अमला रोकालाई सम्पत्ति शुद्धीकरणले छोड्यो, भारतबाट भैरहवा हुँदै काठमाडौं आएकी थिइन्

काठमाडौं । बहुचर्चित ६१ किलो सुन काण्डमा पक्राउ परेकी अमला रोकालाई सोमबार काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडे लगत्तै सम्पत्ति शुद्धीकरण मुद्दामा पुनः पक्राउ परिन् । तर, त्यहाँबाट पनि हाजिर जमानीमा रिहा भएकी छन् ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाहिरबाट सोमबार पुनः नियन्त्रणमा लिई उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो । विभागले सोमबार राति नै एक जना आफन्त बोलाएर हाजिर जमानीमा रिहा गर्‍यो ।

विभाग स्रोतका अनुसार उच्च राजनीतिक तथा प्रशासनिक दबाबमा उनलाई रिहा गरिएको हो । प्रहरीले विभागमा बुझाए लगत्तै पुनः प्रहरी हिरासतमै राख्नका लागि पत्र लेखिँदै थियो । पत्र लेखि नसक्दै उनलाई हाजिर जमानीमा छुटाउन व्यापक दबाब आएको स्रोतले जनायो ।

उनीसँग स्रोत नखुलेको करोडौँ रकमबारे विभागमा दुई वर्षअघि नै उजुरी परेको थियो । सुन काण्डमै पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा रहेका उनका पति दावा छिरिङमाथि सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ । दावामाथिको अनुसन्धानका क्रममा कतिपय रकम अमलाको खातामा देखिएको र उनीसँगै रहेको सम्पत्तिको पनि स्रोत स्पष्ट नभएपछि विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई पत्र लेखेर उपस्थित गराउन भनेको थियो ।

सिआईबीस्थित आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनको सम्पत्तिसम्बन्धी सम्पूर्ण अनुसन्धान विभागबाटै भएको हो । ‘हाम्रो हिरासतमा भएकोले उपस्थित गराइदिनु मात्रै भनिएको थियो’, उनले भने ।

एक वर्ष भारत, चार महिना भैरहवापछि काठमाडौं
सुन काण्डमा फरार रहेकी अमला रोका घटना लगत्तै काठमाडौं उपत्यकामै लुकेको र अन्य प्रतिवादी पुर्पक्षका लागि थुनामा जानुअघि स्थल मार्गबाट भैरहवा हुँदै भारत गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानकर्मी प्रहरीका अनुसार, उनी उपत्यकाभित्र लुकेको अवस्थामा पनि पक्राउ गर्न सकिने स्थिति थियो । तर, पक्राउ नगर्न प्रहरीकै केही उच्च अधिकारीसमेतको दबाबका कारण पक्राउ परिनन् । त्यसपछि उनी भागेर भारत गइन् । भारतमा एक वर्ष बसेपछि फर्किएर भैरहवामा एक होटलमा कोठा लिएर चार महिना बसिन् । त्यसपछि काठमाडौंको टोखामा फ्ल्याट भाडामा लिएर बसेकी थिइन् ।

काठमाडौं बसाइँको तीन महिनापछि प्रहरीले उनलाई फेला पारेको थियो । उनले भैरहवाको होटलमा बस्न थालेदेखि नै लिएको मोबाइल नम्बरका आधारमा प्रहरीले खोजी कार्य गर्दा टोखामा फेला परेकी हुन् ।

सुन काण्ड भएको २३ महिनासम्म उनी फरार हुनु र रहस्यमय ढंगले गत शुक्रवार पक्राउ पर्नुमा ‘सेटिङ’ हुनसक्ने आशंकासहित नेपाल प्रेसले शनिवार समाचार लेखेको थियो । समाचारमा उल्लेख भएजस्तै उनको गिरफ्तारी सुनकाण्डको मुद्दामा अनुसन्धान गर्न भन्दा चोख्याउने प्रपञ्चका रूपमा रहेको कुरालाई अदालतको आदेश र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कदमले बल पुर्‍याएको छ ।

अनुसन्धानरत एक प्रहरीका अनुसार उनलाई पक्राउ गरे लगत्तैबाट केही प्रहरी र प्रशासक उच्च चासोका साथ उनको रिहाइका निम्ति तल्लीन थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *