काठमाडौं । पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर गरिएकाहरूमा थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पस इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार एवं मूल्यांकन समितिका लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँ छन् ।
अख्तियारका अनुसार सदस्य सचिव थापासमेतको मिलेमतोमा पूर्वअनुभव र कागजातहरुको प्रयोग समेत नगरी सोझै खरिद गर्ने गरी ३ वटा कम्पनीबाट दररेट माग गरी Apple Engineering Professional Consultancy Pvt. Ltd.लाई कार्यादेश दिई परामर्श सेवा खरिद गरी मिलेमतोमा सम्बन्धित कार्यमा अनुभव नै नभएको परामर्शदाताबाट फर्जी कोटेशन तयार गरी गराई सोही फर्जी कागजात प्रयोग/संलग्न गरी गराई बढी लागत अनुमान र Technical Specification समेत आफू अनुकूलको कम्पनीलाई मात्र मिल्ने गरी तयार गरी गराएको अख्तियारको ठहर छ ।
साथै उनीहरूले आवश्यकताभन्दा बढी अनुभवको मापदण्ड राखी राख्न लगाई प्रतिस्पर्धालाई सीमित गर्ने गरी भारु ३२ लाख लाख ५० हजार पर्ने मेसिनलाई १ करोड ५२ लाख पर्ने देखाई छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरे गरेका थिए । एक करोड बयासी लाख मात्र पेश्की दिई असम्बन्धित व्यक्तिहरुलाई विदेश भ्रमण समेत पठाएका थिए ।
ठेक्का सम्झौताको म्याद तथा पेश्की जमानतको (APG) म्याद समाप्तपछि २ थान शवदाह मेसिनमा पटकपटक समस्या आई न्यून गुणस्तरको मेशिन जडान भएको र सञ्चालनमा समेत नआएको देखिएको भन्दै १० करोड ३३ लाख ९१ हजार ३० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

Leave a Reply