दोहोरो मारमा पत्रकारिता- पाठकले धर्म बिर्सिए, केही थान ‘सम्पादक’ ले विवेक गुमाए

‘हिल्टन होटल सम्बद्ध न्यूज प्रकरण’ मा टेलिभिजन प्रस्तोता (पछिल्लो समय युट्युव च्यानल) दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि खोज पत्रकारिता केन्द्रको ‘सौजन्य’ मा नगरकोटमा भेला भएका ३५ ‘सम्पादक’ले हिजो (शनिबार) संयुक्त विज्ञप्ति निकालेर पाठकको बचाउ गरे।

यो घटनाले प्रेस स्वतन्त्रताको परिभाषा, नेपाली पत्रकारिताको व्यावसायिक अभ्यास र सम्पादकीय विवेकमाथि गम्भीर प्रश्न खडा गरेको छ । सतहीरूपमा हेर्दा यो राज्यले प्रेसमाथि हस्तक्षेप गर्न खोजेको जस्तो देखिए पनि गहिराइमा पुग्दा यो प्रकरण पत्रकारिताभित्रकै कमजोरी र गलत अभ्यासलाई संरक्षण गर्ने प्रवृत्तिको दुःखद उदाहरण हो ।

शीर्ष राजनीतिक नेतृत्व र तिनका सन्तानप्रति जनस्तरको वितृष्णा बढिरहेका बेला पाठकले समाचारको आवरणमा युट्युवमा ‘भ्यूजखेती’ गरेका थिए । ‘भ्यूजखेती’ले पत्रकारितालाई कुन हदसम्म पुर्‍याउँछ हामीले कल्पना गरेकै छैनौं ।

यसर्थ, दिलभूषण पाठकको ‘पत्रकारिता’ र उनको बचाउमा उत्रिएका केही स्वघोषित र केही सेवा निवृत्तसहितका मन र एजेण्डा मिल्ने ‘सम्पादक’ हरूको कदम, दुवै पत्रकारिताको मूल्य-मान्यताका दृष्टिकोणले गलत छन्।

त्यसैले, क्षणिक लाभहानी नहेरी पत्रकारिताको शुद्धीकरण र शुदृढीकरणको पक्षधर अघिल्लो र पत्रकारितालाई नै करिअर बनाउने प्रयत्नशील पछिल्लो पुस्ताका ‘व्यवसायिक पत्रकार’ले दुवै प्रवृत्तिलाई प्रोत्साहित गर्नुहुन्न । किनकि, पत्रकारितामा जनविश्वास रहेसम्म त हो व्यवसायिक हुने र पत्रकार हुँ भनेर गर्व गर्ने !

दिलभूषणको व्यावसायिक त्रुटि : आधारहीन आरोपको पत्रकारिता

पत्रकारिताको पहिलो र आधारभूत सिद्धान्त सत्यता, तथ्य-जाँच (fact-checking)र सन्तुलन हो । कुनै व्यक्तिमाथि गम्भीर आरोप लगाउँदा त्यसको प्रमाण जुटाउनु, आरोपबारे आरोपित पक्षको भनाइ समावेश गर्नु र समाचारलाई सकेसम्म वस्तुनिष्ठ बनाउनु पत्रकारको न्यूनतम दायित्व हो । पाठकले जयवीर देउवालाई हिल्टन होटल प्रकरणमा जोडेर तयार पारेको सामग्रीमा यी मान्यताहरूको ठाडै उपहास गरिएको छ ।

पाठकले जयवीर देउवाले हिल्टन होटलको सेयर खरिद गरेको पुष्टि गर्ने कुनै ठोस प्रमाण पेश गर्न सकेका छैनन् । अनुमानका आधारमा सामाजिक सञ्जालमा फैलाइएको अफवाहलाई टिपेर पाठकले जयवीरको चरित्र हत्या गर्नु पत्रकारिता थिएन, एक प्रकारको ‘मिडिया ट्रायल’ थियो ।

शीर्ष राजनीतिक नेतृत्व र तिनका सन्तानप्रति जनस्तरको वितृष्णा बढिरहेका बेला पाठकले समाचारको आवरणमा युट्युवमा ‘भ्यूजखेती’ गरेका थिए । ‘भ्यूजखेती’ले पत्रकारितालाई कुन हदसम्म पुर्‍याउँछ हामीले कल्पना गरेकै छैनौं ।

समाचारको विश्वसनीयताका लागि आरोपित पक्षको भनाइ अनिवार्य हुन्छ । यदि सम्पर्क हुन नसकेको हो भने ‘सम्पर्क गर्दा सम्पर्क हुन सकेन’ भनेर स्पष्ट खुलाउनुपर्छ । पाठकको सामग्रीमा देउवा पक्षको भनाइ समावेश नहुनुले यो एकपक्षीय र नियोजित रूपमा चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित थियो कि भन्ने शंकालाई धेरै हदसम्म बल दिएको छ ।

श्रमजीवि पत्रकारको पक्षमा आजसम्म कहिल्यै नबोलेका उनीहरू रवि लामिछानेविरुद्ध आन्दोलनमा एक ठाउँमा देखिन्छन् । पत्रकारले तलबको लागि अनसन बस्दा छेउछाउको बाटो हिँड्नसमेत आँट नगर्ने उनीहरू गोविन्द केसीको अनसनका पक्षमा वक्तव्य निकाल्छन् ।

पत्रकारिताको उद्देश्य सुसूचित गराउनु हो, सनसनी फैलाउनु होइन । एक प्रतिष्ठित राजनीतिक व्यक्तिको छोराको नाम जोड्दा समाचार बढी बिक्छ वा भाइरल हुन्छ भन्ने सोचले मात्र सामग्री बनाइएको हो भने यो सरासर गैर-जिम्मेवार र अनैतिक अभ्यास हो । बाबुआमाको घानमा छोराछोरीको चरित्रहत्या गरिनु पत्रकारिता हुँदै होइन बरु मिडियामार्फत गरिएको हिंसा हो ।

आफ्नो भिडिओ सामग्री विवादित हुन्छ र पछि बचाउका लागि काम लाग्छ भनेरै होला, कतिपय ठाउँमा पाठकले ‘भनिन्छ’ भन्ने शब्द प्रयोग गरेका छन् । ताकि, ‘मैले भनेको हुँ र, अरुले भनेका हुन् नि’ भन्न पाइयोस् ।

पाठकले विगतमा रास्वपा सभापति रवि लामेछानेमाथि हिल्टन प्रकरणभन्दा पनि तल गिरेर लाञ्छित गरेको भिडिओबाट भ्युज कमाएका थिए । त्यसबेला लामिछानेले उनीविरुद्ध कानूनी कारबाहीको बाटो लिएनन् । तर, यसपटक जयवीर देउवाले सहेर बस्ने भन्दा कानूनले कस्ने बाटो रोजे । अझै पनि जयवीरले हिल्टन किनेको प्रमाण पेश गर्न सकेमा अदालतबाट बाइज्जत सफाइ पाउने र पत्रकारितामा नयाँ मानक स्थापित गर्ने मौका त छँदैछ ।

अधिकांशले ‘न्यूज’ का रूपमा चर्चा र प्रतिरक्षा गरेको पाठकको त्यो भिडिओ सामग्री ‘न्यूज’ होइन ‘भ्यूज’ हो भनेर मैले दुई दिनअघि यही नेपाल प्रेसमा तथ्य र तर्कसहित लेखिसकेको छु । तपाईंहरूले यो लिंकमा पढ्न सक्नुहुन्छ ।

‘सम्पादक’ हरूको सामूहिक हठः गलत अभ्यासको संस्थागतीकरण

प्रेस स्वतन्त्रतामाथि राज्यबाट कुनै पनि प्रकारको हस्तक्षेप हुँदा सम्पादकहरू एकजुट हुनु स्वाभाविक र आवश्यक दुवै हो । तर, स्वतन्त्रताको रक्षा गर्ने नाममा पत्रकारिताभित्रको गलत अभ्यासलाई नै ढाकछोप गर्नु र संरक्षण दिनु घातक हुन्छ । पैंतीस सम्पादकको संयुक्त विज्ञप्ति यही दोस्रो घातक प्रवृत्तिबाट निर्देशित देखिन्छ ।

सम्पादकहरूले पाठकको व्यक्तिगत कर्मको बचाउ गर्ने नाममा पत्रकारिताको ‘गलत प्रवृत्ति’ लाई नै अनुमोदन गरिदिएका छन् । उनीहरूले पाठकको समाचार सामग्रीको व्यावसायिक धरातलमाथि प्रश्न उठाउँदै राज्यको हस्तक्षेपको आलोचना गर्न सक्थे । तर, पाठकको गलत कामलाई नजरअन्दाज गर्दै एकपक्षीय रूपमा उनको बचाउ गरे, जसले गर्दा उनीहरू व्यावसायिकताभन्दा पनि ‘आफ्नो मान्छे’ बचाउने गुटबन्दीमा लागेको देखियो ।

