लुम्बिनीका चार उपमहानगरको बजेट: सबैभन्दा धेरै बुटवलको, कम नेपालगन्जको

रुपन्देही । लुम्बिनीका चार उपमहानगरले ल्याएको बजेटमा सबैभन्दा ठूलो आकार बुटवलको रहेको छ भने सबैभन्दा कम नेपालगन्जको छ । बुटवलले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ।

सोमबार नगर सभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने बताइन्।

बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ। बुटवललाई आगामी आर्थिक वर्ष २०८२/८३मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ। जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

यस्तै बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

बुटवललाई पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तरगत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाऊँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ।

यस्तै ज्येष्ठ नागरिक र असहायहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ।

यस्तै गरी, नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्यमी महिलाहरूका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रूपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरूलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन्।

किसानहरूका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन स्वरूप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ। यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ। बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

घोराहीको २ अर्ब २९ करोड

दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलवार भएको नगरसभाको १७ अधिवेशनमा उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड २९ लाख रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् ।

आर्थिक वर्ष ०८२/०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये दश करोड ८३ लाख पूँजीगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको बजेट प्रस्तुत भएको हो ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तीन करोड ९२ लाख ८ हजार रुपैयाँमध्ये तीन करोड ८७ लाख पूँजिगत र पांच लाख ८ हजार चालु खर्च, संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय सामानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा, रजिष्टेशन, बैंक मौज्दातसमेत बाट एक अर्ब ४२ करोड ९२ हजार रुपैयाँमध्ये ५६ करोड १९ लाख ८७ हजार चालू खर्च र ८५ करोड ८१ लाख पाँच हजार पुँजीगत खर्च रहेको छ ।

पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख ५० हजार, सरसफाइ, वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत दुई करोड २९ लाख २० हजार, सामाजिक विकासतर्फ आठ करोड ३० लाख ४५ हजार, शिक्षा, युवा तथा खेलकुद आन्तरिकतर्फ ८ करोड ६९ लाख ३० हजार रुपैयाँ, आर्थिक विकासअन्तर्गत छ करोड ६७ लाख ४४ हजार, खेलकुद प्रतियोगिता सञ्चालनका लागि ३७ लाख ५० हजार, उज्यालो प्रशंसा कार्यक्रमका लागि १५ लाखको बजेट प्रस्तुत भएको छ ।

तुलसीपुर उपमहानगरपालिले ल्यायो २ अर्ब बजेट

दाङको तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब बढीको बजेट ल्याएको छ । पालिकाको १७ औँ नगगरसभामा उपमेयर स्यानी चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८ सय ५५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन ।

चालु आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँ बजेट सभामा पेश गरिएको थियो । बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइएको नगर प्रमुख टिकाराम खडकाले जानकारी दिए ।

नेपालगन्जको सबैभन्दा कम १ अर्ब ६४ करोड

नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । मङ्गलवार नगरसभाको १७ औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेका हुन् ।

प्रस्तुत बजेटमा वडा कार्यालयको हकमा २० करोड रुपैयाँ र महाशाखा–शाखामार्फत सञ्चालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ सिलिङ उपलब्ध गराइएको छ । यस्तै चालू खर्चतर्फ ३८ करोड ५६ लाख रुपैयाँ छुट्याइएको छ । आम्दानीतर्फ वित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख हुने प्रक्षेपण गरिएको छ ।

त्यसअघि नगरसभाको १७औँ अधिवेशनमा सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग–व्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, गड्यौला मलको प्रयोग प्रवर्द्धन गर्ने, जडीबुटी खेतीलाई प्रवर्द्धन गर्ने, पशुजन्य संक्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरु लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको व्यापारिक केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिने भएको छ ।

त्यसैगरी, व्यावसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रका रूपमा विकास गर्ने, नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेस्टर्न नेपाल कार्यक्रममा आबद्ध गर्ने, ज्येष्ठ नागरिकका लागि घरघरमा गई निःशुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत रहेका छन् ।

यस्तै सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाइने, ‘ग’ वर्गको अपांगता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको स्वास्थ्य बिमा गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, नयाँ घर बनाउने नक्सा पाससमेतको हकमा सफ्टवेयर प्रणाली अनिवार्य प्रयोग गरी एक घर एक रुखको अवधारणा अनुरुप भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, संचार क्षेत्र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसंचार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय समेटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *