सुदूरपश्चिम प्रदेशमा २२ प्रतिशतले मात्रै गरे स्वास्थ्य बीमा

डोटी । सुदूरपश्चिम प्रदेशमा २२ प्रतिशत जनताले मात्रै स्वास्थ्य बीमा गरेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा प्रदेशको कुल जनसंख्याको २२ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गराएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तर्फबाट आफ्नो प्रस्तुती राख्दै स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सो अवधीमा राष्ट्रियस्तरमा २८ प्रतिशतले स्वास्थ्य बिमा गरेको भएपनि सुदूरपश्चिममा भने २२ प्रतिशतले मात्रै गरेको बताए ।

उनले भने ‘कोशी प्रदेशमा ४९ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन्, मधेशमा १० प्रतिशतले मात्रै बिमा गरेको देखिन्छ ।’ उनले गण्डकीमा ४५, बागमतीमा ३१, कर्णालीमा २८ र लुम्विनीमा २३ प्रतिशलले स्वास्थ्य बिमा गरेको वताए ।

सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत घरधुरी मात्रै स्वास्थ्य बिमाले कभर गरेको मलासीले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । उनले राष्ट्रियस्तरमा ३९ प्रतिशत घरधुरी कभरेज भएको बताए ।

एक पटक बीमा गरेपनि नवीकरण नगर्ने देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा खगेन्द्र बम बताउँछन् । उनी स्वास्थ्य बीमाको विषयमा जनतालाई सही सूचना नभएको वताउँछन् ।

‘स्वास्थ्य बीमालाई पनि अलि व्यवहारिक र बैज्ञानिक वनाउनु जरुरी छ’ निर्देशक डा बम भन्छन् ‘देशले स्वास्थ्य बीमामा झण्डै ४४ अर्व रुपैयाँ खर्च गर्छ तर करीव चार अर्व रुपैयाँ मात्रै आम्दानी भईरहेको छ ।’ निर्देशक बलमे स्वास्थ्य बिमाको सहयोग कस्तो नागरिकलाई दिने भन्ने बिषयमा अध्ययन हुनु पर्ने वताए ।

स्वास्थ्य बिमा कार्यक्रमप्रति सेवाग्राहीको नकारात्मक धारणा रहेको वताउँछन् डोटी जिल्ला अस्पतालका मेडिकल सुपरी–टेण्डण्ट डा सुजित कुमार मण्डल ।

उनी भन्छन् ‘बीमाको सुबिधा लिन झञ्झटिलो छ, बिमामा पाईने औषधी गुणस्तरीय छैन भन्ने भ्रम छ ।’ उनले सर्वसाधारणले स्वासथ्य बिमाको सदुपयोग गर्न नसकेको बताए ।

‘केही टाठा व्यक्तिहरु आउँछन्, निःशुल्क त हो नि भन्दै समस्यै नभएको कुरा पनि चेकजाँच गराउँछन्’ डा सुजित भन्छन् ‘कहिलेकाँही त आफन्तहरु समेत ल्याएर बिमा मिलाउन दबाब दिन्छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *