रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिका- ३ शिख्रे गाउँमा बिहे गरेको तीन महिनामै एक महिलाले श्रीमानको हत्या गरेकी छन् । छिमेकीहरुका अनुसार उनीहरूको बिहे ३ महिनाअघि (चैतमा) भएको थियाे ।
२७ वर्षीया मेखमाया कुमालले मध्यराति धारिलो हतियारले टाउकोमा हानेर ३८ वर्षीय पति रामुको हत्या गरेकी हुन् । घटनास्थलमा पुगेकी स्थानीय सुमित्रा पन्त भुसालका अनुसार शनिबार साँझ परिवारसँगै खाना खाएपछि मेखमाया आफैँ पसलमा गएर ३ बोतल रक्सी लिएर आएकी थिइन् । सँगै बसेर खाएपछि झगडा भएकाे र सहन नसकेर मारेको उनले प्रहरीलाई भनेको बताएकी छन् ।
महिलाले स्थानीय र प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकारेकी छन् ।
प्रहरी चौकी बलकोटका वरिष्ठ सई शेषनारायण भारतीले भने, ‘श्रीमानले आफूले भनेको नमानेकाले सुतिरहेको बेला टाउकामा पछाडिबाट दाउले हानेर हत्या गरेको बताएकी छन् । श्रीमती आफैँले ३ बोतल रक्सी किनेर ल्याएकी रहिछन्, बेलुका दुवैले सँगै रक्सी खाएका थिए,’ भारतीले भने ।
प्रहरीका अनुसार साढे १२ बजे हत्यापश्चात पनि मेखमाया सँगै सुतेकी थिइन् । घरमा रामुका आमा, भाउजू, अघिल्लो श्रीमतीतर्फका छोरा सबै थिए ।
राति सुतेपछि झगडाको आवाज सुनिए पनि सामान्य विवाद सम्झेर कोही नगएको र बिहानै ती महिला आफैँले परिवारसमक्ष श्रीमानलाई मारेको बताएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
‘महिलाले प्रहरीसमक्ष पनि आफैँले हत्या गरेको स्वीकारेको र यसको मुख्य कारण अत्यधिक मदिरा सेवन नै भएको खुलेको छ,’ भारतीले भने ।
छिमेकी दुर्गाप्रसाद पन्थीका अनुसार रामुको चौथो र मेखमायाको तेस्रो बिहे थियो ।
‘रामुको घरमा यसअघिको श्रीमतीतर्फका छोरा छन् । मेखमायाको छोराछोरी भएपनि चैतमा बिहे भएर ल्याएकी थिइनन् । दुवैले यसअघिका श्रीमती र श्रीमान् छाडेर बसेका छन्,’ पन्थीले भने ।

Leave a Reply