नागार्जुनका मेयर बस्नेत साढे ९ करोड घुस लिएको मुद्दामा दोषी ठहर

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छन् । बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

नगर प्रमुख बस्नेतले पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा उक्त कम्पनीका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ खुस रिसवत लिएको पुष्टि गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । वस्नेतले उक्त विगो बराबरको रकम कसुर गरेको र पद्‌मा कोलोनी प्राली, पद्‌मा मर्चेन्ट कम्पनी प्राली र त्यस कम्पनीका सञ्चालक अध्यक्ष कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्नका लागि उक्त रकम घुस रिसवत दिएको पुष्टि भएको हो ।

बस्नेतकी श्रीमती उर्मिला बस्नेतले भने अदालतबाट सफाई पाएकी छन् । उनले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसकेको भन्दै उनलाई अदालतले सफाई दिएको हो ।

बस्नेतले गैरकानूनी रुपमा घुस रिसवत वापत प्राप्त गरेको रकम र जेथा (जग्गा)लाई आफ्नो नाममा बनाएर कित्ताकाट गरेर विभिन्न व्यक्ति तथा कम्पनीलाई विक्री वितरण एवम हक हस्तान्तरण गरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो बराबरको रकम सम्पत्ती सुद्धिकरण गरेको पुष्टि भएको छ ।

त्यसैले बस्नेतलाई सम्पत्ति सुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा १ को खण्ड क ख र ग बा बर्जित कार्य गरी ऐनको दफा ३ को उपदफा ३ बमोजिमको कसुर गरेको ठहर अदालतले गरेको छ ।

अरुको हकमा नगरप्रमुख बस्नेतलाई घुस रिसवत दिए दिलाएपछि सम्पति सुद्धिकरणको प्रक्रियामा संलग्न रहेको भन्ने मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि नभएपछि पदमा कोलोनी प्राली, पदमा मर्चेन्ट कम्पनी प्राली तथा उक्त कम्पनीका अध्यक्ष संचालक कडेँललाई सम्पत्ति सुद्धिकरणको दाबी नपुग्ने भन्दै सफाई दिएको छ ।

यस्तै अब घुस रिसवत लिने दिने कसुरमा कसुरदार ठहर भएका प्रतिवादी बस्नेत, पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा त्यसका अध्यक्ष सञ्चालक कडेँलको हकमा र सम्पत्ति सुद्धिकरणको कसुरमा कसुदार ठहर भएका बस्नेतको हकमा के कति सजाय हुनुपर्ने हो भन्ने सम्बन्धमा सुनुवाई गर्न असार १६ मा पेशी तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *