मदन भण्डारीको हीरक जयन्ती मनाइने, मूल समिति संयोजकमा ईश्वर पोखरेलको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव जनताको वहुदलीय जनवादका प्रणेता जननेता मदन कुमार भण्डारीको हीरक जयन्ती मनाउन केन्द्रीयस्तरबाटै समिति बन्ने भएको छ ।

मदन भण्डारी फाउण्डेशनल भण्डारीको हीरक जयन्ती–२०८३ मनाउन नेकपा एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा २ सय सदस्यीय मूल समिति गठनको तयारी गरेको छ ।

२०१० साल असार १४ गते जन्मिएका भण्डारीको ७४ पुगेर ७५ वर्ष लाग्ने दिन पारेर मदन जयन्तकै दिन सो समिति घोषणा हुन लागेको बताइएको छ । यद्यपी यसको औपचारिक निर्णय भएको छैन ।

असार १४ गते मदन जयन्तीको अवसरमा एमाले र फाउन्डेशनले विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्ष हीरक जयन्ती मनाउनेगरी विशेष कार्यक्रम आयोजना गर्ने तयारी छ ।

फाउण्डेशनले असार १४ गते आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट मूल समिति घोषणा गर्ने तयारी छ । गत साता पूर्व राष्ट्रपति तथा फाउण्डेशनका संरक्षक विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटमा सो विषयमा समेत छलफल भएको बताइएको छ ।

भण्डारीकै चाहना र आग्रहमा ईश्वर पोखरेललाई संयोजक बनाउन लागिएको फाउण्डेशनका एक सदस्यले बताए । फाउण्डेशनकै ब्यानरमा पूर्व राष्ट्रपति भण्डारीले देशव्यापी दौडाहा र कार्यकर्ता भेटघाट पनि चलिरहेको र यसलाई अझ व्यापक बनाउने तयारी पनि छ ।

धेरैजसो एमाले नेताहरुले ओलीकै प्रस्ताव र ओलीसँगकै समन्वयमा विद्या भण्डारी एमालेको नेतृत्व गर्नेगरी पार्टीमा सक्रिय हुनु उपयुक्त हुने सुझाव दिइरहेका बेला गत साता दुई नेताबीच बालुवाटारमा छलफल भएको थियो । यो संवाद फेरि गर्नेगरी टुंगिएको निकट नेताहरुको भनाइ छ ।

भण्डारीले अध्यक्ष ओलीसँग निर्णायक संवाद गरेर आफू देशव्यापी अभियानमा अघि बढ्ने निकट नेताहरुको दावी छ । मदन भण्डारीको हीरक जयन्ती मूल समिति गठनपछि यसले २ वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने र ती कार्यक्रममार्फत विद्या भण्डारीले कार्यकर्ता तथा सर्वसाधारणसँगको भेट अघि बढाउने दावी समेत केही नेताहरुको छ ।

गता २०८१ साल असोज ५ गते फाउण्डेशनको केन्द्रले काठमाडौंमा आयोजना गरेको स्थापना दिवसमा फाउण्डेशनका संस्थापक भण्डारीले आगामी वि.सं.२०८३ सालमा जननेताको हीरक जयन्ती मनाउन आव्हान गरेकी थिइन् ।

माक्र्सवादको सिर्जनात्मक प्रयोगमार्फत कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण गर्ने नेता मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो । विश्वमै कम्युनिस्ट शासन र पार्टीहरु धराशायी भएका बेला नेपालमा जबजमार्फत भण्डारीले गरेको प्रतिस्पर्धात्मक राजनीतिको विश्वमै चर्चा भएको थियो ।

Comments

One response to “मदन भण्डारीको हीरक जयन्ती मनाइने, मूल समिति संयोजकमा ईश्वर पोखरेलको प्रस्ताव”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    को हो यो भॅडारी कि यसलाइ हामीले जसरी पनि सम्झनै पर्ने, र जसका नाममा कलेज स्कुल र रोडहरू बनाइएका छन्? यसका नाममा भएका सालिक र प्रतिष्ठान हरू भत्काइदिनु पर्छ र आगो लगाइदेउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *