जीवनका परिभाषा पनि अनुकूलन । आत्माबोध भएता पनि कम महत्व । आफ्नै घमण्डमा रम्ने बानी नै हाम्रो परिभाषा । यही परिभाषालाई आत्मासात गरी जीवनका अनगिन्ती पलहरू बिते । जुन पलहरू जीवनका लागि थिए, थिएनन् । यसैलाई जीवनभोगमा तौलिनेको भीडमा म पनि हराइरहेँ । जहाँ रहेता पनि मनोभाव अनुकूलन खोजेता पनि सत्यताले भने सधै सताइरह्यो ।
चाहना र आवश्यकतामा धेरै अन्तर रहेछन् । चाहनालाई आवश्यकता सोच्ने मानसिकताले जीवन भने दोसाँधमा अल्झिदियो । त्यही अल्झिएको जीवन दृष्टिबाट बितेका पलहरू केबल प्रायश्चित मात्र बनेँ । जुन चाहना थिएन ।
टेकेको धर्तीको आभास पनि कहिल्यै भएन, क्यारे । आवश्यकताभन्दा घमण्डमा जीउने महत्वकांक्षा बोकेकाहरूलाई धर्तीमा टेकेको धरातलमा कहिल्यै समीक्षा नै गर्न उचित लागेन । जव जीवनको कसीमा उभिएर धरातललाई सोच्न सक्दैनन् । जीवनका सबैभन्दा नकारात्मक पाटो यही रहेछ । यही पाटोमा उभिएर अझै पनि महत्वकांक्षाका पहाड चढ्ने असीमित इच्छाहरू वाहिरी आत्मामा सजाएको छु ।
जीवनमा चेतना महत्वपूर्ण हुने रहेछ । चेतनाको विकासविना उफ्रने मेरो चेष्टाहरू भने बेगल्ती छन् । सोचमा विविधता मुख्य कुरा भएता पनि यसको प्राथमिकीकरण महत्वपूर्ण हो भन्ने हेक्का नराख्दा जीवन नै धर्तीका बोझ वने । सोचको विकास हुनु र पूरा नहुनका अन्तरमा अड्केका जीवन साँच्चै कहाली लाग्दो हुने रहेछ । जीवन नै धर्तीका बोझ लाग्दो रहेछ । जीवनलाई सृष्टिको निरन्तरता मात्र बनाउन हुँदैन भन्ने सोचले ग्रसित मेरा भावनाहरू चेतनाका अभावसँगै जटिल बनिदियो ।
साँच्चै जीवनदेखि लाज पनि लजायो, क्यारे, तै पनि लजाएका जीवनलाई सफलता सोचेर पाइलाहरू घिस्रिरहेका छन् । यी घिस्रिएका पाइलाहरूको उपादेयता के ? अर्थ के ? जीवनमा सधैँ सोधिने प्रश्नले कहिलेसम्म झक्झकाउला ? वा यो झक्झकाउने समय चाडै नै विश्राम गर्ला ? जीवनमा दु:खका कारण भौतिक सम्पति देख्ने आत्मा पनि हरेक व्यवहारमा भने भौतिकवादको चर्को नमूनाहरू पल-पलमा देखिए ।
जीवनका बोध पनि समयको कुनै चक्रमा मात्र क्रान्तिकारि रूपमा देखा पर्ने, वायुको अन्तरघुलन सँगै फिक्का भइदिँदा, जीवनका सार्थकता खोज्ने प्रयत्न नै धुमिल बनिदियो । सधैँ निश्चित समयमा हुने जीवनबोध जीवनमा प्रश्न वनेर नआइदिए हुने जस्तो, तर त्यो दिन आएन, अनेकन दिनहरू बिते, धेरै वसन्तहरू गुज्रिए तर त्यसको आभास नहुने पल कहिल्यै आएन, न जीवनमा सन्तुष्टि, न समाधान, यहि खोजीमा जीवनका उर्वर उमेरहरूले नेटो काट्यो । लाग्दछ, अब नआउन्, जुन म पूरा गर्न सक्दिनँ । यही आशामा वसेका मेरा सोचहरू केही समयका लागि मात्र बनिदिन्छन् ।
यसको आभास म मात्र हुन्छ, कि अन्यमा पनि ? बारम्बार सोचिने प्रश्न यही हो, मनमा सताइने मनोभाव यसैको प्रारूप हो । पूरा नहुने यो प्रारूपमा नदेखिने सपनाहरू पनि कल्पनाका सागरमा सयर गर्दछन् । विन्दुत्वको यो भावले जीवन सधैँ ढलमल भइदिने भयो । आफ्नाका आवश्यकता पनि जीवनका दुर्बल पक्ष रहेछन् क्यारे, जसले वाँच्न सहज जस्तो लागेता पनि भयंकर हुने ।
हुन त चेतनाको कमी नै यसको प्रधान होला । जीवन पनि महत्वकाक्षांको भूत रहेछ, जुन पूरा नहुने, त्यहि पुरा नहुने चाहनामा जीवन वन्धक हुने रहेछ । यसको बोध कमैलाई हुने, बोध नहुनेलाई सहज, केही तत्वबोध हुनेलाई भने असहज । भएको यत्ति हो ।
लागेको छ, यही बगेको झरनालाई सहज होला, तर होइन रहेछ, त्यसको संघर्ष पनि अनुपम । देख्दा लाग्ने र भोग्दा लाग्नेका बीचमा धेरै असमानता हुने रहेछ । हामी देख्दा लाग्नेका पछाडि मस्त कुदिरहेका छौं ।
फेरि पनि चिसो सुस्केरामा गमिरहेका सोचहरू क्रमभंग भए, उही दैनिकी, उही परिवेश, जुन परिवेशले जीवका सार्थकता खोज्न सकिँदैन । आवश्यकताले स्वार्थताको गन्धलाई बोलाइरह्यो । आवश्यकताका परिभाषा पनि चेतनाअनुसार फरक-फरक हुने रहेछ, त्यस्तै जीवनका परिभाषा पनि । सायद, मानव जाति एउटै विषयमा लीन हुने सके, जीवनका परिभाषा नै पृथक हुने रहेछ ।
स्वार्थताका जगमा जीवनको उपलव्धीहरू भौतिकवादमा खोजिरहदाँ जीवनको अर्थ नै लजाइदियो । लाज पनि लजाएको जीवनमा पटक पटक शिरहरू झुके, त्यही झुकेको शिरलाई नै स्वाभिमान देख्नेहरू यो समाजमा यत्रतत्र सर्वत्र भेटिनेछ, जुन मेरो चाहना होइन ।
लावालस्करसहित गइरहेका ती चिचिलाहरू पनि आफ्नोपनमा विश्वास गरिरहे । आफ्नोपन पनि सजीव प्राणीमा फरक-फरक हुने रहेछ । समाजिक प्राणीको रूपमा चित्रित मानव जातिको आफ्नोपन र अन्य सजीव प्राणीको आफ्नोपनमा निकै अन्तर हुने रहेछ । मानव जातिको आफ्नोपनमा स्वार्थ मिसिएको हुँदो रहेछ, देखिने भनेको ढिलो र चाँडोमात्र रहेछ ।
जब विश्वासको सम्बन्ध नै धर्मराँउछो, जीवन नै वोझिलो लाग्दो रहेछ, यो विश्वास भन्ने शब्द नै जीवनका लागि घातक रहेछ, जसलाई विश्वास गरिन्छ, त्यो नै धोका हुँदो रहेछ । यही विश्वास र धोकामा जीवन घुमिरह्यो ।
बिहानको शीतल बिहानीमा सोचिएका सोचहरू धुमिल बन्दै गए, दिनको अत्यासलाग्दो पलसँगै । रातको निष्पट अँध्यारो नै प्यारो लाग्ने पल पनि जीवन दर्शनका लागी बाँच्ने आधार हुने रहेछ । रातको निष्पट अँध्यारो पनि साँच्चै मिठो हुने रहेछ । जुन मिठास दिनको उज्यालोमा कदापी प्राप्त नहुने रहेछ ।
धर्तीका सजीवहरूले धर्तीमा योगदान दिइरहँदा जीवनमा कुनै पनि अर्थ नदेख्नेको भीड कति लामो होला ? छेउ, कुना, अन्तर, कुन्तरमा साधिने प्रश्न कहिलेसम्म ? गर्भमा रहेको यो पीडा गर्भमा नै तुहिनेमा भने कुनै शंका छैन, फेरि पनि पल पल सताइरहने, यो जीवनका सारथीले भने जीवनको परिभाषा खोज्न भने पक्कै सारथी बन्ने नै छ ।

Leave a Reply