सुदूरपश्चिममा प्रदेशसभापिच्छे सांसदलाई नयाँ ल्यापटप: काेही नलिने, काेही फिर्ता नगर्ने

कैलाली । सुदूरपश्चिम प्रदेशसभाले २०७६ साल साउनमा ४६ जना सांसदलाई झण्डै ६० हजार पर्ने ल्यापटप वितरण गरेको थियो ।प्रदेशसभा सचिवालयले वैशाख ३१ गते राष्ट्रिय पत्रिकामा टेन्डर प्रकाशित गर्दै २७ लाख ८३ हजारको ४६ वटा ल्यापटप खरिद गरेर सांसदहरूलाई वितरण गरेको थियो ।

तत्कालीन अवस्थामा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई नदिने भन्दै सांसदहरूको लागि वितरण गरिएकोमध्ये ६ वटा ल्यापटप अझैसम्म पनि प्रदेशसभामा फिर्ता गरिएको छैन ।

यसरी ल्यापटप फिर्ता नगर्नेमा चार राज्यमन्त्री र २ सांसद छन् । मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई ल्यापटप वितरण नगर्ने भनिए पनि फिर्ता नगर्ने चार जना ल्यापटप पाइसकेपछि राज्यमन्त्री भएका थिए ।

नेकपा एमालेकी अर्चना गहतराज, नेकपा एकीकृत समाजवादीकी मनाकुमारी साउद र माया तामाङ बोहरा तथा नेकपा माओवादी केन्द्रका मानबहादुर सुनारले ६० लाख पर्ने ल्यापटप त लिए तर, फिर्ता दिएनन् । यी चारै जना राज्यमन्त्री हुन् ।

त्यस्तै कांग्रेस सांसद उमादेवी बादी र नेकपा माओवादी केन्द्रका सांसद प्रेमप्रकाश भट्टले पनि ल्यापटप फिर्ता नगरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले पटकपटक ताकेता गर्दा पनि उनीहरूले ल्यापटप फिर्ता नगरेको बताए ।

‘अघिल्लो कार्यकालमा ४६ जनालाई वितरण गरिएको हो । त्योमध्ये ४० जनाले कार्यकाल सकिएपछि र केहीले सकिनुभन्दा केही दिन अघि नै ल्यापटप फिर्ता गर्नुभएको हो’, उनले भने, ‘६ सांसदले अझैसम्म पनि बुझाउनुभएको छैन ।’

राज्यमन्त्रीसहितका ६ सांसदले ल्यापटप नबुझाउँदै सुदूरपश्चिम प्रदेशसभाले नयाँ कार्यकालका सांसदहरूको लागि फेरि नयाँ ल्यापटप खरिद गरेको छ । पहिले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीबाहेकका सांसदहरूको लागि मात्रै ल्यापटप खरिद गरिएको थियो । अहिले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीसम्मलाई पुग्नेगरी ल्यापटप खरिद गरिएको छ ।

अघिल्लो कार्यकालमा ६० हजारको ल्यापटप खरिद गरेर ४६ जना प्रदेशसभा सदस्यलाई वितरण गरेको सचिवालयले अहिले ७४ हजार १५ रुपैयाँ खर्च गरेर ५३ जना सांसदकै लागि ल्यापटप वितरण गरेको छ । ल्यापटपमा मात्रै प्रदेशसभाले झन्डै ४० लाख खर्च गरेको छ ।

यो समाचार तयार पार्दासम्म ५३ मध्ये ४९ सांसदले ल्यापटप बुझिसकेका छन् । मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले ल्यापटप बुझेका छैनन् ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले ल्यापटप नलिने बताइसकेका छन् । देउवा र चौधरी पनि अहिलेसम्म ल्यापटप बुझ्न आएका छैनन् ।

Comments

One response to “सुदूरपश्चिममा प्रदेशसभापिच्छे सांसदलाई नयाँ ल्यापटप: काेही नलिने, काेही फिर्ता नगर्ने”

  1. bipin Avatar
    bipin

    loot na ta loot tara mero tax chai na loot yar like said by sere congress …

Leave a Reply

Your email address will not be published. Required fields are marked *