उनीहरू आफ्नो मान्छे जोगाउनमात्र यस्ता वक्तव्यबाजी, भोज भतेर र गुटका भेला गर्छन् भन्ने कुरा इतिहासमा पटकपटक पुष्टि भइसकेको छ । श्रमजीवि पत्रकारको पक्षमा आजसम्म कहिल्यै नबोलेका उनीहरू रवि लामिछानेविरुद्ध आन्दोलनमा एक ठाउँमा देखिन्छन् । पत्रकारले तलबको लागि अनसन बस्दा छेउछाउको बाटो हिँड्नसमेत आँट नगर्ने उनीहरू गोविन्द केसीको अनसनका पक्षमा वक्तव्य निकाल्छन् ।

दिलभूषणकै मामिलामा पनि हिल्टनकै विषयमा अर्का पत्रकार तथा अधिवक्ता सुजित केसी पक्राउ पर्दा स्वनामधन्य सम्पादकहरूले थाहा पाएनन् । उनीमाथि अदालतमा मुद्दा दर्ता हुँदा बोलेनन् । पाठकजस्तै युट्युव च्यानल चलाउने अझ दर्तै गरेर कानून बमोजिम गर्ने प्रकाशचन्द्र दाहालविरुद्ध यस्तै प्रकृतिको मुद्दा र धरपकड चल्दा पनि बोल्दैनन् ।

केही ‘सम्पादक’ हरूको यो कदमले नयाँ पुस्ताका पत्रकारहरूलाई के सन्देश दिन्छ ? ‘तथ्य नभए पनि चल्छ, सन्तुलन नभए पनि हुन्छ, कसैको चरित्र हत्या गर्दा पनि हुन्छ, अप्ठ्यारो पर्‍यो भने हामी छँदैछौ । यसले पत्रकारितामा आत्म-नियमन र जवाफदेहिताको प्रणालीलाई ध्वस्त बनाउँछ र अराजकतालाई बढावा दिन्छ ।

जब सम्पादकजस्ता पत्रकारिताका ‘पहरेदार’ हरू नै गलत अभ्यासको पक्षमा उभिन्छन्, तब आम नागरिकको सञ्चारमाध्यमप्रतिको विश्वास गुम्छ । पाठकको भिडिओ सामग्रीले एक व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठायो । तर, केही सम्पादकहरूको विज्ञप्तिले समग्र नेपाली पत्रकारिताको निष्ठा र विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।

‘पत्रकारहरूले प्रकाशन वा प्रसारण गरेका हरेक सामग्रीको जवाफदेहिता उनीहरूले व्यहोर्नु पर्छ भन्नेमा हामी स्पष्ट छौं’ भनेका सम्पादहरूले विज्ञप्तिमा, ‘कानूनी प्रकृया सुरू भइसकेको प्रकरणमा दिलभूषणले पनि प्रक्रियाअन्तर्गत नै रहेर जवाफदेहिता निर्वाह गरुन्’ भन्न सकेको भए विधिको शासनको पनि सम्मान हुन्थ्यो, सम्पादकहरूको पनि मान रहन्थ्यो । तर, ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने गैरआवासीय नेपालीको नारा नक्कल गरी ‘एकपटकको सम्पादक सधैँको सम्पादक’ भन्नेहरूले पाठकलाई बोक्दा विधिलाई बिर्सिए ।

सम्पादहरूले विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ को कसुर लाग्ने दिलभूषण पहिलो पत्रकार झैं गरेर विज्ञप्तिबाजी गरे । तर, यो ऐनको यही दफा यसअघि पनि धेरै पत्रकारलाई सामाचार सामग्रीकै आधारमा लगाइएको छ । र, भविष्यमा पनि लगाइन्छ नै ।

पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेजको माग गर्ने ‘सम्पादक’ हरूलाई गलत कानूनको प्रयोग (उनीहरूकै दाबीअनुसार) विरुद्ध न्यायिक लडाइँ सुरू गर्न चाहिँ कसैले रोकेको छ र ? सम्पादक तहका नै परे सामूहिक सौदाबाजीका लागि तयार हुने उनीहरू भुइँपत्रकारको हकमा चाहिँ किन बोल्दैनन् ।

दिलभूषण प्रकरणः पत्रकारिताको आत्मसमीक्षा अवसर

‘हिल्टन होटल सम्बद्ध न्यूज प्रकरण’ मा दिलभूषण पाठकले गरेको गल्ती एक पत्रकारको व्यावसायिक विचलन थियो, तर पैँतीस ‘सम्पादक’ ले गरेको गल्ती समग्र पत्रकारिता जगतलाई नै गलत दिशामा धकेल्ने सामूहिक हठ हो । पाठकले पत्रकारिताको धर्म बिर्सिए भने ‘सम्पादक’ हरूले विवेक गुमाए ।

प्रेस स्वतन्त्रता भनेको जे पनि लेख्ने वा कसैको पनि चरित्र हत्या गर्ने ‘लाइसेन्स’ होइन । यो त जिम्मेवारी, जवाफदेहिता र नैतिकताको जगमा उभिएको हुन्छ । पाठकको गल्ती दण्डनीय छ वा छैन भन्ने कुरा कानूनी प्रक्रियाले टुंगो लगाउँछ नै । प्रक्रिया सुरू नै भइसकेकाले उनले सम्पादकहरू मार्फत ‘व्ल्याकमेलिङ’ बढाउने होइन, कानूनलाई सघाएरै आफ्नो प्रतिरक्षा गर्ने हो ।

एक प्रतिष्ठित राजनीतिक व्यक्तिको छोराको नाम जोड्दा समाचार बढी बिक्छ वा भाइरल हुन्छ भन्ने सोचले मात्र सामग्री बनाइएको हो भने यो सरासर गैर-जिम्मेवार र अनैतिक अभ्यास हो । बाबुआमाको घानमा छोराछोरीको चरित्रहत्या गरिनु पत्रकारिता हुँदै होइन बरु मिडियामार्फत गरिएको हिंसा हो ।

पाठकको काम पत्रकारिताको कसीमा गलत थियो भन्नेमा कुनै शंका छैन । र, त्यो गलत कामको बचाउमा उभिएर सम्पादकहरूले पत्रकारितामा गलत अभ्यासलाई संस्थागत गर्ने जुन प्रयास गरे, त्यो पाठकको गल्तीभन्दा पनि ठूलो र अक्षम्य छ । व्यक्तिबाट गल्ती हुन सक्छ र भएको गल्ती विधिअन्तर्गत नै रहेर सच्याउनु पर्छ भन्ने जान्दा जान्दै ‘सम्पादक’हरूले वक्तब्यबाजीमै उत्रिएर विधिमाथि गरेको प्रहार पत्रकारिता इतिहासकै लज्जित उदाहरण हो ।

कुनै पत्रकारले प्रेस कानून अन्तर्गत बस्दिनँ, सूचना विभाग र नेपाल प्रेस काउन्सिलमा मिडिया दर्ता नगरी मेरो व्यक्तित्वका आधारमा कन्टेन्ट सेल गर्छु भनेर काम गरेको छ भने उसको लागि प्रेस कानून आकर्षित हुँदैन । आफूलाई पायक पर्दा प्रेस काउन्सिल नचाहिने, आपत परेपछि साइबर कानून होइन प्रेस कानून बमोजिम कारबाही होस् भन्नु सर्प देख्दा दुला बाहिर हात भनेजस्तै हो ।

यो प्रकरण नेपाली पत्रकारिताका लागि आत्मसमीक्षा गर्ने एउटा महत्वपूर्ण घडी हो, जहाँ व्यक्तिभन्दा विधि र गुटभन्दा विवेकलाई प्राथमिकता दिनु अनिवार्य छ ।

Comments

3 responses to “दोहोरो मारमा पत्रकारिता- पाठकले धर्म बिर्सिए, केही थान ‘सम्पादक’ ले विवेक गुमाए”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Nepal ma patrakar vaneko 99.9% dalal broker nai ho. Party leader lai gali garnu bekar ho.
    Pathak lai tetikai purji issue vako xa ra vanya?

  2. RK Avatar
    RK

    होइन होला ! पहिले १२ भाइ को रजगज थियो अहिले ३५ भाइ भाग्छन बिधाइ । खोज पत्रकारिता ले राम्रो संग ३५ भाइलाई दानापानी चटाएछ । डलर कमाएकै थिए । 318 बोदल पानी खाएसी भैगो त ।होइन ! यी मूला झोले मिडियाले पाठकको डलर कति खाएछन् ? त्यही स्कूलमा रोइकराई निशुल्क पद्थी हो ला हिजो सम्म ! पाठकले अनुरोध गरेर उलेन्समा पढेकै होला ! के के न लछारे जस्तो मिडिया ट्य लि किन गर्नु पऱ्यो ? दुधले नुहाएको त होइन डलर बादी पाठक पनि ! कत्ति न उछितो काढेको भन्लान ! भुत्रो पनि उछितो काढिदैन । तातो न छारो ! अर्को कुरा यो पाठककी छोरी राजकुमारी त होइन नि ! कि राजाकुमारी हो ? त्यो केटीले हात मिलाइ दिएकी भए कसको इज्जत रहन्थ्यो ? मोदीको की ट्रम्पको ? गोवरहरु !

  3. manaia thompson Avatar
    manaia thompson

    This article writer is obviously jhole of Nepali political party and his name is fake as it should be

Leave a Reply

Your email address will not be published. Required fields are marked *