धामीझाँक्रीको भरमा पर्दा किशोरीको ज्यानै जोखिममा: थप उपचारका लागि स्वास्थ्यकर्मीहरूले नै गरे सहयोग

डाेटी। डोटीको पूर्वीचौकी गाउँपालिका–२ की एक किशोरी चार दिन अघि बिरामी भइन्। उनलाई पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने समस्या देखापर्‍यो। किशोरी बिरामी भएपछि आफन्तहरूले धामीझाक्रीकहाँ लगे। धामीले आफूले सन्चो गराउने दाबी गरे, तर स्वास्थ्यमा सुधार भएन।

लगातार तीन दिनसम्म धामीले झारफुक गर्दा पनि किशोरीको स्वास्थ्य अवस्था झन् बिग्रँदै गयो। अब ज्यानै तलमाथि हुन्छ कि भन्ने डरले आफन्तहरूले स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याए। स्वास्थ्य चौकीले छिट्टै जिल्ला अस्पताल लैजान सुझाव दिए। त्यसपछि बुधवार राति ९ बजे किशोरीलाई डोटी जिल्ला अस्पताल पुर्‍याइयो।

‘अस्पतालमा आइपुग्दा किशोरी बेहोस अवस्थामा थिइन्, हातखुट्टा निलो भइसकेका थिए, कुनै सेन्स थिएन,’ जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेण्ट डा. सुजित कुमार मण्डल भन्छन्, ‘केही गरी बचाउन सकिन्छ कि भनेर राति ३र४ घण्टासम्म प्रयास गर्‍यौं, अलि सुधार भयो।’ त्यसपछि थप उपचारका लागि कैलालीको धनगढी पठाइएको डा. मण्डल बताउँछन्।

बिहीवार बिहानसम्म किशोरीको स्वास्थ्यमा केही सुधार भएपछि आफन्तहरूले फेरि धामीझाक्रीकैमा लैजाने भन्दै जिद्दी गर्न थालेको डा. मण्डलले बताए।

‘ती किशोरीका आमा-बुवा दुवै रोजगारीको सिलसिलामा भारतमा रहेछन्, धामीले निको बनाइहाल्छु भनेपछि आमाबुबाले समेत फोन गरी धामीकैमा लैजान भनेछन्,’ डा. मण्डल भन्छन्, ‘जति सम्झाउँदा पनि नमान्ने भएपछि मैले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेँ।’ प्रमुख जिल्ला अधिकारीले पूर्वीचौकी गाउँपालिकाका जनप्रतिनिधिहरूलाई फोन गरी बिरामीका आफन्तहरूलाई सम्झाउन लगाएपछि मात्र थप उपचारका लागि उनीहरू धनगढी जान तयार भएका थिए।

डा. मण्डल थप्छन्, ‘जान त सहमत भए तर खर्च छैन भन्न थाले। त्यसपछि अस्पतालमा कार्यरत हामी स्वास्थ्यकर्मीहरूले नै १६ हजार ८ सय रुपैयाँ उठायौं र अस्पताल प्रशासनबाट ७ हजार रुपैयाँ थपेर पठायौं।’ धनगढी पुर्‍याउन पूर्वीचौकी गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरिदिएको डा.मण्डलले बताए।

डा. मण्डलका अनुसार अहिलेसम्म पनि धामीझाक्रीको विश्वासमा परेर अकालमै ज्यान गुमाइरहेका छन्  । उनले भने, ‘बिरामी भयो कि धामीलाई देखाउन जान्छन्, जब अन्तिम अवस्था भइसकेपछि मात्र अस्पताल आउँछन्।’ अस्पतालमा थोरै सन्चो भएपछि फेरि धामीझाक्रीकैमा लैजाने भन्दै दवाव दिने गरिएको उनी बताउँछन्।

अहिलेको अवस्थामा पनि स्वास्थ्यसम्बन्धी सामान्य चेतना नहुनु दुःखद् भएको डा.मण्डलको भनाइ छ। उनले यस्ता धेरै घटनाहरू आउने गरेको समेत बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *