काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सुरेश आचार्य र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोलीले कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधीन १३२ केभी प्रसारण लाइन आयोजनाको कार्य प्रगति निरीक्षण तथा अनुगमन गरेका छन् ।
यो प्रसारण लाइनले सम्पूर्ण कर्णाली प्रदेशमा देखिएको विद्युत् समस्या समाधान गर्ने, साना जलविद्युत आयोजना निर्माणका लागि बाटो खोल्न र समग्र कर्णालीको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने भएकाले नेपाल सरकार तथा विद्युत् प्राधिकरणको उच्च प्राथमिकतामा रहेको छ ।
लाइन निर्माणको क्रममा बाँकेको बानियाभार क्षेत्रमा तीन वटा पोल निर्माण र कन्डक्टर तान्न स्थानीयबाट अवरोध आएपछि काम रोकिएको थियो । सोही स्थानमा मन्त्रालयका सचिवसहितका अधिकारीहरूले निरीक्षण गरेका हुन् ।
अवरोध भएको स्थानमा कसरी कार्य अगाडि बढाउने भन्ने सम्बन्धमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित बैठक तथा छलफल भएको थियो ।
बैठकमाले सम्पूर्ण कर्णालीवासीलाई गुणस्तरीय, भरपर्दो, विश्वसनीय विद्युत् आपूर्ति गर्ने यो परियोजना कुनै पनि बहानामा रोकिन नहुनेमा जोड दिएको थियो ।
वास्तविक पिर मर्कामा परेका जग्गाधनीसँग छलफल र वार्ता गर्न सकिने भए पनि पीडितको नाममा विभिन्न सरोकारवाला वा अन्य गैरपीडित पक्षसँग कुनै छलफल वा परामर्श नहुने स्पष्ट पारे । विकास निर्माणमा कार्यमा अवरोध पुराउनेप्रति प्रशासन निर्ममतापूर्वक प्रस्तुत हुने चेतावनी पनि उनले दिए ।
कोहलपुरदेखि सुर्खेतसम्म नै स्थलगत निरीक्षण गरेको टोलीले विभिन्न स्थानमा निर्माण व्यवसायीबाट भएको कार्यको गुणस्तर अनुगमन समेत गरेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई समेत भेट गरी सम्पूर्ण कर्णालीको विद्युतीकरणका लागि विद्युत् प्राधिकरणले प्राथमिकताका साथ कार्य गरेको जानकारी गराइएको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलालले कडेलले प्रदेश तथा स्थानीय सरकारहरू विकास निर्माणको कार्यमा हातेमालो गर्न तयार रहेको र प्राधिकरणले समेत विकास निर्माणको कार्यमा अधिकतम छलफल र परामर्श गरी कार्य गर्नुपर्ने बताएका थिए ।

Leave a Reply