काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा छानबिन समिति बनिसक्दा पनि किन राजीनामा नदिएको भन्दै प्रश्न गरेका छन् ।
बजेटमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले बोलिसकेपछि स्पष्टीकरण माग गर्ने क्रममा उनले छानबिन समिति बनिसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्ने चलन रहेकोमा किन राजीनामा नदिएको हो भन्दै प्रश्न गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी सांसद मोदीले भने, ‘खासमा आफूमाथि वा मन्त्रीमाथि गम्भीर खालको आरोप लागेपछि वा छानबिन समिति बनेर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा वा मार्ग प्रशस्त गर्ने चलन छ । ता कि अनुसन्धानमा बाधाविघ्न वा प्रमाण नष्ट नहोस् भनेर । पछि अनुसन्धान सकेर बेदाग भएमा र पश्चात् पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र जीवन सादा जीवन उच्च विचार पनि भएका छन् । तसर्थ यो किन गर्नुभएन ?’
स्पष्टीकरणको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले कर्मचारीमाथि छानबिन भइरहेका बेला मन्त्रीले नै राजीनामा दिँदै जाने हो भने यसअघि कति मन्त्रीले राजीनामा दिए र अब कति मन्त्रीले दिने हो भन्दै प्रतिप्रश्न गरे ।
उनले भने, ‘‘माननीय सदस्यले मेरो राजीनामा किन गर्नुभएन भनेर सोध्नुभएको छ । यसका बारेमा मैले धेरै कुरा निवेदन गरिसकेको छु । कस्तो पद्धति बसाउने भन्ने कुरा हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि ठाउँमा भएको अनियमितता, भ्रष्टाचारजन्य कार्य छानबिन गर्ने अख्तियारी प्राप्त गरेको छ । राष्ट्रसेवक कर्मचारीका बारेमा अथवा अन्य कसैका बारेमा पनि अनुसन्धान, छानबिन हुनसक्छ । एउटा कार्यालयमा हुने छानबिन र अनुसन्धान अनावश्यक रुपले मन्त्रीसँग जोडेर मन्त्रीले राजीनामा दिनुपर्ने भयो भने अहिलेसम्म कति मन्त्रीले दिइसक्नुपर्ने थियो र अब कति मन्त्रीले दिनुपर्ला ?’
गृहमन्त्री लेखकले माओवादी सांसद मोदीलाई पनि मन्त्री भइसकेको सम्झाउँदै राजीनामा दिनुमात्रै ठूलो कुरा नभएको भन्दै राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘स्वयम् माननीय पनि मन्त्री भइसक्नुभएको हुनाले त्यतातिर मैले ध्यानाकृष्ट मात्रै गर्न खोजेँ । मैले यति निवेदन गर्छु । त्यसकारण कस्तो व्यवस्था गर्ने भन्ने कुरा हो । राजीनामाको मात्रै विषय होइन र त्यो ठूलो कुरा पनि होइन, तर के व्यवस्था बनाउने भन्ने हो । एउटा कार्यालयमा कुनै कर्मचारीका माथि अख्तियारले छानबिन गर्न थाल्यो भने मन्त्रीले राजीनामा दिँदै जाने हो भने हिजो कहाँ पुगिन्थ्यो होला, अब कहाँ पुगिन्छ होला ? यतिमात्रै मैले ध्यानाकर्षण गराएँ ।’

Leave a Reply