‘फर्की फर्की’ निर्माताले दिनेश राउतप्रति तुष पोख्दा दीपकराजको कडा टिप्पणी

काठमाडौं । निर्माता रोहित अधिकारीले गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महाभोज’का निर्देशित दिनेश राउत लक्षित कडा टिप्पणी गरेका छन् ।

अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन्, ‘सबै कलाकारहरुको भिड जम्मा गर्दैमा निर्देशनमा सफल भइँदैन नि महाशय ! अरुलाई गरेको पापको नतिजा विस्तारै देखिँदैछ । अझै देखिन्छ ।’

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महाभोज’को अकुपेन्सी कमजोर देखिएपछि अधिकारीले राउत लक्षित तिखो टिप्पणी गरेका हुन् । अधिकारीको यस्तो खाले टिप्पणीको पछाडि भने ‘फर्की फर्की’ र ‘पुजार सार्की’को सन्दर्भ कारक छ ।

गत वर्ष जेठ १० मा अधिकारी निर्माता रहेको अनमोल केसी स्टारर ‘फर्की फर्की’ले प्रदर्शन मिति तय गरेको थियो । यही मितिमा राउत निर्देशित तथा प्रदीप खड्का स्टारर ‘पुजार सार्की’ पनि जुध्न आइपुग्यो । बक्स अफिसमा ‘फर्की फर्की’भन्दा ‘पुजार सार्की’ निकै अगाडि रह्यो ।

त्यसवेला राउतले ‘फर्की फर्की’को शूभमूहर्तमै आएर शुभकामना दिएको र पछि सोही मितिमा ‘पुजार सार्की’ भिडाउन ल्याएको अधिकारीको आरोप छ ।

यही पुरानो घाउलाई कोट्याउँदै अधिकारीले लेखेको स्टाटसमुनि अभिनेता दीपकराज गिरीले कमेन्ट गरेका छन्, ‘हामी सबै एक–अर्काको असफलतामा खुसी मनाउन थालेको धेरै भयो । अरुले नलेखी व्यवहारमा देखाउँथे । तिमीले लेख्यौ नै !’

गिरीले यसरी नै लडिरहने हो भने लडेरै नेपाली चलचित्र सिद्दिने उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘हामी चलचित्र बनाइरहेका छौं कि बम ?’

गिरीको कमेन्टमा रिप्लाइ गर्दै अधिकारीले लेखेका छन्, ‘आफ्नै चलचित्रका निर्माता, वितरकहरुसमेतले चलचित्र नजुधाउन अनुरोध गर्दा पनि जुधाउने अड्डी कस्छ भने त्यो कस्तो नियत हो ? हिन्दू धर्मअनुसार त्यो पाप र कालो नियत भएको राक्षसपना हो ।’

गिरी र अधिकरीले सुपरहिट चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए । अधिकारी र राउतले पनि २०७६ सालमै ‘मेरो एउटा साथी छ’ चलचित्रमा सहकार्य गर्ने घोषणा गरेका थिए । यद्यपि यो चलचित्र बनेन । ‘पुजार सार्की’ र ‘फर्की फर्की’को रिलिजताका आइपुग्दा भने कुनै समय चलचित्रमा सहकार्य गर्न तम्तयार यो जोडीको मित्रता दुश्मनीमा परिणत भइसकेको थियो ।

अहिले ‘महाभोज’ले कमजोर प्रदर्शन गर्दा त्यही तुष अधिकारीले राउतमाथि पोखेका हुन् । यस विषयमा राउतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतलगायत कलाकारको शीर्ष भूमिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *