स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दुई ओभरमै तीन विकेट

काठमाडौं । त्रिकोणात्मक टि २० सिरिज अन्तरगतको दोस्रो म्याचमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । दुई ओभरमै स्कटल्यान्डको माथिल्लो क्रमका तीन ब्याट्सम्यानहरु पेभिलियन फर्किएका छन् ।

नेपालले आज नयाँ रणनीति अपनाउँदै पहिलो ओभरमा स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न पठाएको थियो । यो रणनीति सफल पनि भयो । दीपेन्द्रे आफ्नो तेस्रो बलमै स्कटल्यान्डका ओपनर मार्क वाटलाई बोल्ड गरिदिएका छन् । उनले एक रन मात्रै जोडेका थिए । दीपेन्द्रले आफ्नो पहिलो ओभरमा एक रन मात्रै खर्चिए ।

यस्तै, दोस्रो ओभरमा नेपाललाई दुई सफलता मिल्यो । करण केसीले आफ्नो तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई ऐरीको हातबाट क्याचआउट गराए । लगत्तैको बलमा लियाम नाइलर रनआउट भएका छन् । यो समाचार बनाउँदासम्म स्कटल्यान्डले ३ ओभरमा ३ विकेट गुमाएर १६ रन जोडेको छ ।

नेपालले टस जितेर पहिले फिल्डङ रोजेको थियो । आज नेपालको प्लेइङ ११ मा नन्दन यादव छैनन् । नेदरल्यान्ड्सविरुद्धको म्याचमा चोट लागेका नन्दनले खेल्न नसक्ने भएपछि बसिर अहमदलाई समावेश गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *