०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन प्रस्ताव पार्टीबाट पारित गर्नुपर्छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शक्तिशाली छानबिन आयोग बनाएर २०४६ को जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानविन आयोग बनाएर २०४६ पछि विभिन्न तहमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिनुपर्ने बताए ।

छानबिन गर्दा जो–जो परेपनि त्यसलाई स्वीकार गछौं भनेर कांग्रेसले भन्न सके मात्रै अहिलेको पुस्ताले कांग्रेसलाई विश्वास गर्ने उनले बताए । थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरुकोबीचमा जान नसक्ने धारणा राखे ।

उनले जुनसुकै कुरामा चित्त नबुझेपनि अब उपरान्त विश्वविद्यालयमा तालावन्दी नगर्ने, कालोमोसो नदल्ने, तोडफोड नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे ।

थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरुको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

 

Comments

One response to “०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन प्रस्ताव पार्टीबाट पारित गर्नुपर्छ : गगन थापा (भिडिओ)”

  1. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    शक्तिशाली छानविन आयोग बनाएर २०४६ पछि राष्ट्रपती, प्र.मन्त्री देखी गाउ विकास समितिसम्मका विभिन्न तहमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिनु पर्ने भन्ने विषय युव विद्यार्थी माझ भाषण गर्दा ताली त राम्रै खाइयो होला । तर यस्तो अायोग विद्यार्थी संगठनले गठन त गर्ने होइन होला, संसदमा बोल्न डर लागेर हो की वा यो विषय कांग्रेसका लागीमात्र उठाइएको हो भने कार्यसमितिमा उठाउनु पर्ने होइन र ? तपाइ जस्तो शक्तिशाली महामन्त्रीले प्रस्ताव नै पास गराएर सरकारमा पुर्याउन सक्नु हुन्छ त !! फेरी यो नाटक किन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *