बाइकराइडर शीतलको अनुभवः बाइक हुइक्याउँन ‘हाइट’ होइन, ‘स्किल’ चाहिन्छ (भिडिओ)

एक दिन झिसमिसेमै शीतल गिरी नेपालगन्जसम्मको यात्राको तयारीमा लागिन् ।

चेस्टगार्ड लगाइन् । हेलमेट लगाइन्, भाइजर लगाइन् । जुत्ता लगाइन् । रोयल इनफिल्ड हिमालयन बाइक स्टार्ट गरिन् । कन्डिक्सन चेक गरिन् । बाइकमा चढिन् । आमालाई पछाडि राखिन् । बाइकको एक्सिलेटर दबाइन् ।

बाइकले धुवाँ छाड्दै काठमाडौं छाड्न सुरू गर्‍यो ।

यसबेलासम्म भुइँमा उज्यालो खसिसकेको थियो । पूर्वबाट घाम उदाइसकेको थियो । शीतल र उसकी आमा घामसँगै पश्चिमतिर लागे । घाम धीमा गतिमा पश्चिमतिर जाँदै थियो । शीतल र आमा द्रूत गतिमा नेपालगन्जतिर हुइँकिँदै थिए ।

बाइक-यात्रा सुरू हुनु अगाडि नै शीतलले आमालाई भनेकी थिइन्, ‘१२० किमी प्रतिघण्टाको गतिभन्दा बढी भयो भने मलाई चिमोट्नुस् है । भाइजर लगाएपछि गति थाहा हुँदैन ।’

भाइजरले छेकेपछि कति गतिमा कुदिरहेको छ, थाहा हुँदैन । गति थाहा पाउन मिटरमा हेर्नुपर्छ । सयभन्दा माथिको गतिमा बाइक ह्याण्डल गर्नु कि मिटर हेर्नु !

महेन्द्र राजमार्गमा पुगेपछि शीतलको बाइकले आफ्नो असलियत मन्चन गर्न सुरू गर्‍यो । राजमार्गको खुल्ला रोडमा क्रसफायरका चक्काहरू गुड्न होइन, उड्न थाले । मानौं ती बाइकका चक्का होइनन्, पखेटा हुन् । वेग हानेर परेवा उडे जसरी विशाल रोडमा उडिरहेको छ ।

बाइक राइडिङको लत परेकी शीतलले भेउ नै पाइनन्, बाइकको गतिको अवस्था के छ ! आमाले दुई तीन ठाउँमा चिमोटेपछि पो थाहा पाइन्, सय नाघेर पनि बाइकले १२० को गति तय गरिसकेछ ।

आमा पनि छोरीभन्दा के कम ! अधबैँसे उमेरमा बाइकको गतिसँग न भयभीत भइन् न त त्रसित ! छोरीको राइडिङप्रति विश्वास्त भएर रमाउँदै सयर गरिन् ।

बीचमा बर्दिया नेशनल पार्क आउँछ । जहाँ जंगली जनावरहरूलाई हानी नहोस् भनेर गति सीमित गर्नुपर्ने हुन्छ । बाइकको गति सीमित भएपछि आमाले भनिन्, ‘बिस्तारै कुदाउँदा अल्छी लाग्यो, छिटो कुदाऊ । बरु उता पुगेर बिसाउँदै समय कटाऔंला ।’

आमाले बाइकको गतिमाथि झिँजो माने पनि शीतलले गति बढाइनन् । नियम उल्लंघन गरिनन् । राजमार्गका कतिपय स्थानमा भने मस्तले बाइक हुइँकाइन् ।

बाइक राइडिङबाटै लाखौं प्रशंसक कमाइन्

शीतल र बाइक राइडिङबीचको परस्पर सम्बन्धको कथा भने दशक पुरानो हो । जतिबेला उनी स्कुल पढिरहेकी छात्रा थिइन् । अनुशासित पनि थिइन् । यद्यपि टमब्वाइ स्वाभावकी थिइन् (उनकै शब्दमा)।

‘केटी मान्छेले जे जे गर्नुहुन्न भनिन्थ्यो, मलाई त्यही त्यही गर्न मन लाग्थ्यो,’ आमालाई काठमाडौंबाट बाइकमै झापा पुर्‍याएर फिरेकी शीतल खुल्छिन्, ‘म केटाहरूसितै फुटबल खेल्थेँ । बाइकमा सानैदेखि चाख थियो । दादाले पनि फुटबल खेल्, जिम जा भन्नुहुन्थ्यो ।’

उनी थप्छिन्, ‘सायद यस्तो हुनलाई होला, सानोमा मलाई बाइकको साउण्डले नै उत्साहित बनाउँथ्यो । बाटोमा भीआर बाइकहरूको साउन्डहरू आँखा चिम्म गरेर सुन्थेँ, साथीहरूले नाटक गरेको भन्थे ।’

‘नाटक’ भन्ठान्ने साथीहरूलाई थाहै थिएन, शीतलको जीवनको कोर्स बाइकसितै मोडिफाइड हुनेछ । बाइक चलाएरै देशका कुनाकुना पुग्नेछिन् । अनेक खाले मानिसहरूसँग संगत गर्नेछिन् । प्रकृतिको विविधतासँग मनमगन हुनेछिन् ।

धेरै साथीहरूलाई थाहै थिएन, आँखा चिम्म गरेर साउण्ड सुन्ने शीतलले बाइक राइडिङमै करियर बनाउनेछिन् । पैसा कमाउनेछिन् । पैसासँगै नाम पनि कमाउनेछिन् ।

उनको टिकटकमा एक लाख ६२ हजारमाथि फलोअर्स छन् । फेसबुकमा ८८ हजारमाथि, इन्सटाग्राममा १९ हजारमाथि फलोअर्स छन् । युट्युबमा ११ हजारमाथि फलोअर्स छन् । सबै सोसल ह्याण्डलका भिडिओहरूले मिलियनमा भ्युज पाएका छन् ।

भर्खरै २३ वर्षमा हिँडिरहेकी शीतलले कमाएको भनेकै ती हजारौं फलोअर्स र लाखौं भ्युज हुन् ।

‘मिट द वुमन’ कार्यक्रम अन्तर्गत विदेशी महिलाहरूको राइडिङ गुरु

छ वर्षदेखि पूर्णरूपमा बाइक राइडिङमा सक्रिय शीतल नपुगेको ठाउँ छैन । नघुमेको ठाउँ छैन । कालिन्चोक, बन्दीपुर, मार्खु, चितवन मेघौली, जिरी, पोखरा, घान्द्रुक, रोल्पा, रारा, से-फोक्सुण्डो, मनाङ, मुस्ताङ… ! कहाँ कहाँ पुगेकी छैनन् र !

अधिकांश ठाउँमा उनी दर्जनौंपटक पुगिसकेकी छन् ।

‘मिट द वुमन’ कार्यक्रम अन्तर्गत विदेशी लेडी राइडरहरूलाई सिंगो देश घुमाएकी छन् । घुमाइरहेकी छन् । एक संस्थामार्फत् बाइक राइडिङमा चाख भएकाहरू शीतलहरूको समीपमा आउँछन् ।

उनीहरूलाई शीतलले कुलेखानी, दमौली, मोघौली हुँदा पोखरा, बेगनाश, घान्द्रुक, धम्पुस, मुस्ताङ १२ दिनको राइडिङ गराउँछिन् । उनीहरू नेपालको अफरोड राइड महसुस गर्न आउँछन् । सँगै विभिन्न ठाउँमा स्थानीय महिलाहरूलाई भेट्न पनि आउँछन् ।

‘मेघौलीमा थारु नाच खुब इन्जोय गर्नुहुन्छ । हामीले त्यहाँ हरेक वर्ष स्टेशनरी र स्यानिटरी प्याड पनि वितरण गरिरहेका हुन्छौं । विदेशी राइडरको आगमनले त्यहाँको लोकल इकोनोमीमा पनि सहयोग गरिरहेको हुन्छ । अप्रत्यक्ष रोजगारी सृजना भइरहेको हुन्छ,’ शीतल सुनाउँछिन्, ‘धम्पुसमा आमा समूहहरूसँग मादल बजाएर नाच्छन्, गाउँछन् । मुस्ताङमा पनि रमाइरहेका हुन्छन् । नेपालको भूगोल खुब इन्जोय गर्छन् । एकैछिनमा तराई, लगत्तै पहाड, अनि आँखैखघि हिमाल फेरि तातोपाली कुण्ड । उहाँहरू खुब रमाउनुहुन्छ ।’

खर्च गर्ने मामलामा भने क्यानडियनहरू अगाडि रहेको शीतलको अनुभव छ । फ्रान्सेलीहरू अलि कन्जुस गर्ने उनको अनुभव छ ।

सबै गेस्टहरू बाइकमै जान्छन् । भ्रष्टाचार र बेथितिका कारण सडक राम्रोसँग बनेको हुँदैन । त्यही सडक विदेशीहरूले इन्जोय गर्छन् ।

कतिपय चाहिँ कमजोर राइडरहरू हुन्छन् । उनीहरू अफरोडमा गइहाल्ने आँट गर्दैनन् । त्यही राइडरलाई शीतलहरू ‘बेबी राइडर’ ।

‘हामीले गर्ने १२ दिनको यात्रामा आत्मीयता बढिसकेको हुन्छ । उहाँहरू नेपाल आएर फिरेको दुई तीन वर्षपछि पनि म्यासेज गरिरहनुहुन्छ । मिस यु भन्नुहुन्छ,’ सात जनासम्मको टोलीलाई ह्याण्डिल गरेर राइडिङमा निस्किएकी शीतल सुनाउँछिन्, ‘अस्ति एक वर्षपछि नेपाल आउनुभएको गेस्टले मलाई भेट्नुभयो । अर्कै कामले आउनुभएको उहाँले मलाई भेट्न जरुरी थिएन । तर, त्यो तहको आत्मीयता बनिसकेको हुन्छ ।’

बाइक चलाउन हाइट होइन, स्किल चाहिन्छ

बाइक राइडिङ छँदैछ, साथमा नयाँ बाइकहरूको टेस्ट राइड पनि गर्छिन् शीतल । बजारमा नयाँ बाइक आउँदा शोरुमहरूले टेस्ट राइड गरेर भिडिओ बनाउन लगाउँछन् । सँगै महिलाहरूलाई बाइक सिकाउने इन्स्ट्रक्टर पनि हुन् ।

औसतमा महिनाको ५० हजारभन्दा माथि उनको कमाइमात्रै हुन्छ ।

कमाइसँगै प्रशंसकको माया समेत पाइरहेकी छन् । केही समयअघि ‘डिमोटिभेट भएँ, राइडिङ छाड्छु होला’ भनेर भिडिओ हालेकी थिइन् । तल कमेन्टहरू थिए, ‘तपाईं त हाम्रो इन्स्पिरेसन हो, हजुरले यसो भन्न हुँदैन दिदी ।’

शीतल सुनाउँछिन्, ‘मेरो दर्शक भर्खरै स्कुल, कलेज पढिरहेका बहिनीहरू हुन् । मैले बाइक यसरी चलाउने भनेर आइडियाहरू पनि दिइरहेको हुन्छु । उहाँहरूको प्रतिक्रियाले छुट्टै ऊर्जा दिन्छ ।’

छ वर्ष लामो बाइक राइडिङ करियरमा शीतल गम्भीर दुर्घटनामा परेकी छैनन् । बरु बाइकलाई जोगाएर चलाएकी छन् । बाइकलाई औधी माया गर्छिन् ।

हाइट धेरै छैन उनको, तर अग्लाअग्ला बाइकलाई पनि काबुमा राख्छिन् । हाइटले होइन, स्किलले अर्थ राख्ने उनको अनुभव छ । पहिले पहिले अन्धाधुन्द राइड गरे पनि अहिले सेफ्टी गार्ड लगाएर मात्रै राइड गर्छिन् । चेस्ट गार्डले त बाइक लड्दा ज्यान कोतरिनबाट बचाएको पनि छ ।

‘मैले एक सय ४० को गतिसम्ममा बाइक राइड गरेकी छु । बाइक राइड गर्दा चाहिने सबैभन्दा ठूलो कुरा नै आत्मविश्वास र सन्तुलन हो । म बाइक राइड गर्दै भ्लगहरू बनाइरहेको हुन्छु, भ्लगमा बोलिरहेकी हुन्छु,’ शीतल सुनाउँछिन्, ‘म त मेरो पुरानो भिडिओहरू हेरेर आफ्नै मख्ख पर्छु । जबजब डिमोटिभेट हुन्छु वा तनाव हुन्छ, केही गर्न नसकेको जस्तो फिल हुन्छ, त्यसबेला मेरो पुरानो भ्लगहरू हेर्छु । अनि लाग्छ, म त यस्तो ठाउँमा पो पुगेर आएको हो त !’

आफूले यसरी बाइक राइड गर्दै हिँड्नुको एकै कराण भएको बताउँछिन् शीतल,- प्यासन । उनी उत्साहित हुँदै भन्छिन्, ‘गाडीमा हिँड्नु भनेको तपाईंले गेम खेल्नु हो अरे । बाइकमा हिँड्नु भनेको त्यो गेमभित्र छिर्नु हो अरे ।’

कतै यात्रामा निस्कनुपर्यो भने शीतलको एकै अप्सन हो,- बाइक । प्लेनको यात्रा पनि उनलाई मन पर्दैन । एकपटक गाडीमा मनाङ गएकी थिइन् । उनलाई गाडीको यात्रा यति बोर लाग्यो कि समय र पैसाको सत्यनास जस्तो लाग्यो ।

‘त्यसपछि मैले गाडीमा हिँड्नै छाडिदिएँ,’ शीतल सुनाउँछिन् ।

पहिलोपटक बाइकमा परिवारबिना साथीहरूसँग बन्दीपुर पुगेपछि आफ्नो पखेटा पलाएको बताउने शीतल थप्छिन्, ‘धेरैले मलाई विदेश जाऊ, नेपालमा केही हुन्न भन्नुहुन्छु । म उहाँहरूलाई भन्न चाहन्छु, मलाई यहीँ पुगिसरी छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *