कुमार नगरकोटीलाई आउटडेटेड हुनु छैन ! (भिडिओ)

काठमाडौं । कलात्मक इन्टेरियर डिजाइनले सुसज्जित सहरको कुनै पनि कफीसपको एउटा कुनोतिर कुमार नगरकोटी भेटिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । जहाँ अगाडिको टेबलमा कफीको कप, एस्ट्रे र औंलामा सल्किरहेको मार्लबोरो च्यापिएको हुनसक्छ । गफ गर्नलाई साथीभाइ हुनसक्छन् । एक्लै पनि हुनसक्छन् वा कुनै नयाँ किताब पनि उनको साथमा साथीको रूपमा हुनसक्छ ।

प्रचण्ड गर्मीले चिट्चिट् पसिना निकालिरहेको छ भने पनि नगरकोटी कफीसपको एसी नजिक बस्दैनन् । हातमा सिग्रेट सल्काएर धुवाँको मुस्लो निकाल्ने ग्राहकहरूलाई कफीसपले बाहिर अलग्गै आरक्षणको व्यवस्था गरिदिएको हुन्छ । जहाँ बोनसमा सडकतिरको हल्लाखल्ला हुन्छ । अनि जाडोमा भए चिसो र गर्मीमा भए गर्मी नै सहनुपर्ने हुन्छ धूमपानका लतीहरूले ।

यी सबै (अ)सुविधाहरू सहन/भोग्न तयार भएर नगरकोटी कुनोतिर बस्छन् । साथीभाइ छन् भने संसारभरका निर्देशकका फिल्म छानीछनी फिल्मका गफमै मग्न हुन्छन् । सिनेम्याटोग्राफी, साउन्डहरूमाथि चर्चा गर्छन् । मनपसन्द पेन्टिङ, म्युजिकमाथि गफगाफ गर्छन् । यस्ता गफमा साहित्य चाहिँ छुट्नसक्छ । झनै नेपाली साहित्य, गुट-उपगुटका कथाव्यथा त वर्जित नै हुन्छ । बरु साबुनका प्रकार वा अगरबत्तीका बासना ‘टक अफ द टेबल’ हुनसक्छ । राम्रो आइसक्रिम पाइने ठाउँ वा मासुका प्रकारहरू छलफलको मुद्दा हुनसक्छ ।

नगरकोटी फिल्महरूमा बढी नै झुकाव राख्छन् । लगाव राख्छन् । उनमा फिल्मको गहिरो प्रभाव पनि छ । त्यसैले त भन्छन्, ‘म फिल्म मोन्स्टर हुँ, फिल्म–दैत्य । प्रायः दिनमा एउटा फिल्म हेरेकै हुन्छु । म सबैभन्दा पहिला फिल्मप्रेमी हुँ । साहित्य दोस्रो नम्बरमा आउँछ । म एक्सिडेन्टल लेखक हुँ । कसैले मलाई फिल्म र साहित्यमा के चुज गर्छस् भनेर सोधेमा फिल्म चुज गर्छु । फिल्म मेरो फस्ट लभ हो ।’

०००

पछिल्लो समय नगरकोटीका फिक्सनहरू डिजिटलाइज हुँदैछन् । आफ्नै सृजनाहरू आफ्नै स्वरमा लयबद्ध वाचनसहित नगरकोटी स्वयं डिजिटलाइज भइरहेका छन् ।

उनका छोटा कवितादेखि लामा लेखहरू कलात्मक भिडियो सेटिङका साथ बोनसमा पाश्र्व धुनसमेत थपेर टिकटक, इन्स्टाग्राम, यूट्युब, फेसबुक, स्पोटीफाइतिर अपलोड भइरहेका छन् । अलग्गै पोडकास्टको प्याकेजसमेत ल्याउने रणनीतिका साथ युद्धस्तरमा खटिरहेका छन् ।

बालकुमारीको साँघुरो डेरामा बसेर फिक्सन डिजाइन गर्ने नगरकोटी डिजिटलाइज हुँदै जानुको पछाडि एकै कारण बताउँछन्, ‘मलाई नयाँ चिजहरूप्रति एकदमै रुचि छ ।

‘म टेक्निकल एस्पेक्टतिर अशिक्षित मान्छे नै हो । म निरक्षर जस्तो हो’, नगरकोटी सुनाउँछन्, ‘नयाँ पुस्ता आइरहेको छ, नयाँनयाँ टर्महरू पनि आइरहेका छन् । यस्ता चिजहरूप्रति मेरो औधी लगाव छ । यही कारण म मेरो आफ्नै निरक्षरताविरुद्ध लडिरहेको छु ।’

नगरकोटीको छोरा गृष्मिलले भर्खरै एसईई दियो । हिजो नगरकोटीले तातेताते गराएको गृष्मिल उनीसितै बसेर डबल सट अमेरिकानो पिउने भइसके । नगरकोटी स्वयं पनि प्रहरी बुवाको पछिपछि लागेर हिँड्नेवेलामा जस्तो रहेनन् । चार दर्जन बढी क्यालेन्डर फटाइसके, हाफ सेन्चुरी (अफिसियल्ली ५०) हिर्काइसके ।

छोराको पुस्तासँग कसरी संवाद गर्ने त ? उनीहरूसित कसरी साथी बन्न सकिएला त ? उनीहरूले के सोच्छन् ? के खान्छन् ? के बोल्छन् ? यस्तै सवालहरूको घेराबन्दीमा छन् ।

मूलतः नगरकोटी नवीनतासँग औधी झुकाव राख्छन् ।

‘समयको एउटा चरित्र हुन्छ । हरेक समयले आफूसँगै एउटा व्यक्तित्व बोकेको हुन्छ । लङ टाइम अगो, त्यहाँ त्यो समयको चरित्र अर्कै थियो । हैन हैन, हाम्रो समयको चरित्र अर्कै थियो’, नगरकोटी गम्भीर बन्छन्, ‘अहिले टेक्नोलोजीले एकदुई वर्षमा हरेक चिजलाई सिफ्ट गरिरहेको छ । यस्तो समयमा म चाहिँ उतैतिर भएँ भने त मेरो औचित्य सकियो !’

नगरकोटीको यस्तै यस्तै सोचको उपज हो, अडियो/भिडियोहरू । पोडकास्टका खातिर आधा घण्टा, एक घण्टा चट्ट स्टुडियोमा बसेर उनी अडियो रेकर्ड गर्छन् । अपलोड गर्छन् । सुहाउँदिलो पाश्र्व धुन साथमै हुन्छ । अनि अपलोड गर्छन् ।

पोडकास्ट सुन्नेहरूले प्रतिक्रिया दिन्छन्, ‘गज्जब छ यो त !’

सुन्नेहरूको थप प्रतिक्रिया हुन्छ, ‘तपाईंलाई आवाजले पनि एकदमै साथ दिएको छ ।’

नगरकोटी बोल्छन्, ‘अहिलेसम्म जेजेमा रुचि लाग्छ, त्यही त्यही गरिरा’छु । पोडकास्ट पनि त्यसरी नै गरेँ । त्यसरी भिडियो पोयट्री बनाउन थालेँ ।’

डिजिटलाइज हुँदै गर्दा नगरकोटीले कविताहरू पनि भिडियो सुहाउँदो लेख्न थाले । पछिल्लो चरणका कवितालाई उनले नाम नै दिएका छन्- लयालु कविता । आनन्दले वाचन गर्न मिल्ने कविताहरू लेखिरहेका छन् । उनको आफ्नै विश्वास के छ भने सबै राम्रा कविता वाचनयोग्य हुँदैनन् ।

यस्ता साराका सारा गतिविधिको पछाडि एउटा चाहनाले डोर्‍याइरहेछ उनलाई, त्यो हो सान्दर्भिकताको लालच । त्यसैले त संक्षेपमा सुनाउँछन्, ‘जब तपाईं सान्दर्भिकता गुमाउन थाल्नुहुन्छ, अनि तपाईं मर्नुहुन्छ । हरेक आर्टिस्टको सन्दर्भमा यो लागू हुन्छ । प्यारा मनप्रिय पेन्टर, गायक, संगीतकारहरू ! तपाईंहरू कत्तिको सान्दर्भिक हुनुहुन्छ ? यदि हुनुहुन्न भने भइराख्नलाई तपार्ईंले के गर्ने हो त ? सोच्न जरुरी छ ।’

नगरकोटी आफूलाई ‘मदिरा डिभोर्सी’ करार गर्छन् । एक समय थियो, उनी पूर्णतया मदिराका प्यालाहरूमै डुबेर बस्थे । अहिले मदिराबाट माइलौं दूर छन् ।

नगरकोटीको दाबी छ- विश्वमा कस्तो साहित्य लेखिँदैछ, अपडेट छन् । नयाँ फिल्म मेकरहरूले कस्ता फिल्म बनाइरहेका छन्, अपडेट छन् । नयाँ पुस्ताले कस्तो कविता लेखिरहेछ, अपडेट छन् । कुमासागरलाई दर्शक/स्रोताले किन रुचाइरहेका छन्, अपडेट छन् ।

‘तपाईं यो समयसँग जोडिनुभएन भने तपाईं स्टकमा रहे जस्तो हुन्छ । एउटा टाइम लुपमा फसे जस्तो हुन्छ । यसबाट बाहिर आउन तपाईं नयाँ चिजहरूसँग जोडिनैपर्छ । म त आउटडेटेड हुन लागिसकेँ’, उनको निचोड छ, ‘जब नयाँ नयाँ चिजहरूप्रति तपाईंको लगाव हुन्छ, तपाईंले आफैंले आफैंलाई अपडेट गर्दै लैजानुहुन्छ । नयाँ चिज थाहा पाए जस्तो पनि हुने, रिफ्रेस पनि भइने ।’

नगरकोटी सारांश सुनाउँछन्, ‘हरेक सहरको आआफ्नै स्वाद हुन्छ, दृश्य हुन्छ । समयको पनि आफ्नै स्वाद हुन्छ । समयको आफ्नै धुकधुकी हुन्छ । एउटा संगीत हुन्छ । एउटा ध्वनि हुन्छ । आजभन्दा १० वर्ष अगाडिको सहरको ध्वनि र अहिलेको ध्वनिमा फरक छ । नयाँ समयसँगै हामीले हिँड्न जान्नुपर्छ । हामी जस्तो ड्रिमरलाई त त्यो झनै आवश्यक छ ।’

०००

नगरकोटीको लेखनले थरीथरीका पाठक पाएको छ । कोही पाठक मेमोयरका प्रशंसक छन् त कोही फिक्सनका । कोही नगरकोटीले निर्माण गर्ने काल्पनिकीका प्रशंसक छन् त कोही नगरकोटीले डिजाइन गर्ने वाक्यहरूको कोरियोग्राफीका । कोही नगरकोटीको ड्रेसअप र बोल्ने तौरतरिकाकै प्रशंसक छन् । हातका बाला, घाँटीका मालाहरूका प्रशंसक छन् ।

कुनै योजनाविना सनकमा बाँच्ने/लेख्ने नगरकोटीका प्रशंसक पनि त्यस्तै छन्, जस्तो उनी छन् । कुराकानीको क्रममा मैले जिज्ञासा राखेँ, ‘कस्ता कस्ता पाठकसँग इनकाउन्टर भएको छ त तपाईंको ?’

पाठकसँगका इन्काउन्टरहरू पनि तिलस्मी कथा जस्ता रैछन्, ठ्याक्कै पत्याइहाल्न गाह्रो हुने ! फिल्मको कहानी जस्तो अजीव अजीवका इन्काउन्टर रैछन्, विश्वास गरिहाल्न गाह्रो हुने !

पाठक भर्सेज नगरकोटी- १

‘एक दिन पिसाब फेर्नलाई पब्लिक ट्वाइलेट गएँ । ट्वाइलेटमा उभिएर लहरै पिसाब फेर्नुपर्ने हुन्छ । सुरुमा त मलाई देखेर मेरो पाठक झस्किन्छ । गेटअप नै त्यस्तै भएर होला’, नगरकोटी हाँस्दै सुनाउँछन्, ‘हातको इशाराले दाम्मी भन्छ अनि ‘कविता’ मात्रै भन्छ, अनि जान्छ ।’

पाठक भर्सेज नगरकोटी- २

प्रायः पठाओ चढिरहन्छन् । कतिपय पठाओ चालकले ‘लेखक हो तपाईं ?’ भनेर सोध्छन् । कतिपयले किताब पढेको बताउँछन् । एक पटक एक जनाले उनको लुक्स हेरेर सोधे, ‘तपाईं एक्टर पनि हो ?’

नगरकोटीले जवाफ दिए, ‘हजुर हो, फिल्म पनि खेलेको छु ।’

ती व्यक्तिले सोधे, ‘अनि राजेन्द्र खड्कीको हालखबर के छ त ?’

