काठमाडौं । पर्यटकीय यातायातका सवारीचालक दक्ष भएमा यात्रा गर्दा पर्यटक र चालकलाई सहज हुने नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले बताएका छन् ।
बुधबार काठमाडौंमा पर्यटक सवारीचालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षणमा उनले चालक आफैँ सक्षम भएमा आफू र सँगै यात्रामा रहेका पर्यटकलाई सजिलो हुने बताएका हुन् ।
‘प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय बनाउनेछ । चालक दक्ष भएमा यात्रा गर्दा सहज हुने भएकाले आफ्ना लागि अवसरका ढोका खुल्नेछ’, उनले भने, ‘यात्रा गरिरहँदा पर्यटकसँग गर्ने व्यवहार सिक्नेछन् । यात्राभर रहेका पर्यटक आफ्नै घरको पाहुँना हुन् भनेर व्यवहार गरिनुपर्छ ।’
चालकमात्र नभई सहचालक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने अध्यक्ष बास्तोलाले बताए ।
यात्रा अवधिभर सहचालकले पर्यटकलाई जानेका विभिन्न ठाउँको बारेमा जानकारी दिनुपर्ने उनको भनाइ छ ।
सवारीचालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षणका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले लगानी बढे पनि पर्यटकको संख्या कम भएको बताए ।
‘आवश्यक आधारभूत पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आइरहेका छन्’, उनले भने, ‘राज्य जिम्मेवार भएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटकीय पूर्वाधार प्रचारप्रसार हुनेछ ।’
नेपालीको व्यवहारले पर्यटकको संख्या बढ्ने र पुनः आउने पर्यटकको संख्या बढ्ने उनले बताए ।
पछिल्लो समय यातायातका पूर्वाधार निर्माण हुने क्रम बढेकाले अबको एकडेढ वर्षमा मुलुकभरका सडक एक-अर्कासँग जोडिने जोशीले जानकारी दिए।
प्रशिक्षणमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ सई राजीव बिष्टले प्रशिक्षणमा सबैभन्दा चालक जिम्मेवार भएमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । चालकहरूले ट्राफिकको लागि नभई आफ्ना लागि ट्राफिक नियम पालना गर्नुपर्ने उनको भनाइ छ ।
प्रशिक्षणमा ९२ चालक तथा सहचालक सहभागी थिए ।

Leave a Reply