लिएको हो । अरुले पनि यही गर्नुपर्छ भन्ने छैन ।’
यसअघि पनि निर्मलले अभिनय गरेका थुप्रै चलचित्रहरु फ्लप नभएका हैनन् । तर उनले पारिश्रमिक नै त्याग्ने घोषणा गरेका थिएनन् ।
उनी भन्छन्, ‘म यो क्षेत्रमा लागेको २६ वर्ष भयो । म आफैं पनि निर्माता भएका कारण उहाँहरुको समस्या बुझ्न सक्छु । एक त म धेरै चलचित्र पनि गर्दिनँ । निर्माता भएका कारण उहाँहरुको समस्या मेरो मनमा प¥यो । भगवानले खान–लाउन पुग्ने दिनु नै भएको छ, यो एउटाको पारिश्रमिक त्याग्दा केही फरक पर्दैन भनेर मात्र हो । बाँकी अरु केही हैन ।’
पछिल्लो समय कलाकारको पारिश्रमिक चुलिएको छ । चलेका ‘स्टार’ ले एउटै चलचित्रबाट ५०–६० लाख लिएको समाचारहरु आइरहेका छन् । जबकि ती चलचित्रले कहिलेकाहीँ उनीहरुले लिएको पारिश्रमिक बराबर पनि ग्रस कलेक्सन गर्दैनन् ।
निर्मललाई भने बाहिर समाचारमा आएकै बमोजिम पारिश्रमिक कलाकारले लिएकोमा शंका छ ।
उनी भन्छन्, ‘चर्चा त जे पनि हुन्छ । तपाई–हामीले कागजमा देखेका छौ र ? भन्न त यहाँ १ करोड नै भन्दा पनि भयो । तर त्यसको पुष्टि खै ? यी सबै मार्केटिङ स्ट्रेटेजीहरु हुन् । जबसम्म आँखाले देखिदैन, तबसम्म केही भन्न सकिदैन । यो बारेमा मलाई थाहा भएन ।’
अहिले अधिकांस फिल्म फ्लप हुँदा पनि फिल्म निर्माणको संख्या भने घटेको छैन । जति नै निर्माता डुबेपनि चलचित्र बन्ने र बनाउने क्रम जारी नै छ । आखिर किन निर्माताहरु यसरी सिनेमामा आँखा चिम्लेर पैसा खन्इाइरहेका होलान् ?
यसबारे निर्मल भन्छन्, ‘यसका पनि धेरै कारणहरु छन् । कोही ग्ल्यामरको लोभले चलचित्र बनाउन आउँछन् । कोहीलाई चलचित्र क्षेत्रको डार्क साइडबारे थाहै हुँदैन । कोही अध्ययन नै नगरी आउँछन् । कतिलाई चलचित्र बनाउन आउँछ तर मार्केटिङ गर्न जान्दैनन् । त्यसैले जबसम्म यो क्षेत्रको डार्क साइड नबुजी, राम्ररी अध्ययन नगरी र ग्ल्यामरको लोभले मात्र निर्माताहरु चलचित्र बनाउन होमिन्छन्, तबसम्म फ्लप हुने प्रकिया चलिरहन्छ ।’

Leave a Reply