पाठक भर्सेज नगरकोटी- ३

‘एकपटक म बाटोमा हिँडिरहेको थिएँ । विपरीत दिशाबाट जिन्स लगाएको, कानमा हेडफोन लगाएको योङ केटा म नजिक आयो । मलाई हेर्‍यो । हातले हेडफोन छुँदै ‘सुनिरहेको छु’ भनेर गयो’, नगरकोटी हाँस्छन्, ‘त्यो केटाले मेरो पोडकास्ट सुनिरहेको रहेछ । आयो, सुनिरहेको छु भन्यो, गयो । मेरा पाठकहरू त्यस्ता अजीव अजीवका छन् ।’

पाठक भर्सेज नगरकोटी- ४

एक दिनको कुरा हो, फेब्रुअरी १४ को दिन थियो । भ्यालेन्टाइन डेको शुभसाइतमा नगरकोटीलाई एउटा म्यासेज आयो, ‘तपाईं खाली तान्त्रिक गल्ली भनेको छ, चप्पल पड्काएर, चुरोट तानेर हिँडेको छ, मर्निङ वाक भनेको छ । अब फिक्सन डिजाइनर माउन्ट एभरेस्टको बेसक्याम्पमा गएर मर्निङ वाक गर्छ ।’

नगरकोटीलाई म्यासेज रमाइलो लाग्यो । म्यासेज आएको नम्बरमा कल गरे । उताबाट जवाफ आयो, ‘हामी भोलि जाने हो । तपाईं ठ्याक्कै ७ बजे बालकुमारीको पुलमा तयार भएर बस्नुस् ।’

नगरकोटी सुनाउँछन्, ‘भोलि बालकुमारी पुलमा गएँ । गाडी आयो । एयरपोर्ट गइयो । गाडी त्यही राखेर हेलिकोप्टर रिजर्भ गरियो । एक जनाले एउटा खल्तीबाट एक लाख निकाल्यो । अर्कोले पनि त्यसै ग¥यो । अर्कोले पनि त्यसै ग¥यो । हेलिकोप्टरमा पाइलटले पर्खिरहेको रहेछ । हेलिकोप्टर चढियो । लुक्ला पुगियो । त्यहाँबाट १५ मिनेटमा बेसक्याम्प पुगियो ।’

नगरकोटी थप बोल्छन्, ‘मान्छेहरूलाई यस्तो घटना पत्याउन गाह्रो पर्छ । फिक्सन जस्तो लाग्छ । मेरो जीवनमा यस्तो भइरहन्छ ।’

०००

अस्ति भर्खरैमात्र नगरकोटी लोमान्थाङ पुगेर आए । प्रायः बालकुमारीको कोठाबाट बाहिर निस्कनुपर्ने प्रमुख काममध्ये एउटा काम हो, किताब किन्न । अर्को चाहिँ नयाँ नयाँ क्याफेतिर कफी पिउन निस्कन्छन् ।

नगरकोटी ठमेलको एक किताब पसलमा किताब किन्नलाई साढे ८ बजे तयार भए । जाम कम हुने भएकाले यो समय छनोट गरेका थिए । सोचे, ‘ठमेलमा किताब पसल १० बजे खुल्छ । ९ बजे पुगिहाल्छु म । काठमाडौं गेस्ट हाउसको गार्डेनमा बसेर कफी पिउँछु । एक जना साथीलाई पनि बोलाउँछु, गफगाफ पनि हुन्छ । धेरै भयो भटे नभएको पनि ।’

पठाओ बोलाउनुअघि बाल्यकालीन साथीलाई फोन गरे । साथीले आफू मुग्लिन पुगेको बतायो । अकस्मात् काम परेर मुस्ताङ जाँदै गरेको बतायो । नगरकोटीले भने, ‘मलाई पो अकस्मात् जस्तो भयो यो त ! मैले ठमेलमा कफी खाउँ भनेर फोन गरेको थिएँ ।’

‘अब मुस्ताङमा कफी खाने’ भन्दै ‘एकछिन ल’ भनेर फोन राख्यो । एकैछिनमा नगरकोटीको मोबाइलमा काठमाडौं-पोखराको प्लेनको टिकेट खस्यो । साथीले उनलाई फोन गरेर भने, ‘म पोखरा पुग्नु र तिमी पोखरा आइपुग्नु उस्ताउस्तै हुन्छ ।’

‘म हरेक चिज अकस्मात्, आकस्मिक बनाउने कोसिस गर्छु । टिकेट आएपछि मैले ठमेल नजाने निधो गरेँ । सावित्री (श्रीमती) हाँसेको हास्यै छे । तुरुन्तै कपडा तयार गरेँ । एयरपोर्ट गएँ’, नगरकोटी सुनाउँछन्, ‘साथीभन्दा म एक घण्टा अगाडि पोखरा पुगेँ । पोखराबाट उसकै गाडीमा मुस्ताङ गएँ । फर्कने वेला एउटा गजबको पिच बाटो देखेँ । यो बाटो कहाँ जाला भनेर सोधेँ । लोमान्थाङ जाने रैछ । हामी लोमान्थाङ हिँड्यौं ।’

नगरकोटी बताउँछन्, ‘आकस्मिक चिजहरू मुख इन्जोय गर्छु म । त्यस्ता चिजमा एक किसिमको क्युरोसिटी हुन्छ के !’

०००

नगरकोटीले भविष्यको योजना बनाएर कहिल्यै बाँचेनन्, बाँच्नेवाला पनि छैनन् । आकस्मिक चिजहरूप्रति उनको हदसम्मकै लगाव छ । मुडअनुसार चल्छन् । अगाडि जे आउँछ, एस्सेप्ट गर्छन्, हिँड्छन् । विवाहसमेत उनको आकस्मिकताको उपज हो ।

‘मैले बिहे गरेँ । बिहे गरिसकेपछि एउटा विन्दुमा पुगेपछि लाग्यो, यो लङ लास्ट होला जस्तो छैन । त्यसैले अब छुट्टिनु नै ठीक हुन्छ, ल हिँड, छुटौं भनेँ । सुटकेस बोकेर ऊ आफ्नो बाटो लागी, म आफ्नो बाटो लागेँ’, नगरकोटी सुनाउँछन्, ‘सावित्रा कार्कीसँग भेट भयो । बिहे गर्ने हो ? गरौं भन्ने भयो । कहिले गरौं ? आजै गरौं, अनि गरियो ।’

नगरकोटी कतै किताब पसलतिर पुग्छन् । नामै नसुनिएको नयाँ किताबको आकर्षक कभरमाथि उनको नजर पर्छ । भन्नेले त भन्छन्, डन्ट जज अ बुक बाइ इटस् कभर ! नगरकोटी भने ठीक उल्टा छन्, ‘समटाइम्स यु ह्याभ टु जज ।’ अनि किताब किन्दिन्छन्

उनका लेखनमा प्रायः तन्त्रमन्त्रका प्रसंग हुन्छन् । तान्त्रिक गल्लीका सन्दर्भ हुन्छन् ।

किन त ?

‘तन्त्रमन्त्र अनि अघोरीतिर डेडिकेटेडली लागेको त छैन । यत्ति हो, मलाई रहस्यमयी चिजमा गहन रुचि छ । रहस्यले मलाई एकदमै तानिरहन्छ’, उनी भन्छन्, ‘छ्यांग उज्यालोभन्दा केही रहस्य होस्, केही छायाँ होस् । यस्ता चिजहरूले आकर्षण गर्छ मलाई । यस्ता चिजले तपाईंलाई इम्याजिनेसन गर्ने सुविधा दिन्छ ।’

किताबबाट रोयल्टी आउँछ मासिक रूपमा । त्यही रोयल्टीले घर जेनतेन चलाएका छन् ।

अर्को महिनाको लागि आजै पैसाको जुगाड गर्नतिर समय खेर फाल्दैनन् । अर्को महिनाको अप्ठेरो त्यही महिना आएपछि सल्टाउँला भन्दै हिँड्छन् । ठूलो रहर पनि छैन । बैंक ब्यालेन्सको जुगाड पनि गरेका छैनन् । यो महिना आउँछ, सकिन्छ । अर्को महिना फेरि आउँछ, सकिन्छ ।

बाहिरफेर खासै खर्च पनि छैन । कफी पिउँछन्, सिग्रेट तान्छन् । ‘म घरदेखि बाहिर खासै निस्कन्नँ । आजकल त म झन्झन् एक्लैएक्लै हुँदै गइरहेको छु । मानिसहरूसँग मलाई त्यति रुचि हुन छाड्यो’, उनी भन्छन् ।

नगरकोटी आफूलाई ‘मदिरा डिभोर्सी’ करार गर्छन् । एक समय थियो, उनी पूर्णतया मदिराका प्यालाहरूमै डुबेर बस्थे । अहिले मदिराबाट माइलौं दूर छन् ।

नगरकोटीको आफ्नैखाले विश्वास छ, ‘मलाई के लाग्छ भने कुनै पनि चिजको एक्स्ट्रिममै जानुपर्छ । एक्स्ट्रिममा पुगेर नैतिकता, अनैतिकता सबै हटाऊ । कसैले प्रेम गर्छौ, एक्स्ट्रिममा पुगेर गर । यसपछि तिमी एउटा विन्दुमा पुग्छौ । यसपछि मात्रै त्यो चिजलाई सर्लक्कै छाडेर नयाँ यात्रामा निस्कन सक्छौ । कुनै चिजप्रति यति धेरै मुग्ध हुन सक्नुपर्छ कि अनिमात्रै त्यसबाट मुक्ति सम्भव छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *