काठमाडौं । गए रातिको वर्षातका कारण अवरुद्ध सिनामंगल सडक सुचारु भएको छ । अत्यधिक वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वार (गोल्डेन गेट) अगाडि एउटा रुख ढल्दा बिहान १२ बजेदेखि उक्त रुटको सवारी आवागमन प्रभावित भएको थियो ।
त्यस क्रममा बा ८४ प २४३५ नम्बरको मोटरसाइकलमा क्षति पुगेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बताए ।
प्रहरी र सशस्त्रको सक्रियतामा रुख पन्छाइएपछि सवारी आवागमन सुचारु भएको छ । सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार नम्बर २० विपद् उद्धार उपत्यका गण सीनामंगलबाट खटिएको सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले गए राति पौने १ रुख पन्छाएर सडक सुचारु गराएको हो ।
रुखले च्यापिएको मोटरसाइकल पनि सोही टोलीले निकालेको थियो । मोटरसाइकल चालक सुरक्षित रहेको सहायक प्रवक्ता थापाले जनाएका छन् ।
उपत्यका ट्राफिक प्रमुख अधिकारीका अनुसार निरन्तरको वर्षाका कारण नदीका तटीय क्षेत्रमा आज विहानैदेखि सतर्कतापूर्वक सवारी आवतजावत गराउन ट्राफिक सक्रिय छ ।
विशेषतः कोरिडोर सडकहरूमा सडक भासिएर खाल्डो परेको र किनाराको संरचना पानीले बगाएका ठाउँमा सतर्कता अपनाउन ट्राफिक परिचालित भएको छ ।


Leave a Reply