सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउनु सबैको दायित्व : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालयका रूपमा विकास गर्न सबै पक्षको सहभागिता आवश्यक रहेको बताएका छन्।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १६औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले स्थानीय सन्दर्भलाई ध्यानमा राखी अध्ययन–अध्यापन अघि बढाउनु पर्नेमा जोड दिए।

‘कृषि, पर्यटन तथा धार्मिक पर्यटनजस्ता क्षेत्रको विकास र प्रवर्द्धनमा आधारित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारी र उत्पादन वृद्धि गर्दै यहाँको सीप र क्षमता विश्व बजारसम्म पुर्‍याउनु आजको आवश्यकता हो।’

मुख्यमन्त्री शाहले विश्वविद्यालयको सुदृढीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयको स्थापना प्रदेशको महत्वपूर्ण शैक्षिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई थप सुदृढ बनाउने आवश्यकतामाथि बल दिए।

प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले विश्वविद्यालयलाई नमुना बनाउने अभियानमा आफू निरन्तर लागिरहेकाले संघीय सरकारमार्फत समस्या समाधान र सुधारका पहलहरू भइरहेको जानकारी दिए।

सो अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका ४३ जना प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।

स्थापनाको १६ वर्ष पार गरेको सुदूरपश्चिम विश्वविद्यालयले शिक्षाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि तथा क्षेत्रीय आवश्यकतामा आधारित शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना दिवसको कार्यक्रम विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, सरोकारवाला र स्थानीय समुदायको उपस्थिति रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *