सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये ११ ले बजेट–नीति कार्यक्रम ल्याए

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ११ स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

संविधान अनुसार असार १० भित्र स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार सिन्धुपाल्चोकका ३ नगरपालिकासहित ८ गाउँपालिकाले नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

सुनकोशी गाउँपालिकामा भने नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्षसहितका जनप्रतिनिधि गाउँ सभाको कार्यक्रममा सहभागी नभएपछि बैठक हुन सकेन ।

सिन्धुपाल्चोकका मेलम्ची,बाह्रविसे र चौतारा साँगाचोकगढी नगरपालिका र अन्य गाउँपालिकाले नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले जीविकोपार्जन,शिक्षा,खेलकुद लगायतलाई प्राथामीकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

सुनकोशीमा कांग्रेसका अवरोध

सुनकोशी गाउँपालिकामा उपाध्यक्षसहित बहुमत सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । गाउँ सभा सञ्चालन भइरहँदा उपाध्यक्ष कान्छी लामा आफ्नै कार्यकक्षमा रहेकी थिइन् ।

नेपाली कांग्रेस सुनकोशीले सोमबार गाउँपालिकामा आफ्ना १६ बुँदे मागपत्र पेश गर्दे माग पुरा गराउन दबाब दिएको थियो । सुनकोशी गाउँपालिकाका पुर्व अध्यक्ष श्रवणकुमार जिसीसहितको कांग्रेस नेता कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनालाई ज्ञापन–पत्र बुझाएको थियो ।

कांग्रेस नेता कार्यकर्ताहरु गाउँपालिकालाई ज्ञापन पत्र बुझाउन आएपनि शैली र गतिविधि भने अत्यन्तै अराजक र गुण्डागर्दी शैलीमा कांग्रेस नेता कार्यकर्ताहरु उत्रेका थिए । पुर्व गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले वर्तमान गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनालाई ‘सिंगल सिगल’ भिड्ने हो भन्दै बसेको स्थानबाट पटक पटक उठेका थिए । सुनकोशी–७ का अध्यक्ष इश्वर तिमिल्सिनाले अवस्थालाई सम्हालेका थिए ।

सुनकोशी गाउँपालिका–२ ठोकर्पा स्वास्थ्य चौकी भवन गाउँपालिकाको असहमतिकाबीचमा पनि पूर्व मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेपछि कांग्रेस नेताहरु गाउँपालिका अध्यक्ष तिमिल्सिनासँग चिढिएका छन् ।

टेरामक्स उपकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्व सूचना तथा सञ्चार मन्त्री बस्नेतलाई मुद्दा दायर गरेपछि मुद्दा दर्ता गरेको व्यक्तिबाट स्वास्थ्य भवन उद्घाटन गर्न नहुने भन्दै गाउँपालिकाकाले विज्ञप्ती प्रकाशित गरेको थियो । नेपाली कांग्रेसले बुझाएको ज्ञापन–पत्रमा उक्त विज्ञप्ती प्रकाशित गर्नु गलत रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने माग समेत गरेका छन् ।

निर्धारित मितिभित्रै गाउँ सभा सम्पन्न गर्नका लागि उपाध्यक्ष सहित वडा अध्यक्षहरुसँग पटक पटक छलफल भएपनि कुरा नमिलेको सुनकोशी गाउँपलिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । निर्धाधित मिति भित्रै बजेट र नीति कार्यक्रम ल्याउन नसकेपछि संघीय सरकारले दिने अनुदानमा समेत यो वर्ष कटौती गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

‘अघिल्लो वर्षपनि असार १० मा बजेट र नीति कार्यक्रम ल्याउन सकेनौ,त्यसले गर्दा आउने वर्ष संघीय अनुदानमा ५० लाख जति बजेट कटौती भएको छ अध्यक्ष तिमिल्सिनाले भने–‘यो वर्ष पनि हुन सकेन,हामीलाई थप घाटा भएको छ ।’ सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी तामाङ भने अध्यक्ष लचक नभएकाले आफूहरु गाउँ सभामा सहभागी नभएको बताइन् ।

Comments

One response to “सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये ११ ले बजेट–नीति कार्यक्रम ल्याए”

  1. Mukesh Senchuri Avatar
    Mukesh Senchuri

    नीति तथा कार्यक्रम बहिष्कार गर्नु जनताको होइन, निरंकुश प्रवृत्तिको विरोध हो। आफ्नै जनप्रतिनिधिमाथि अपमानजनक व्यवहार भयो, त्यसकै प्रतिवादस्वरूप हामीले लोकतान्त्रिक तरिकाले असहमति जनाएका हौं। जनताको अधिकार कुण्ठित गर्न हामी कहिल्यै तयार छैनौं, तर शक्ति र अहंकारको दुरुपयोगको पनि चुपचाप स्वीकार गर्दैनौं। जनता होशियार छन्, सबथोक बुझ्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *